कार्यकाल सकिन दुई दिन बाँकी हुँदा पोखराका मेयर जिसीले ६३ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएको खुलासा

कार्यकाल सकिन दुई दिन बाँकी हुँदा पोखराका मेयर जिसीले ६३ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई ठेक्कामा दिएको खुलासा

पोखरा : पोखरा महानगरपालिकाका निवर्तमान मेयर मानबहादुर जिसीले आफ्नो कार्यकाल सकिनुभन्दा दुई दिनअघि मात्र पोखराका तीन ठाउँका ६३ रोपनी सरकारी जग्गा निजी कम्पनीलाई ठेक्का लगाएको खुलेको छ।

जाँदाजाँदै जिसीले जेठ ३ गते पोखरा उपत्यका नगर विकास समिति पर्यटन बसपार्कको १८ रोपनी, यातायात व्यवस्था कार्यालय सवारी ट्रेनिङ सेन्टरको करिब ५ रोपनी र गल्फ कोर्स रहेको ४० रोपनी जग्गा १० वर्षका लागि ठेक्कामा लगाएका हुन्।

निवर्तमान मेयर जिसी आफ्नो पाँच वर्षे कार्यकालमा पोखरा क्षेत्रका प्राकृतिक सम्पदा, नदीका घाट ठेक्का, सार्वजनिक जग्गादेखि महानगर कार्यालय भित्रका करोडौंका काण्डमा मुछिएका थिए। 

उनको कार्यकाल जेठ ५ बाट सकिएको हो।

३ जेठमा पोखराको नयाँ मेयरका लागि मतगणना चलिरहेको बेला उनले पोखरामा बचे-खुचेका सरकारी जग्गा समेत कानुन विपरीत ठेक्का लगाएका हुन्।

एमालेका तर्फबाट मेयरमा निर्वाचित निवर्तमान जिसी पार्टीमा भने इमान्दार र बफादार नेताका रुपमा चिनिन्थे। तर पोखराको मेयर निर्वाचित भएपछि उनले सार्वजनिक सम्पत्ति दुरुपयोग गर्न खेलेको भूमिका र विभिन्न परियोजनामा गरेको बसमासीलाई हेर्दा पार्टी भित्रकै एउटा स्वार्थी समूहको योजनाको मतियार बनेको आकलन गरिँदै आएको छ।

नवनिर्वाचित मेयर धनराज आचार्यले पोखरा उपत्यका नगर विकास समितिको अध्यक्षको कार्यभार सम्हालेको एक साता पनि बितेको छैन। नगर विकास ऐनमा मेयर पोखरा उपत्यका नगर विकास समितिको अध्यक्ष हुने कानुनी व्यवस्था छ।

त्यसैगरी सदस्यहरुमा जिल्ला समन्वय समितिले तोकेको एक जना, प्रमुख जिल्ला अधिकारी वा तोकेको एक जना अधिकृत, मालपोत, नापी कार्यालयका प्रमुख वा निजले तोकेको एक जना अधिकृत र स्थानीय पालिकाको कार्यपालिकाबाट तोकिएका तीन सदस्यसहित स्थानीय विकासमा महत्वपूर्ण योगदान गर्नेमध्येबाट दुई जना सदस्य हुने व्यवस्था छ।

जिसीले प्रमुख जिल्ला अधिकारी, नापी, मालपोत र बन कार्यालयका प्रमुखलाई समेत जानकारी नदिई केही कर्मचारीलाई हात लिएर ठेक्का लगाएको खुलेको हो। जिसीले समितिमा रहेका अन्य सदस्यको सहमति बिना नै आफैँले मात्र हस्ताक्षर गरेर जग्गा ठेक्कामा लगाएका हुन्।

समितिको सदस्यसचिव रहेका महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्याल भने यस  विषयमा आफूलाई कुनै जानकारी नै नभएको बताउँछन्। 

जिसीले कार्यकालको अन्तिममा नगर विकास उपत्यका समितिका प्रशासकीय अधिकृत अशोक सुनारलाई आफ्नै सचिवालयमा सचिव बनाएका थिए। सुनारले नुनको सोझो गर्दै ठेक्का लगाइएको फाइल लामो समयसम्म गुपचुप पारेको स्रोतले बताएको छ।

महानगर स्रोतका अनुसार जिसीले जग्गा ठेक्का लगाएको घटना सार्वजनिक भएपछि मेयर धनराज र प्रमुख प्रशासकीय अधिकृत रिज्यालले सुनारलाई समितिको काम नगर्न निर्देशन दिई सबै फाइल महानगरमा झिकाइएको छ। 

