'बुहारी'लाई तत्काल नागरिकता दिने प्रावधानविरुद्ध उभियो एमाले र जनमोर्चा, महिला सांसद नै महिलाको विपक्षमा

'बुहारी'लाई तत्काल नागरिकता दिने प्रावधानविरुद्ध उभियो एमाले र जनमोर्चा, महिला सांसद नै महिलाको विपक्षमा

काठमाडौँ : नेपाली नागरिकसँग विवाह गरेर आउने विदेशी महिलालाई तत्काल नागरिकता दिने गरी प्रतिनिधि सभामा पुगेको नागरिकता सम्बन्धी विधेयक विरुद्ध एमाले र राष्ट्रिय जनमोर्चा एकै ठाउँमा उभिएका छन्। उनीहरूले संसद् सचिवालयमा संशोधन प्रस्ताव दर्ता गर्दै प्रस्ताव गरिएको तत्काल नागरिकता पाउन सक्ने प्रावधानको साटो सात वर्षपछि पाउने भन्ने राख्न प्रस्ताव गरेका छन्।

एमालेको तर्फबाट भीम रावल लगायतका सांसदले संशोधन दर्ता गराएका छन्  भने जनमोर्चाबाट दुर्गा पौडेलले प्रस्ताव दर्ता गराएर नेपाली नागरिकसँग विवाह गर्ने महिलालाई तत्काल नागरिकता दिन नहुने पक्षमा उभिए। सात वर्ष प्रावधान राख्ने प्रस्ताव दर्ता गर्ने एमाले सांसदहरूमा महिलाको सङ्ख्या उल्लेख्य छ।

मङ्गलवारसम्म संसद् सचिवालयमा नागरिकता विधेयकविरुद्ध ४५ सांसदको ३१ संशोधन प्रस्ताव दर्ता गराएका छन्। सरकारको नेतृत्व गरेको कांग्रेसले भने कुनै प्रस्ताव दर्ता गराएन।

राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पौडेलले नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध भएकी विदेशी महिलाले नेपालको नागरिकता प्राप्त गर्न चाहेमा विवाह भएको सात वर्षपछि पाउने व्यवस्था गर्न प्रस्ताव गरेकी छिन्।

एमाले सांसद रावल, गोकुल प्रसाद बाँस्कोटा, बिन्दा पाण्डे, शान्ति माया तामाङ पाख्रिन र कृष्ण भक्त पोख्रेल  लगायतकाले दर्ता गरेको संशोधन प्रस्तावमा पनि नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गरेकी विदेशी महिलाले नेपालको अङ्गीकृत नागरिकता लिन चाहेमा वैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्षसम्म स्थायी बसोबास गरेको रहेछ भने निजले नेपालको अङ्गीकृत नागरिकता प्राप्त गर्न सक्ने' राख्नुपर्ने उल्लेख छ।

अङ्गीकृत नागरिकता प्राप्त नगर्दासम्म आर्थिक, सामाजिक, सांस्कृतिक अधिकार उपभोग गर्न पाउने गरी स्थायी आवासीय अनुमति पत्र दिन संशोधन प्रस्तावमा राखिएको छ।

एमाले सांसदहरू खगराज अधिकारी, विद्या भट्टराई, खेमप्रसाद लोहनी, नबिना लामा, सुजिता शाक्य, झपट बहादुर रावल,र विना कुमारी श्रेष्ठले पनि सात वर्ष प्रावधान राख्न माग गरेका छन्।

ब्रिटिस नागरिकलाई दोहोरो नागरिकता दिन प्रस्ताव

एमाले सांसद शेर बहादुर तामाङले भने बेलायती सेनामा काम गरेर उतैको नागरिक भएका नेपालीको हकमा दोहोरो नागरिकताको प्रावधान राख्न प्रस्ताव गरेका छन्।

उनले नेपाली वंशजको नागरिकता प्राप्त गरेका ब्रिटिस गोर्खाहरूको हकमा ब्रिटिस सेनामा काम गरी योगदान गरे बापत सम्मानार्थ ब्रिटिस आवासीय भिसा वा अङ्गीकृत नागरिकता प्राप्त गरेता पनि निज र निजका सन्तानले प्राप्त गरेको नेपाली वंशजको नागरिकता निरन्तरता कायम रहने राख्न प्रस्ताव गरेका छन्।

उनको प्रस्तावमा ब्रिटिस गोर्खाका सन्तान बेलायतमा नै जन्म भई बेलायतको नागरिकता प्राप्त गरेता पनि निजले नेपाली वंशजको नागरिकता प्राप्त गर्न चाहेमा कुनै बाधा पुगेको मानिने छैन' भन्ने राख्न समेत माग गरेका छन्।

एकीकृत समाजवादीका सांसद रामकुमारी झाँक्री, कलिला खातुन, लक्ष्मी कुमारी चौधरीले वंशजको आधारमा नेपालको नागरिकता प्राप्त गर्ने व्यक्तिले निजको आमा वा बाबुको नामबाट लैङ्गिक पहिचान सहितको नेपालको नागरिकता प्रमाणपत्र पाउन सक्ने उल्लेख गर्न प्रस्ताव गरेका छन्।

माओवादी सांसद अञ्जना विशंखेले विधेयकको लिङ्गको महलमा "अन्य उल्लेखित ठाउँमा लिङ्गको "LGBTIQ"  पहिचान खुलाउनु पर्ने (मान्यता प्राप्त चिकित्सकको सिफारिसका आधारमा) पहिचान खुलाएर पहिचानको आधारमा नागरिकता दिने" भन्ने व्यवस्था गर्न प्रस्ताव दर्ता गरिन्।

माओवादी केन्द्रका सांसद देवप्रसाद गुरुङले नेपालको नागरिकता प्राप्त गरेकी महिलाले नेपालको नागरिकता प्राप्त गरेको मितिले छ महिनाभित्र विदेशको नागरिकता परित्याग गरेको निस्सा पेस गर्नु पर्ने प्रस्ताव गरेका छन्।

उनको प्रस्तावमा सो अवधिभित्र त्यस्तो निस्सा पेस गर्न नसकेमा निजले लिएको नेपालको नागरिकता रद्ध हुने राख्न माग गरिएको छ।

काका-काकीको नागरिकताको आधारमा वंशज

सांसद बृजेशकुमार गुप्ताले दर्ता गराएको प्रस्तावमा २०७२ असोज ३ भन्दा अगाडि जन्मको आधारमा नेपालको नागरिकता प्राप्त गरेको नागरिकको सन्तानले बाबु र आमा दुवै वा आश्रित व्यक्तिले नेपालको नागरिक रहेछन् भने निजका सन्तानलाई वंशजको आधारमा नागरिकता दिन प्रस्ताव गरेका छन्। उनले आश्रित व्यक्तिको रूपमा दाजु, दिदी, काका, काकीलाई सम्झनुपर्ने प्रस्ताव गरेका छन्। तर नेमकिपाका प्रेम सुवालले भने जन्मको आधारमा विदेशीलाई दिएको नागरिकता खारेज गर्न प्रस्ताव दर्ता गराएका छन्।

३ साउन, २०७९, २२:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।