'पानीफोटो'का निर्देशकलाई एक दर्शकको प्रश्न : मुर्ख बनेको कि बनाउने प्रयास गरेको ?

'पानीफोटो'का निर्देशकलाई एक दर्शकको प्रश्न : मुर्ख बनेको कि बनाउने प्रयास गरेको ?

जसको 'डोमेन' जे हो, त्यसैमा हात हाल्दा मात्र सफल हुइन्छ। नत्र खगेन्द्र लामिछाने हुनुपर्छ। चलचित्र 'पानीफोटो' हेरिसकेपछि मेरो दिमागमा आएको पहिलो 'भर्डिक्ट' यही थियो।

डिस्क्लेमर दिइहालौं- नयाँ प्रयोग गर्नै हुँदैन भन्ने पनि होइन। तर प्रयोग आफ्नो डोमेनभित्र बसेर गर्ने हो, न कि फरक-फरक विधा चाखेर।

ठीक छ- खगेन्द्रले निर्देशक बन्ने आँट गरे। त्यसमा पनि लाखौँलाई तर्साएको विद्रोहको कथा भन्ने जमर्को गरे। यहाँसम्म उनलाई खोट लगाउन आवश्यक छैन।

तर, जति इमान्दार कलाकार हुन् खगेन्द्र, पानीफोटोले उनलाई त्यति नै कमजोर फिल्म निर्देशक भएको ट्याग दिएको छ। अनि खगेन्द्रलाई माया गर्नेहरूले उनको कमजोरी लुकाइदिने प्रयास गरे पनि उनीसँग लामो समय 'असफल निर्देशक'को ट्याग झुण्डिने पक्का छ।

उनैले निर्देशन गरेको पानीफोटो नामको नाटक मैले हेरेको छैन। नाटकमा उत्कृष्ट काम भएको थियो भन्ने सुनेको मात्र हुँ। तर, त्यसैको आधारमा फिल्मकै पैरवी गर्न पनि त भएन।

किनकी नाटक र फिल्म फरक विधा हुन्। पटक-पटक यही कुरा दोहोर्याउन आवश्यक नहोला। तर, पानीफोटो फिल्म हेरिरहँदा कहिले नाटक, कहिले डकुमेन्ट्री र कहिलेकाहिँ मात्र फिल्मको अनुभूति भयो। दुई घण्टासम्म खगेन्द्रको निर्देशकीय कला हैन धमिलो पानीमा अस्पष्ट फोटो मात्र देखिरहेँ।

यो फिल्म मास दर्शकका लागि बनाएको त हुँदै होइन। माओवादी विद्रोहको बाछिटाको कथाले कसलाई छुन खोजिएको हो पत्तै पाइएन।

सबैभन्दा पहिले कथाकै कुरा गरौँ। फिल्मको कथा हो- माओवादी विद्रोहका बेला हराएको छोरो (कृष्ण केसी) खोज्न आमा(मैया)-बुवा(चन्दन) ले गरेको संघर्ष।

फिल्मको कथा एभरेज हो। पीडा भोग्नेले कोट्याउन नचाहने विषय हो। नभोगेकाले सुन्न नचाहने सत्य हो।

खैर।

कथाले छोरा खोज्न निस्केका मैया (मेनुका प्रधान) र चन्दन (अनुप बराल) को यात्रामा दर्शकलाई पनि लैजान खोजेको छ। तर दर्शक त्यो यात्रामा सहभागी हुन चाहँदैनन्।

किन?

यसको उत्तर एउटा होइन, धेरै छ। पहिलो त फिल्मको 'थिम' प्रष्ट छैन। दोस्रो, शीर्षक प्रष्ट छैन।

थिम- हराएको छोरा खोज्ने हो। तर फिल्म- हराएको छोराको पीडामा गन्थन मात्र गरिरहने आमाबाबुको हो।

थिमले- छोराको खोजीमा निस्केका आमाबाबुले खोतल्दै जाने नयाँ नयाँ 'लेयर' खोज्छ। फिल्मले- त्यो खोजलाई निकै कम स्थान दिएको छ। लेयर भेटाएर दर्शकलाई बाधेर राख्दैन।

