सन्दीपविरुद्धको थुनछेक बहस बलात्कारमा भन्दा किशोरीको उमेरमा केन्द्रित, जन्म दर्ता र नागरिकतामा फरक जन्म मिति रहेको दाबी

सन्दीपविरुद्धको थुनछेक बहस बलात्कारमा भन्दा किशोरीको उमेरमा केन्द्रित, जन्म दर्ता र नागरिकतामा फरक जन्म मिति रहेको दाबी

काठमाडौँ : क्रिकेटर सन्दीप लामिछानेले बलात्कार गरेका हुन् या हैनन् भन्दा पनि थुनछेक बहस पीडित भनिएकी किशोरी नाबालिग हुन् या बालिग हुन् भन्नेमा केन्द्रित भएको छ। बुधवारबाट सुरु भएको थुनछेक बहसमा सरकारी वकिल र किशोरीकातर्फका वकिलहरूले उनी नाबालिग भएको र प्रमाणले बलात्कार भएको देखाएको दाबी गरेका थिए।

उता सन्दीपको तर्फबाट बहसमा सहभागी वकिलहरूले बलात्कार गरेको प्रमाण नै नभएको दाबी गर्दै पीडितको उमेरमा बढी केन्द्रित भए।

सोमबार दर्ता भएको अभियोग पत्रमा किशोरीको नागरिकताको जन्म मितिलाई आधार मान्दै बलात्कार भएको दिन उनको उमेर १७ वर्ष २ महिना १८ दिन पुगेको दाबी गरिएको छ।

सन्दीपको तर्फबाट बहसमा सहभागी वकिलहरूले विद्यालयमा उल्लेख उनको जन्म मिति र जन्म दर्ताको प्रमाण भन्दै पेस गरेको कागजपत्रमा भने घटनाको दिन उनी १८ वर्ष पुरा भइसकेको देखिन्छ। ती दुवै कागजपत्र अनुसार किशोरीको जन्म मिति २०६१ असार १८ हो।

सन्दीपको पक्षबाट बहस गर्ने कानून व्यवसायी मुरारी सापकोटाले उकेरासँग किशोरी २०६१ साल असार १८ गते जन्मिएको भनी दर्ता भएको जन्मदर्ता फेला परेको दाबी गरे।

उनीहरूले जन्म दर्ता समेत पेस गरेका छन्। यदि सो जन्म दर्ता सक्कली हो भने अब जन्म दर्तालाई आधिकारिक मान्ने कि नागरिकतालाई भन्ने नयाँ कानुनी विवाद उठ्ने देखिन्छ।

१८ वर्षभन्दा कम उमेरका नाबालिगको सहमतिमै यौन सम्पर्क राखे पनि त्यसलाई नेपालको कानुनले बलात्कार मानेको छ। १८ वर्ष उमेर पार गरेकाको हकमा सहमति हो या जवर्जस्ती भन्ने तथ्यका आधारमा बलात्कार हो या हैन भन्ने निर्क्योल गर्ने गरिन्छ।

अभियोग पत्रमा समावेश बयानमा सन्दीपले समेत किशोरीको उमेरबारे उल्लेख गरेका छन्। उनले किशोरीले कुरा गर्नेक्रममा आफू १८ वर्ष कटिसके पनि पछि सजिलो हुन्छ भनेर नागरिकता बनाउँदा उमेर घटाएको बताएको दाबी गरेका थिए।

अभियोग पत्रमा समेटिएको किशोरीको बयानमा उमेरबारे उल्लेख छैन। त्यहाँ उनले सन्दीपले मोबाइल कब्जामा लिएको, आफ्नो असहमतिमा होटेलमा पुर्याएर २ पटक बलात्कार गरेको उल्लेख गरेकी छिन्।

बलात्कार भएको भनिएको रात उनीहरू एकै होटलको एकै कोठामा बसेको पर्याप्त प्रमाण अनुसन्धानमा सङ्कलन भएको छ। अदालतमा उनीहरू होटेलमा गएको र उनीहरू बसेको कोठामा प्रवेश गरेको र निस्केकोसम्मको फुटेज छन्।

त्यसले सो रात क्रिकेटर सन्दीप र किशोरी एकै होटेलमा मात्र हैन कि एकै कोठामा बेलुका सवा ११ देखि बिहान ६ बजेसम्म बसेको पुष्टि हुन्छ। यसलाई सन्दीपले पनि अस्वीकार गरेका छैनन्।

उनको बयानमा कोठामा बसेको स्वीकार गरेका छन्। आफू कुर्सीमा बसेको र किशोरी खाटमा बसेर कुरा गरेको, आफू कुरा गर्दागर्दै निदाएको र बलात्कार नगरेको उनको दाबी छ।

तर किशोरीले भने आफू निदाएको बेलामा पाइन्ट खोलेर जवर्जस्ती बलात्कार गरेको र त्यसको एक घण्टापछि पछि पुन बलात्कार गरेको दाबी गरेकी छिन्।

किशोरीले जे दाबी गरेकी छिन् त्यसका पर्याप्त प्रमाण भएको हकमा किशोरीको उमेर १८ वर्षभन्दा बढी देखिए पनि बलात्कार पुष्टि हुने आधारहरू देखिन्छन्। तर उनी सहजै रूपमा होटेलमा गएको र सहजै रूपमा होटेलबाट निस्किएकाले त्यसलाई सन्दीपको पक्षमा बहस गर्ने वकिलहरूले बलात्कार नभई सहमतिमा सम्बन्ध भएर पछि फसाउन बलात्कारको दाबी गरेको दाबी गर्न सक्ने ठाउँ भने निस्कन्छ।

तर बुधवार सन्दीपको पक्षमा बहस गरेका मुरारीप्रसाद सापकोटा र रोशनी पौडेलले अभियोग पुष्टि हुने आधार नभएको भन्दै सन्दीप निर्दोष रहेको दाबी गरेका थिए।

सरकारी वकिलका तर्फबाट बहस गरेका चार जनाले प्रमाणले सन्दीपले बलात्कार गरेको पुष्टि हुने भन्दै पुर्पक्षका लागि थुनामा पठाउन दाबी गरेका थिए। किशोरीको तर्फबाट थप चार जना निजी वकिलहरूले समेत बहस गरेका थिए।

बुधवार बहस सकिएको छैन। बिहीबार सन्दीपको पक्षबाट थप वकिलहरूले बहस गर्नेछन्। सन्दीपको पक्षका वकिलहरूको बहस सकिएपछि किशोरीका पक्षका वकिलहरूले बहसमा सन्दीपका वकिलहरूले गरेको तर्कको खण्डन र थप प्रमाण पेस गरेपछि जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासबाट सन्दीपलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटी या तारेखमा छाड्ने भन्ने आदेश आउने छ।

 

१६ कात्तिक, २०७९, २१:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।