पोखराका मेयर धनराज आचार्यले एक सय दिनमा के-के काम गरे ?

पोखराका मेयर धनराज आचार्यले एक सय दिनमा के-के काम गरे ?

पोखरा: वैशाख ३० मा सम्पन्न स्थानीय तहको निर्वाचनबाट पोखरा महानगरपालिकाको मेयरमा धनराज आचार्य निर्वाचित भए। मेयर आचार्यले आफ्नो कार्यकालको एक सय दिन पनि पूरा गरिसकेका छन्।

महानगरमा नयाँ नेतृत्त्व आएपछि एक सय दिनका उपलब्धिहरू हाल सार्वजनिक भएको छ। यस अवधिमा मेयर आचार्यले महानगरको सेवा प्रवाहमा सहजतादेखि कृषि उत्पादनको बजारीकरण, वातावरण, स्वास्थ्य र भौतिक पूर्वाधार निर्माणका क्षेत्रलाई समेटेर अगाडि बढेको उल्लेख छ।

महानगरमा कृषि एम्बुलेन्स सञ्चालन, भूमिहीन दलित सुकुम्बासीलाई निस्सा वितरण, उज्यालो पोखरा अभियानको सुरुआत, हेलो मेयर सेवाको शुभारम्भ, महानगरको सेवा प्रवाहमा एकद्वार प्रणाली, अन्डरग्राउण्ड पार्किङमा कडाइ लगायत डेढ दर्जनभन्दा धेरै कामको थालनी भएको फेहरिस्त सार्वजनिक भएको छ।

आचार्यले मेयर निर्वाचित भएपछि पहिलो निर्णयस्वरूप पोखरालाई फूलैफूलको शहर बनाउने घोषणा गरेका थिए। यस अवधिमा पोखराको जिरोकिमीस्थित डिभाइडरमा फूल रोपेर अभियान सुरु भएको छ।

पोखरालाई आकर्षक शहरका रूपमा स्थापित गर्न फूल रोप्ने अभियान चलाएको र यससँगै पोखरा र आसपासका अग्ला डाँडाहरूमा लालिगुराँस, लालुपाते लगायतका फूलहरू रोपिएको मेयरको दावी छ।

पोखरा न्युरोडस्थित रहेको जग्गा अदालती फैसलाबाट महानगरको स्वामित्वमा ल्याएको उनले उल्लेख गरेका छन्।

यस्तै महानगरका बासिन्दाको क्षमता अभिवृद्धि गर्न विभिन्न किसिमका तालिम सञ्चालन गर्नेदेखि महागनरका लक्षित समुदायहरूमा विभिन्न शीर्षकमा अनुदान समेत वितरण गरिएको दावी गरिएको छ।

स्थानीयलाई गाउँघरमै स्वरोजगार बनाउन घाँस उत्पादनदेखि व्यावसायिक बाख्रापालन र कृषिमा अनुदान वितरण प्रक्रिया थालेको आचार्यले उल्लेख गरेका छन्।

आचार्यको उपलब्धिमा पहिलो पटक पोखरामा ‘महानगर मेट्रो सम्मेलन’ समेत सम्पन्न गरेको पनि उल्लेख छ।

मेयर आचार्यले पोखराका पाँच वडाहरूका सार्वजनिक जग्गामा विभिन्न व्यक्ति र समूहले अतिक्रमण गरी बनाएका घर टहरा हटाएर खाली गरी संरक्षण गरिएको बताएका छन्। त्यस्तै पोखरा न्युरोडस्थित रहेको जग्गा अदालती फैसलाबाट महानगरको स्वामित्वमा ल्याएको उनले उल्लेख गरेका छन्।

महानगरको 'एक घर एक विरुवा' अभियानअन्तर्गत अहिलेसम्म २४ हजार फलफूलका विरुवा रोपिएको मेयर आचार्यले बताए।

मेयर आचार्यले पछिल्लो समय पोखरा महानगरपालिकाबाट पोखरेली जनतासँग प्रत्यक्ष सरोकार राख्ने महत्त्वपूर्ण काम गरेको दावी गरेका छन्। 

मेयर आचार्यले निजी साझेदारीमा पोखरा क्षेत्रमा ३२ स्थानमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको बताए। यस्तै केही समयभित्र यसको संख्या बढाएर एक सय पुर्याउने उनले बताए।

उनका अनुसार पोखरा महानगरपालिकाको समग्र विकासका लागि नवीनतम् प्रयासहरू समेत थालिएका छन्। विभिन्न दातृ निकाय तथा विदेशका भगिनी सम्बन्ध कायम भएका शहरसँगको साझेदारीमा दीर्घकालीन महत्त्वका योजनाहरूको सम्भाव्यता अध्ययन, डीपीआर निर्माण तथा निर्माण सम्झौता समेत गरिएका छन्।