थिममा- यात्रा हुनुपर्ने हो, छोरा खोज्दा भोग्ने बाधा/अवरोध हुनुपर्ने हो। फिल्ममा- पात्रहरूको गतिहीनता छ, पात्रहरू बाधाविहीन छन्। अवरोध केवल जेठाजु पात्रको छ। त्यो पनि कमिक बनाउन खोज्दा वजनदार छैन। न कमिक नै छ।

फिल्ममा शीर्षकको सार्थकता खोज्नु नै मुर्खता जस्तै देखिन्छ। किनकी, छैन नै । एक ठाउँमा उच्चारण चाहिँ गरिएको छ शब्द। त्यो पनि राख्नैपर्ने दबाबले जवर्जस्ती राखिएको। नत्र त्यो शब्द त्यहाँ नहुँदा पनि फिल्मलाई केही असर पर्दैन।

अब अरू कारणतिर जाऔं- 

दर्शकलाई हराएको छोरो कृष्ण चिनाउँदै नचिनाई उसको खोजीमा हिँडाउन खोजेका छन् निर्देशकले। किन हिँड्ने दर्शक?

कृष्ण र उनकी आमाबीचको सामीप्य संवादमा पनि अटाउँदैन। अनि किन मैयाको दुःखमा बिचरा भन्ने दर्शकले?

राधा (मल्लिका महत) र कृष्णको प्रेम रहस्य पनि अन्तिममा खुल्छ। त्यो पनि जुगदेखि हेर्दै आएको बलिउड शैलीमा। अनि राधाको प्रेमीको पर्खाइमा किन तड्पिने दर्शक?

नाटकमा जस्तो सानो क्यानभासमा अटाएको छ फिल्म। एउटै लोकेशनमा एउटै पात्रहरूको एकैखाले संवाद हेर्न विवश हुन्छन् दर्शक। अनि किन पट्यार नमान्ने दर्शकले?

'आर्ट फिल्म हो, कहाँ मासले खोजेको जस्तो हुन्छ त?' भन्ने स्पष्टीकरण पनि आउला। त्यसो हो भने सिनेमा हलमा फिल्म प्रदर्शन नगरौँ, फेस्टिभलमा मात्र लगाऔँ। यसो गरे दर्शक पनि गुमराहमा पर्दैनन्, निर्माता-निर्देशकले पनि 'गाली' खाँदैनन्।

अर्को कुरा आम दर्शकले पनि फिल्म बुझ्छन्। फिल्म बुझ्नलाई समीक्षक वा निर्देशकै हुनुपर्दैन। र उत्कृष्ट फिल्म त्यो हो जसलाई धेरै दर्शकले बुझ्छन्। धेरै दर्शकले इन्जोय गर्छन्।

यदि पट्यारलाग्दो र दर्शकले नबुझ्ने फिल्मलाई नै उत्कृष्ट भन्न 'खेताला समीक्षक' खटाउँदै जाने हो भने भोलिको दिनमा यसले 'ब्याकफायर' गर्नेछ। त्यो पनि निर्माता/निर्देशकलाई।

गाउँको घरमा गुन्यु चोली लगाएकी महिलाले अगेनामा कसौँडी बसालेर खाना पकाएको दृश्य देखाउँदैमा फिल्म अर्ग्यानिक हुने भए त्यस्ता फिल्म टिकटकमा दिनमा हजार वटा अपलोड हुन्छन्।

त्यसमाथि सानो क्यानभासमै पनि उत्कृष्ट फिल्म बन्छ, मासले रुचाउने फिल्म बन्छ। बस् निर्देशक इमान्दार हुनुपर्यो।

तर कहिलेकाहिँ दर्शकले नराम्रा फिल्मलाई पनि हिट गराइदिन्छन्। यो बेग्लै पाटो हो।

फिल्म पानीफोटो संवादमा निर्भर छ। रेडियो नाटक जस्तो। पानीफोटो हेर्ने दर्शकले 'संवाद' हेर्नुपर्छ।

यति धेरै कारण छ- मैया र चन्दनको छोरा खोज्ने यात्रामा दर्शक सहभागी नहुनुको।

अर्को कारण पनि थप्न मन लाग्यो- फिल्ममा कौतुहल छैन। 

छोरा खोज्ने बेलाका दृश्यले थोरै भए पनि दर्शकलाई आशाको भ्रम दिनुपर्ने हो। तर, निर्देशकीय असक्षमता यहीँ प्रष्ट हुन्छ। यतिञ्जेल दर्शकलाई थाहा भइसक्छ- त्यो यात्रा अर्थहीन हो भनेर। अनि दर्शकमा कौतुहल मर्छ। कौतुहल मरेपछि फिल्म बोरिङ हुन्छ।

निर्देशकले आर्ट फिल्म बनाउनभन्दा राम्रो फिल्म बनाउन चाहेको भए, बोरिङ हुँदैन थियो कि!

