प्रहरीले लखेटी-लखेटी नेपाल ल्याएको सन्दीप पक्राउ कि आत्मसमर्पण !

प्रहरीले लखेटी-लखेटी नेपाल ल्याएको सन्दीप पक्राउ कि आत्मसमर्पण !

काठमाडौं : टिकाको भोलिपल्ट नेपाल आउँछु भनेका क्रिकेटर सन्दीप लामिछाने बिहीबार कतार एयरलाइन्सबाट विमानस्थलमा उत्रिए साढे ११ बजे।

उनी विमानबाट ओर्लिए लगत्तै सादा पोसाकका प्रहरी सहितको अध्यागमन विभागका कर्मचारीले नियन्त्रणमा लिए।

अध्यागमन डेस्कमा सन्दीपलाई लिन बसेको प्रहरीलाई अध्यागमनका कर्मचारीले पत्रसहित बुझायो। पत्रमा नाबालिग बलात्कारको आरोपित सन्दीप विरुद्ध अदालतबाट जारी भएको पक्राउ आदेश र इन्टरपोलको डिफ्युजन नोटिसको आधारमा को आधारमा नियन्त्रणमा लिएर बुझाएको उल्लेख थियो।

प्रहरीले हतकडी लगाउँदै आफ्नो नियन्त्रणमा लियो। विमानस्थलको आगमन ढोकाबाहिर नेपाल प्रहरीको गौशाला वृत्त र नगर प्रहरी टोली तैनाथ थियो सन्दीप लिन।

विमानस्थल प्रहरीले गौशाला वृत्तको प्रहरीलाई सन्दीप बुझाए। विमानस्थल बाहिर आउँदा सन्दीपले कालो मास्क र कालै क्याप लगाएका थिए। हातको हतकडी लुकाउन रुमालले छोप्ने असफल प्रयास गरेका थिए। प्रहरीले उनलाई गौशाला वृत्तको हिरासतमा राख्यो।

उनी प्रहरी हिरासतमा पुगेपछि आत्मसमर्पण कि पक्राउ भन्ने बहस समेत सुरु भएको छ। एक थरीले आत्मसमर्पण भएको दाबी गरिरहेका छन् भने अर्को समूहले पक्राउको।

पल शाहकै गल्ती दोहोर्याए सन्दीपले
जमैकामा लिग खेल्न गएका बेलामा नेपालमा उनी विरुद्ध नाबालिग बलात्कारको जाहेरी पर्यो। त्यो बेलासम्म उनी फरार आरोपी भइसकेका थिएनन्। जाहेरीपछि उनी भागेको नभई पहिल्यै विदेशमा थिए।

जाहेरी परे पनि क्रिकेट एसोसिएसन नेपाल र सन्दीप मौन रहे। जमैकाको लिग आयोजकले पनि रेस्पोन्स गरेन। क्यान पदाधिकारी सन्दीपको पक्षमा उभियो।

प्रहरीले काठमाडौं जिल्ला अदालतबाट सन्दीपलाई पक्राउ गर्ने अनुमति मागेपछि क्यानले क्रिकेट राष्ट्रिय टोलीको कप्तानको पदबाट निलम्बन गर्यो।

सन्दीपले नेपाल फर्केर कानुनी लडाई लड्ने बताएर जमैकाबाट हिँडे तर नेपाल आएनन्। तर, फेसबुकमा सक्रिय रहे आफ्नो पक्षमा माहौल बनाउन र पक्राउ आदेशको एक महिनापछि पक्राउ परे बिहीबार।

नाबालिग बलात्कारको आरोपसहित कलाकार पल शाह विरुद्ध जाहेरी दर्तासँगै उनले जे-जे गल्ती गरे सन्दीपले त्यही दोहोर्याए। जाहेरी लगत्तै पल फरार भए र फेसबुकमा सक्रिय। उनले आफ्नो पक्षमा माहौल बनाउन अडियो सार्वजनिक गर्दै षडयन्त्र भएको दाबी गरे। पाँच दिन लुकेर आफैँ प्रहरी कार्यालय पुगे।

त्यो बेला पललाई लुकाउने विरुद्ध प्रहरी केन्द्रित भएर निर्देशक सुदर्शन थापालाई प्रहरी कार्यालयमा बोलाए लगत्तै पल प्रहरी कार्यालय जान बाध्य भएका थिए।

सन्दीपले पनि पलकै शैली पच्छ्याए। नेपाल आउँछु भने तर अमेरिका पुगे। उनी फरार भए पनि फेसबुकमा लेख्दै निर्दोष भएको, फसाउने षड्यन्त्र गरेको जस्ता दाबी गरिरहे।

बलात्कारको आरोप लागेपछि मानसिक विचलन भएकाले उपचारमा रहेको दाबी गरे। उनी प्रहरी अनि क्यान कसैको सम्पर्कमा बसेनन्। उनी नेपाल आएर अनुसन्धानमा सघाउने भन्दा पनि लम्ब्याउनतिर लागे।