नेपाल विद्युत प्राधिकरणसँग पोखराको अघौंचोकदेखि लेकसाइड, सभागृह, महेन्द्रपुल, नयाँबजार हुँदै पृथ्वीचोकसम्मको बिजुलीका तारहरूलाई अन्डरग्राउण्ड गर्ने सम्झौता भएको छ।

युवा तथा बेरोजगारलाई लक्षित गरी व्यवसाय प्रवर्द्धन केन्द्र स्थापना गरिएको बताइएको छ। त्यस्तै गण्डकी बहुप्राविधिक शिक्षालयमा थप चार नयाँ विषयको अध्यापन अनुमति प्राप्त गर्न सफल भएको उनले उपलब्धिमा समेटेका छन्।

मेयर आचार्यले निजी साझेदारीमा पोखरा क्षेत्रमा ३२ स्थानमा सार्वजनिक शौचालय सञ्चालनमा ल्याएको बताए। यस्तै केही समयभित्र यसको संख्या बढाएर एक सय पुर्याउने उनले बताए।

त्यस्तै तरकारी र फलफूलको मूल्य घोषणा, किसानलाई धानको बीउमा अनुदान, बेमौसमी तरकारी र फलफूल खेतीमा प्रोत्साहन, सुन्तला कृषकलाई किसान डिजिटल कार्ड वितरण गर्नुका साथै रु २० लाख नगद अनुदान वितरण गरिएको मेयरको उपलब्धिमा उल्लेख छ।

एक सयभन्दा बढीको संख्यामा बाख्रापालन गर्ने किसानहरूलाई विशेष सम्मानसँगै २० लाख बराबरको अनुदान वितरण गरिएको आचार्यले बताएका छन्।

दिल्लीमा फोहोरबाट बिजुली निकालिएको उल्लेख गर्दै पोखरा महानगरले धरान वा दिल्लीमध्ये एकको व्यवस्थापन शैली प्रयोग गर्नेबारेमा अध्ययन गरिरहेको पनि उल्लेख छ। 

पोखरामा आगामी डिसेम्बरदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थत सञ्चालनमा आउने भएसँगै विमानस्थल छेउको ल्याण्डफिल साइट सार्नुपर्ने भएकाले त्यसको समाधानका लागि उपाय खोज्न धरानदेखि भारतको दिल्लीसम्म भ्रमण गरेको कुरा पनि मेयर आचार्यले एक सय दिने उपलब्धिमा समेटेका छन्।

उनले अत्यन्तै चुनौतीको रूपमा रहेको पोखराको फोहोरमैला व्यवस्थापनबारे अध्ययन गर्न अवलोकन भ्रमणमा निस्किएको दावी गरे। 

धरानमा सञ्चालनमा रहेको ग्याँस र मल उत्पादन गरिएको 'वेष्ट टु इनर्जी'को भ्रमण गरी पोखराको फोहोर व्यवस्थापन गर्न आफूहरूको ध्यान केन्द्रित भएको उनले बताएका छन्। 

भारतको दिल्लीमा ल्याण्डफिल्ड साइटको समेत आवश्यक नपर्ने गरी भइरहेको फोहोरमैला व्यवस्थापन सम्बन्धी परियोजनाहरूको अध्ययन अवलोकन गरेको पनि आचार्यले बताएका छन्। यस्तै दिल्लीमा फोहोरबाट बिजुली निकालिएको उल्लेख गर्दै पोखरा महानगरले धरान वा दिल्लीमध्ये एकको व्यवस्थापन शैली प्रयोग गर्नेबारेमा अध्ययन गरिरहेको पनि उल्लेख छ। 

मातृ मृत्यु तथा नवजात शिशु मृत्युबाट बचाउन गर्भवती र सुत्केरी महिलाका लागि ५० बेडको विश्रामस्थल (होस्टल) संचालनको प्रक्रियाको शुभारम्भ गरिएको पनि उल्लेख गरिएको छ। बच्चा जन्मिएको २८ दिनसम्म नवजात शिशुको मृत्युदर बढी हुने सम्भावना भएकाले महानगरले ५० बेडको विश्रामस्थल सञ्चालन गरेको मेयर आचार्यले दावी गरे।

मेयर आर्चायले एक सय दिनभित्र जनअपेक्षाअनुसारका काम गर्न नसकिने बताउँदै आगामी पाँच वर्षभित्र आफ्नो घोषणापत्रमा उल्लेख गरिएका सबै कामहरू गरिसक्ने दावी गरे।

१८ भदौ, २०७९, २०:२३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।