०००
'दशरथ रङ्गशालामा छायाङ्कन गरिएको पहिलो चलचित्र', 'नारायणहिटीमा खिचिएको पहिलो चलचित्र' भनेर प्रचार हुन्थ्यो एकताका नेपाली फिल्महरू। आजकल, 'अर्ग्यानिक' भनेर प्रचार हुन थालेको छ।

गाउँको घरमा गुन्यु चोली लगाएकी महिलाले अगेनामा कसौँडी बसालेर खाना पकाएको दृश्य देखाउँदैमा फिल्म अर्ग्यानिक हुने भए त्यस्ता फिल्म टिकटकमा दिनमा हजार वटा अपलोड हुन्छन्।

अर्को, विदेशी कथा/पटकथा अड्याप्ट गरेर पनि अर्ग्यानिक फिल्मको रूप दिन सकिन्छ।

कि अर्ग्यानिक फिल्म भनेको वंशजको नेपाली नागरिकताधारी पहाडी पुरुषले बनाएको फिल्म हो? त्यसो हो भने आजकै दिनबाट एरिक भ्यालीले बनाएको 'क्याराभान'लाई अस्करमा मनोनित हुने पहिलो नेपाली फिल्म भनेर गर्व गर्न छोड्नुपर्यो!

०००
अब फिल्मको प्राविधिक पाटोमा केन्द्रित होऔं। पहिला सिनेमाटोग्राफीको कुरा।

फिल्ममा लगभग मल्लिकाको दृश्य मिडग्राउण्डमा खिचिएको छ। केही न केहीको सजेशन राखिएको छ। कहिले काँसघारीको कहिले सुकेको रुखको ठुटाको। यस्तो सट खिच्नुको अर्थ फिल्ममा खुल्दैन। मल्लिकाको मनस्थिति देखाउन खोजेको हो भने त्यो पनि देखिँदैन।

त्यसमाथि एउटा सटमा त मल्लिकालाई रेलिङको बीचबाट देखाइएको छ। झल्यास्स आएको भए पनि यसलाई नजरअन्दाज गर्न हुन्थ्यो। उनले एक्सप्रेसन दिएको बेला दोहोरिएर यो सट आउँछ। यस्तो सटको अर्थ के? प्रेमीको बारेमा 'आशा' थपिएको बेला उनलाई 'कन्फाइन्ड' देखाउनुले कथा र सिनेमाटोग्राफी दुईतिर लाग्छन्।

फिल्ममा अर्को नचाहिँदो भनेको टप एंगल सट हो। जता पनि हालिएको छ। टप एंगल सटले व्यक्त गर्ने भावना र कथाले व्यक्त गर्न खोजिरहेको कुराबीच तादम्य हुँदैन।

कतिपय सिनमा पात्रको ढाड देखिनेगरी खिचिएको छ। कलाकारको ढाड हेर्न दर्शक हलसम्म जाने होइन। उनीहरूको अभिनय हेर्न जाने हो।

सिनेमाटोग्राफरले गर्न चाहेको तर फिनिसिङ दिन नसकेको अर्को पाटो हो- दुई विपरीत विचार बोकेको पात्रलाई खाँबोले छुट्याएको दृश्य। धेरैलाई यो खत्रै प्रयोग भन्ने लाग्यो। नौलो प्रयोग त हो। तर बुझ्नुपर्ने कुरा- प्रयोगले कथा व्यक्त गर्न सक्नुपर्यो। जुन यो सटमा छैन।

जस्तो- अनुपले मेनुकालाई गाली गरेको फिल्मको सुरुको सिनमा 'लाइन क्रस' हुन्छ भनेर पीओभी (पोइन्ट अफ भ्यू) नखिची ढाड खिचिएको छ। यस्तो बेला 'क्यारेक्टर प्लेसमेन्ट'मा ध्यान दिने कि कथाले मागेको सट नै नखिच्ने?

