सन्दीपको मुद्दामा किशोरीको उमेर विवादलाई प्राथिमकता दिँदै अदालतले जन्म दर्ता अभिलेख मगायो

सन्दीपको मुद्दामा किशोरीको उमेर विवादलाई प्राथिमकता दिँदै अदालतले जन्म दर्ता अभिलेख मगायो
अर्काइभ फोटो

काठमाडौँ : होटलको एकै कोठामा बसेको तर बलात्कार नगरेको दाबी गरे पनि काठमाडौं जिल्ला अदालतले क्रिकेटर सन्दीप लामिछानेलाई धरौटी वा तारेखमा छाड्न स्वीकार गरेन। बिहीबार थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद घिमिरेले निर्दोष भनी मान्न नसकिएको र पछि फैसला अनुसार हुने भन्दै उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिए।

उनको आदेश अनुसार लामिछाने केन्द्रीय कारागारभित्र पुगिसकेका छन्। अब उनले मुद्दाका बाँकी प्रक्रियाहरू त्यही बसेर अगाडि बढाउनुपर्नेछ। उच्च या सर्वोच्च अदालतले जिल्लाको आदेश नउल्ट्याए मुद्दाको अन्तिम किनारा नलागेसम्म लामिछानेको दैनिकी केन्द्रीय कारागारमै बित्नेछ।

तर अदालतले सन्दीपलाई पुर्पक्षका लागि कारागारमा पठाउने आदेशसँगै पीडित किशोरीको उमेरबारे उठेको विवादलाई पनि उतिकै महत्त्व दिएर हेरेको छ। बिहीबार आएको आदेशमा किशोरीको जन्म मितिबारे समेत आदेश दिएको छ।

सरकारी वकिलको तर्फबाट पीडित किशोरीको नागरिकताको आधारमा उनी १८ वर्षभन्दा कम उमेरको रहेकाले नाबालिग रहेको दाबी गरिएको छ। नागरिकतामा भएको जन्म मिति अनुसार उनी नाबालिगै हुन्।

तर सन्दीपको पक्षबाट बहसमा सहभागी वकिलहरूले जन्म दर्ता र विद्यालयमा लेखाएको जन्म मिति अनुसार पीडित नाबालिग नभई बालिग भएको तर्क गर्दै आएका छन्। उनीहरूले किशोरीको जन्म मिति  २०६१ असार १८ भएको दाबी गरेका थिए। 

सन्दीपविरुद्धको थुनछेक बहस बलात्कारमा भन्दा किशोरीको उमेरमा केन्द्रित, जन्म दर्ता र नागरिकतामा फरक जन्म मिति रहेको दाबी

अदालतले यसलाई समेत प्राथमिकता दिँदै पीडित किशोरीको जन्म दर्ताको अभिलेख किताबसहितको सक्कलप्रति मगाउन समेत आदेश दिएका छन्। सँगै आदेशमा पीडित किशोरीले नागरिकता प्रमाणपत्र बनाउँदा भरेको अनुसूची फारमसहितको प्रतिलिपि समेत झिकाउन आदेश दिएका छन्।

बिहीबार आएको आदेशसँगै अदालतले यो मुद्दाको निरन्तर सुनुवाइ समेत गर्ने भएको छ। सुनुवाइलाई स्थगित नगराई अदालतको इजलासले जाहेरवाला, पीडित, बुझिएका मानिसहरू र पीडितको स्वास्थ्य परीक्षण गर्ने चिकित्सकलाई मङ्सिर ७ गते बकपत्रका लागि अदालतमा उपस्थित गराउन समेत भनिएको छ।

सन्दीपमाथि एक किशोरीलाई भेट्न बोलाएर नगरकोट लगी मध्यरात काठमाडौँ एयरपोर्ट नजिक रहेको होटेलमा लगेर बलात्कार गरेको अभियोग छ। प्रारम्भिक बयानमा सन्दीपले किशोरीसँग भेटेको, नगरकोट गएको र काठमाडौँ फर्किएर एकै होटलको एकै कोठामा बसे पनि बलात्कार नगरेको दाबी गरेका छन्।

उनले कुरा गर्दागर्दै आफू कुर्सीमा निदाएको र किशोरी खाटमा सुतेको दाबी गरेका छन्। तर किशोरीले भने सन्दीपले आफूलाई २ पटक बलात्कार गरेको प्रारम्भिक बयानमा दाबी गरेकी छिन्।

१८ कात्तिक, २०७९, २१:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।