पल र उनका समर्थकले पलका फ्यानलाई समर्थनमा उतारे जस्तै सन्दीप पक्षधरले सन्दीपका फ्यानलाई उनको पक्षमा सक्रिय बनाउने प्रयास गरे। पलको बेलामा पीडित विरुद्ध उभिएका सन्तोष पन्त लगायतका केही यसमा पनि पीडितकै विरोधमा उत्रिए।

कानुनी प्रक्रियामा आएर अनुसन्धानमा सघाउनुको साटो भागेर आफ्नो पक्षमा माहौल बनाउन सक्रिय भएपछि प्रहरीले इन्टरपोलको नेपाल शाखाबाट डिफ्युजन नोटिस जारी गरायो।

नाबालिग बलात्कारको आरोपमा डिफ्युजन नोटिस जारी भएसँगै इन्टरपोलको सदस्य राष्ट्रमा बस्न सहज भएन र फेसबुकमा लेखे अनुसार बिहीबार कतार एयरवेजबाट नेपाल आए।

आत्मसमर्पण हो ?
उनले फेसबुकमा कतार एयरवेजबाट १० बजे नेपाल आउने भनेर फेसबुकमा लेखे अनुसारै उनी बिहीबार नेपाल आइपुगेकाले यसलाई धेरैले आत्मसमर्पणको रूपमा लिएको देखिन्छ।

हो त ?
काठमाडौं जिल्ला परिसरका प्रवक्ता दिनेश मैनाली उनी आफैँ नेपाल आएकाले सकारात्मक भए पनि आत्मसमर्पण भन्न नमिल्ने बताए।

'जाहेरी दर्तापछि पक्राउ आदेश आएसँगै सिधै नेपाल आएको भए आत्मसमर्पण गरेको भन्न मिल्थ्यो तर उनी लुकेर बसे,' उनले भने, 'इन्टरपोलबाट नोटिस जारी भएपछि मात्रै उनी नेपाल फर्किएकाले अनुसन्धानमा सहयोग भन्दा पनि बाध्यात्मक अवस्थामा आएका हुन्।'

एक महिना अनुसन्धान लम्बियो
पक्राउ आदेशसँगै सन्दीप नेपाल आएको भए अहिलेसम्म केस अदालतमा पुगिसकेको हुन्थ्यो। एक महिना भाग्दा २५ दिनमा सकिने अनुसन्धानको अवधि एक महिना लम्बियो।

जाहेरी दर्तापछि अनुसन्धान सकाउने हदम्याद हेर्छ प्रहरीले। सन्दीप फरारै रहेको भए प्रहरीले जाहेरी दर्ताको तीन वर्षभित्र अनुसन्धान सकाउनुपर्थ्यो।

आरोपित पक्राउ परेपछि भने पक्राउ परेको दिनबाट २३ दिनभित्र अनुसन्धान सक्काउनुपर्छ। थप समय चाहिए १० दिन बढाउन सक्छन्। सोही कानुन अनुसार सन्दीप बिहीबार पक्राउ परेको २३ दिनसम्म प्रहरीले उनलाई हिरासतमा राख्न सक्छ।

एसपी मैनालीका अनुसार जाहेरी दर्तासँगै अनुसन्धान प्रक्रिया अगाडि बढाएकाले घटनास्थल मुचुल्का, बयान, सोधपुछ, सिसिटिभी फुटेज लगायतका प्रमाण र प्रक्रिया सकिइसकेको छ।

'आरोपित पक्राउपछि बयान, आवश्यक परे थप प्रमाण सङ्कलन, सोधपुछ लगायतका प्रक्रिया बाँकी छन्' एसपी मैनालीले भने' आरोपितको बयान कस्तो आउँछ त्यसैले अनुसन्धान अवधि निर्क्योल गर्छ।'

के-के आयो प्रमाण ?
बलात्कारको जाहेरीपछि प्रहरीले जाहेरीमा उल्लेख गरिएका दाबी केन्द्रित अनुसन्धान गरेको थियो। त्यसमा बलात्कार भएको भनिएको होटलको सिसिटिभी फुटेज, कोठाको मुचुल्का, कर्मचारीको बयान संलग्न छन्।

दोस्रोमा पीडितको स्वास्थ्य परीक्षण प्रतिवेदन। तेस्रो नगरकोटमा रहेको रिसोर्टको विवरण, अनलाइन पेमेन्ट र कल डिटेल रेकर्ड सङ्कलन भइसकेको छ।

यी प्रमाणले जाहेरीमा गरिएका अधिकांश दाबी मिल्ने देखिन्छ। सबैभन्दा बलियो प्रमाण सिसिटिभीको फुटेज, स्वास्थ्य प्रतिवेदन र कल डिटेल विवरण देखिन्छ। जसलाई सन्दीपले ती प्रमाण र बलात्कार बिच सम्बन्ध नभएको प्रमाणित गर्नुपर्ने चुनौती छ।

२० असोज, २०७९, २३:०९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।