यो निर्देशक र सिनेमाटोग्राफर दुवैले ख्याल नगरेको पाटो हो।

एउटा सिन छ जहाँ चन्दन, पदम (खगेन्द्र लामिछाने) र पदमका बुवा वार्तालाप गरिरहेका हुन्छन्। आर्ट फिल्म हुन्थ्यो भने यहाँ थ्री सट प्रयोग हुन्थ्यो। यस्तै बेला प्रयोग गर्ने त हो थ्री सट। क्लोजमै मात्र खेल्ने हो भने तीन जना पात्र राख्न त्यहाँ जरुरी थिएन। फोनबाट कुरा गराइदिएको भए कुरै सकिन्थ्यो।

कम्पोजिशन राम्रो छ, 'हाइ र लो कि' लाइटमा खेल्न छायाकार सक्षम देखिएका छन्। तर, क्यामेराले फिल्मलाई डोहोर्याएको छैन। 

यसबाहेक फिल्ममा लेन्सिङको राम्रो प्रयोग छ। अधिकांश नेपाली फिल्मले ध्यान नै नदिने लेन्सिङको पाटोमा यो फिल्मले आफूलाई सजग गराएको छ।

'डेफ्त अफ फिल्ड' चाहिएको बेला र 'डीप फोकस' चाहिएको बेला लेन्सिङमा भएको काम सराहनीय छ। अरू निर्देशक/सिनेमाटोग्राफरले सिक्दा फरक पर्दैन।

तर फेरि कतै कतै फोकस सिफ्टिङमा भने चिप्लिएको छ। चन्दन बोलिरहँदा पनि राधाकै अनुहारमा फोकस गरिरहनुले दर्शकलाई डिस्कनेक्ट गराउँछ। यस्तो बेला अगाडिको पात्रको प्रतिक्रिया महत्त्वपूर्ण भए त्यो जायज हुन्थ्यो। नहुँदा भने त्यो गल्ती नै हो।

सिनेमाटोग्राफरले गर्न चाहेको तर फिनिसिङ दिन नसकेको अर्को पाटो हो- दुई विपरीत विचार बोकेको पात्रलाई खाँबोले छुट्याएको दृश्य। धेरैलाई यो खत्रै प्रयोग भन्ने लाग्यो। नौलो प्रयोग त हो। तर बुझ्नुपर्ने कुरा- प्रयोगले कथा व्यक्त गर्न सक्नुपर्यो। जुन यो सटमा छैन।

सिनेमाटोग्राफरले दर्शकलाई 'लिड' दिने हो।

फिल्म अडियो-भिजुअल माध्यम हो त भन्यौँ तर हामीले भिजुअल्ली दर्शकलाई लिड दिने कुरामा भने सधैँ चुक्यौँ। संवादकै भर पर्यौँ।

यस्तो सिनमा कोमाथि को हावी भएको हो भनेर निर्देशक र सिनेमाटोग्राफरले लिड दिनसक्नुपर्छ। कोप्रति दर्शकले सहानुभूति राख्ने भन्ने बुझाउन सक्नुपर्छ। अनि मात्र दर्शक बाधिन्छन्। तर पानीफोटोमा सिनेमाटोग्राफरले दर्शकलाई कथा भनेका छैनन्।

निर्देशकले यस्ता कुरामा ध्यान दिएकै पाइँदैन।

जस्तो एउटा दृश्यमा बन्द ढोकाभित्र श्रीमान् श्रीमतीको गन्थन चल्छ। दर्शकलाई त्यो देखाइँदैन। ढोका मात्र देखाइन्छ। जब आफूले सहानुभूति राख्नुपर्ने पात्रसँग निर्देशकले अन्तरङ्ग गराउँदैनन् भने किन दर्शकले फिल्म मन पराइदिनु?

अब क्यामेराबाट भएका साँच्चै राम्रा कामको तारिफ गरौँ।

त्यो हो- ब्लकिङ।

ब्लकिङ गरेर कथा भन्न सक्नु निर्देशकको उत्कृष्ट भिजनको परिणाम हो। र राम्रो सिनेमाटोग्राफरले मात्र त्यो भिजन कार्यान्वयन गर्न सक्छ।

फिल्ममा चन्दन र मैया पात्रबीचको दृश्य ब्लकिङमा देखाइएको छ। अनि भित्र राधाका बुवा मोही पार्दै छन् बाहिर राधा तरकारी केलाउँदा अन्तै ध्यान दिइरहेको सिन छ। यी दृश्यमा भएको ब्लकिङले कथा बोक्छ। कथा बोल्छ।

त्यस्तै बुद्धि तामाङको 'द्वन्द्वपीडित घर' र त्यहाँको यादहरू देखाउने शैली पनि राम्रो छ। यसले कथालाई न्याय गर्छ। बुद्धिलाई यादहरूले सताएको कुरा क्यामेराले देखाउँछ। भारी संवाद प्रयोग गर्नै पर्दैन।

अनावश्यक पहाडको इन्सर्ट आउँछ। कहिले बादलको टाइमल्याप्स आउँछ। अनावश्यक रूपमा चन्द्रमा हुँदै पूर्णिमा आउँछ। यो डकुमेन्ट्रीमा हालिने ट्रान्जिशन हो, फिल्ममा जे आवश्यक छ त्यही देखाउने हो।

तर फेरि यी उत्कृष्ट प्रयोग फिक्का तब लाग्छ जब अधिकांश सटहरू फिल्ममा यसैगरी खिचिएको हुन्छ। धेरै सट ब्लक सिद्धान्तबाट खिचिएको छ। फेरि उस्तै कलाकारको ढाड देखिनेगरी।

अब एडिटिङको कुरा।
एडिटिङमा गल्तीहरू देख्न सकिन्छ। जस्तो सुरुतिरको सिनमा चन्दन फ्रेमबाट बाहिर निस्किसकेपछि पनि एडिटरले त्यो दृश्यलाई काटेका छैनन्। अनि अनावश्यक ड्रम, दैलो हेर्न बाध्य हुन्छन् दर्शक।

यहाँनिर यो दृश्यलाई छोटो नबनाउँदा पछिसम्मै दोहोरिने यी नै प्रप्सले दर्शकलाई बोरिङ महसुस गराउँछ।

अर्को एडिटिङको गल्ती हो- फेड इन ट्रान्जिसन प्रयोग गरेर एक्कासि नयाँ क्यारेक्टरलाई चिनाउने तरिका। यसले दर्शकलाई डिसकनेक्ट गराउँछ। जस्तो बुद्धि तामाङको एन्ट्रीको सिन। त्यहाँ लोग्ने स्वास्नीको झगडापछि एक्कासि बुद्धि आउँदा के आयो आयो भन्ने महसुस हुन्छ।

त्यसमाथि डे-नाइट सिन ओभरल्याप भएका छन्। बढी नै। यसले दिक्कै बनाउँछ दर्शकलाई।

बीचबीचमा इन्सर्ट र रियाक्सन सट राखेर एडिटरले फिल्मलाई राम्रो बनाउन खोजे पनि सटहरू लामो-लामो हुँदा फिल्म अल्छीलाग्दो बनेको छ।

अनि बीच-बीचमा फिल्म डकुमेन्ट्री हुन्छ। एडिटरको कारण।

जस्तो अनावश्यक पहाडको इन्सर्ट आउँछ। कहिले बादलको टाइमल्याप्स आउँछ। अनावश्यक रूपमा चन्द्रमा हुँदै पूर्णिमा आउँछ। यो डकुमेन्ट्रीमा हालिने ट्रान्जिशन हो, फिल्ममा जे आवश्यक छ त्यही देखाउने हो।

चरित्र र अभिनयको कुरा गरौँ।
यो फिल्मको नायक हुन् - मेनुका प्रधान उर्फ मैया। यो कुरामा निर्देशक क्लियर छन्। क्रेडिट टाइटलदेखि नै उनले लिड दिएका छन्- नायक मेनुका हुन् भनेर।

तर, यो नायक निकै कमजोर छिन्। नायक संघर्ष गर्न त चाहन्छिन्, तर उनी सहजै उपनायक श्रीमान् र खलनायक अन्धविश्वासबाट प्रभावित हुन्छिन्।

नायक कमजोर हुँदा दर्शकले कसलाई फलो गर्ने भन्ने नै बुझ्न सक्दैनन्।

हुन त अब नेपाली समाजको संरचनाअनुसारै कमजोर दखाइएको हो भन्ने पनि स्पष्टीकरण आउला। तर, दाङसम्म एक्लै पठाउन सक्ने निर्देशकले रोल्पामा मनको प्रश्न गर्न पनि उपनायकले सेन्सर पास गरिदिनुपर्ने बाध्यता सिर्जना गराउँदा अस्पष्ट हुन जान्छ फिल्म।

मेनुकाको अभिनय यो पात्रमा सुहाउँदो छ। तर उनले फिल्मलाई लिड नगर्दा भने अभिनयलाई असर गरेको छ। मेनुका फिल्ममा 'क्वेस्ट'मा छिन् तर 'क्वेरिज्' छैन उनीसँग।

दाङको सन्दर्भ आइहाल्यो- मेनुका दाङ पुगेपछि फिल्म कम्प्लिट्ली डकुमेन्ट्रीमा रूपान्तरण हुन्छ।

उनको अभिनय गहन छ। खोट लगाउने ठाउँ छैन। तर सिनलाई उनको अभिनयले लिड गर्दैन, सिनले उनको अभिनय लिड गर्छ। र यो, मेनुकाको दोष होइन- निर्देशकको हो।

मेनुकाको अभिनय क्षमता फिल्ममा देखिएको भन्दा अझै माथि चाहिँ छ।

अनुप बराल चाहिँ फिल्ममा सबैभन्दा उत्कृष्ट अभिनय गर्ने कलाकार हुन्। किनकी उनले दर्शकलाई लिड गर्छन्। फिल्म आशावादको चरणमा छ कि निराशावादको चरणमा छ भन्ने अनुपकै अभिनयले बुझाउँछ दर्शकलाई।

अनुप निराश हुँदा दर्शकले बुझ्छन् छोरा आउँदैन भनेर। अनुपले आश राख्दा दर्शक पनि उनीसँगै आशावादी हुन्छन्।

मल्लिका महतले यसअघि अभिनय गरेको चलचित्र/म्युजिक भिडियो केही हेरेको थिइन मैले। पहिलो पटक हेर्दा आँखा बिझाएन। निर्देशकले सशक्त भूमिका नदिए पनि सशक्त रूपमा निभाउने प्रयास उनले गरेकी छिन्।

हुन त फिल्मले मल्लिकाको चरित्र राम्ररी देखाउन सकेको छैन। यसले गर्दा उनको अभिनय नै छायामा परेको छ। उनी वर्षौँदेखि हराएको प्रेमीको पर्खाइमा पनि हुन्छिन्, अनि नयाँ मोबाइल पाउनासाथ अर्कोसँग लुकेर पनि कुरा गर्छिन्।

पानीफोटोको ओपनिङ सिनमा मिथ अफ सिसिफसको अर्थहीन प्रयत्नलाई अड्याप्ट गरिएको छ। यसको प्रस्तुतिलाई तारिफ गर्नैपर्छ।

सबैभन्दा कमजोर अभिनय तर ग्राण्ड एन्ट्री चाहिँ खगेन्द्र लामिछानेकै छ। उनले आफूलाई ठ्याक्क क्लाइमेक्समा बोलाएका छन्। तर अभिनयभन्दा निर्देशनमै ध्यान दिएकाले होला पशुपति प्रसाद हेर्दा बनेको इमेज नै बदलिने अभिनय छ।

यहीँनेर एउटा कुरा उल्लेख गर्न मन लाग्यो। निर्देशकले धेरै वर्षपछि फर्किएर आएका पात्रहरूमा पोस्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर देखाएका छन्। यसरी नै अरू पाटोमा पनि डिटेलमा काम गरेको भए फिल्म राम्रो बन्नसक्ने सम्भावना थियो।

राम्रा पक्ष
फिल्ममा केही राम्रा पक्ष छन्। जसलाई उल्लेख गर्नैपर्छ।

जस्तो- फिल्मको ओपनिङ सिन।

तपाईंहरूलाई 'मिथ अफ सिसिफस' भन्ने ग्रीक माइथोलोजीबारे थाहा छ? यो चाहिँ सिसिफस भन्ने एउटा राजाको किंवदन्ती हो।

उनले दुई पटकसम्म मृत्युलाई छलेको हुनाले उनलाई सजाय दिइएको हुन्छ। सजाय हो- ठाडो पहाडमा गोलो ढुङ्गा धकेल्दै चुचुरोसम्म पुर्याउने।

तर जतिपटक उनी चुचुरोको नजिक पुग्छन्, त्यति नै पटक उनले धकेलेको ढुङ्गा गुड्दै तल झर्छ। अर्थात् अर्थहीन प्रयत्न गरिरहेका हुन्छन् उनी।

पानीफोटोको ओपनिङ सिनमा मिथ अफ सिसिफसको अर्थहीन प्रयत्नलाई अड्याप्ट गरिएको छ। यसको प्रस्तुतिलाई तारिफ गर्नैपर्छ।

अब अर्को तारिफयोग्य पक्ष हो- 'मिज-अन-सिन'।

यो भनेको के हो भन्नुहोला। बुझ्न र पालना गर्न सबैभन्दा गाह्रो र बुझेपछि चाहिँ सबैभन्दा सजिलो लाग्ने कुरा हो। यसको परिभाषामा म गइनँ।

नेपाली फिल्मको कमजोरी भनेको प्रप्स प्रयोग गर्न नजान्नु पनि हो। यो फिल्ममा प्रप्सलाई केही ठाउँमा राम्रोसँग प्रयोग गरिएको छ। जस्तो- आमा र गाउँले लेखिएको फिल्मको पोस्टर। प्रप्सकै कुरा गर्दा तुवाँलोको प्रयोग प्रशंसनीय छ।

फेरि चित्त नबुझेको पक्ष
बलिउड फिल्म 'करण अर्जुन' को आइकनिक डायलग छ एउटा। 'मेरे करण अर्जुन आएङ्गे' भन्ने। जुन अहिलेको समयमा फगत एउटा मिम् बाहेक अर्थोक केही पनि होइन। अर्थात् दर्शक बदलिएका छन्। सिनेमा चेत बढेको छ।

तर पानीफोटोले दर्शकलाई त्यही करण अर्जुनको जमानामा लैजान्छ। राधा आफ्नो प्रेमी फर्कने आशमा दुर्गा माताको शरणमा पुगेको दृश्यमा। त्यसमाथि कृष्ण र राधा नाम दिएर जोडी मिलाएको दृश्य फिल्मको बलिउडीकरणको अर्को उदाहरण हो।

अङ्ग्रेजीमा एउटा भनाइ छ नि- ज्याक अफ अल ट्रेड, मास्टर अफ नन्। पानीफोटो त्यस्तै बनेको छ।

अनि माओवादीले स्कुले बालकहरूलाई लगेको। उनीहरूलाई वर्ग शत्रु मानेर सामन्ती भन्ने जस्ता शब्द प्रयोग गरेको दृश्य हास्यास्पद लाग्छ।

हिन्दू पात्रहरूको संघर्षमा रोल्पा पुग्दाको सिनमा चर्चतिर क्यामेरा फर्काइएको छ। यसले सन्दर्भ अन्तै मोड्छ।

अनि प्रचारले चाहिँ यो फिल्मलाई पनि छोडेनछ। सोनामको ब्याग बोकेर आएको पात्रले प्रोडक्सन कस्ट पक्कै कम गर्यो जस्तो छ।

फाइनल भर्डिक्ट
पानीफोटो फिल्मको रूपमा असफल फिल्म हो। प्रयोग गर्न खोजेर सफल नभएको फिल्म हो।

अङ्ग्रेजीमा एउटा भनाइ छ नि- ज्याक अफ अल ट्रेड, मास्टर अफ नन्। पानीफोटो त्यस्तै बनेको छ।

अनुप बराल, मेनुका प्रधानको अभिनय, बेला-बेला देखापर्ने सिनेमाटोग्राफीको कला र कस्ट्युम डिजाइनमा राम्रो काम भएको छ। ब्याकग्राउण्ड म्युजिकहरू सामान्य लाग्छन् तर नराम्रा छैनन्।

एडिटिङमा सुधार्नुपर्ने धेरै पक्ष छ। सबैभन्दा मुख्य कुरा निर्देशनमा सुधार्नुपर्ने धेरै छ। आशा छ- आगामी चलचित्रमा यस्ता कमजोरी हुने छैनन्। दर्शकले बुझ्ने फिल्म बन्नेछ।

१७ साउन, २०७९, १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।