सबै दललाई गुमराहमा राख्ने जिसीको योजना
वैशाख ३० मा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेकोले तत्कालीन मेयर जिसीको दिनगन्ती सुरु हुँदै थियो। निर्वाचनमा एमालेका उपमहासचिव पृथ्बीसुब्बा गुरुङ निकटका दीपक पौडेलले पाएको मेयरको टिकट सुन चोरी सम्बन्धी भिडियो सार्वजनिक भएपछि खोसेर संगठन विभाग प्रमुख खगराज अधिकारी निकट कृष्णबहादुर थापालाई दिइएको थियो।

गुरुङ निकट पौडेलले टिकट पाएलगत्तै अधिकारी गुटले वर्षौं पुरानो भिडियो सामाजिक सञ्जालमा भाइरल बनाएर खगराज निकट थापालाई टिकट दिएपछि पृथ्बीसुब्बा पक्ष क्रुद्ध बनेको थियो।

स्थानीय निर्वाचनमा पोखरा महानगरमा अधिकारी पक्षका थापालाई जुनसुकै हालतमा चुनाव हराउने योजनामा गुरुङ पक्ष लागेकाले जिसीले एमालेका उम्मेदवार पराजय हुने निश्चित भएपछि योजनाबद्ध रुपमा पार्टीकै निर्देशनमा अन्तिममा यो ठेक्का सम्झौता गरेको देखिन्छ।

मेयर जिसीले जग्गा ठेक्कामा लगाउने प्रक्रियामा सचिवालयमार्फत प्रशासकीय अधिकृत सुनारलाई हात लिएर गोप्य रुपमा ठेक्का लगाएको प्रष्ट देखिन्छ। यस प्रकरणमा अधिकृत सुनार आफूले अध्यक्षको निर्देशन अनुसार काम गरेको बताउँदै आएका छन्। 

जिसीले सबै दल निर्वाचनमा केन्द्रित भएको मौका छोपेर लामो समयदेखि प्रकाशन रोकिएको आदर्श नेपाल दैनिकसँग सेटिङ मिलाएर २६ चैतमा बोलपत्र आह्वानको विज्ञापन निकालेका थिए। त्यस दिन बोलपत्र प्रकाशन भएको पत्रिका जम्मा ३ वटामात्रै प्रकाशित भएको खुलेको छ। 

यस्तो छ जिसी र ठेकेदार कम्पनीको रकम सम्झौता
राष्ट्र बैंक चोकस्थित गल्फ कोर्स एक्सन बिल्डर्स प्रालिलाई २ लाख ७२ हजार रुपैयाँ मासिक भाडा उठाउने गरी ठेक्कामा दिइएको छ। बिल्डर्सका विष्णु भण्डारी र मेयर जिसीले ४० रोपनी जग्गा ठेक्कामा सम्झौता गरेका छन्। 

गल्फ कोर्स नजिकैको साढे सात करोड रुपैयाँमा निर्माणाधीन अवस्थामा रहेको पोखरा पर्यटन बसपार्क समेत ठेक्का लगाइएको छ। यो बसपार्कको निर्माण कार्य अझै नसकिएकाले महानगरको स्वामित्वमा आइसकेको छैन।

महानगरलाई हस्तान्तरण नै नभएको बसपार्क शिला शालिग्राम निर्माण सेवालाई मासिक २ लाख ७५ हजार रुपैयाँ मासिक भाडामा दिइएको छ। बसपार्क ठेक्का लिएको कम्पनीका तर्फबाट छविलाल कुँवर र समितिका तर्फबाट तत्कालीन मेयर जिसीले सम्झौतामा हस्ताक्षर गरेका छन्। 

गत सोमबार पोखराका पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले निर्माणको चरणमै रहेको पर्यटन बसपार्क लगायतका सार्वजनिक जग्गा ठेक्कामा लगाएको सूचना पाएपछि मेयर आचार्यलाई भेटेर जानकारी गराएका थिए। त्यसपछि मात्र घटना सार्वजनिक भएको हो।

पृथ्वीचोकस्थित यातायात व्यवस्था कार्यालयले सवारी ट्रायल सेन्टरको रुपमा प्रयोग गर्दै आएको ५ रोपनी जग्गा १० वर्षका लागि व्यावसायिक प्रयोजनका लागि ठेक्कामा लगाइएको छ। ठेक्कामा महानरका तर्फबाट जिसी र ठेकेदार कम्पनीको तर्फबाट गीरबहादुर पुनले १ लाख ३५ हजार रुपैयाँ वार्षिक तिर्ने गरी सम्झौता भएको छ। 

यसरी खुल्यो जिसीको पछिल्लो कर्तुत 
पोखरालाई स्मार्ट सिटी बनाउने, स्मार्ट कार्ड वितरण गर्ने, सडकमा सौर्य बत्ती जडान, ठाउँ-ठाउँमा सार्वजनिक सौचालय, पिउने पानीको व्यवस्था, व्यवस्थित पार्किङ, सिसी क्यामेरा जडान गर्ने योजना प्रमुखतामा थिए, मेयर जिसीका। तर पाँच वर्षको अवधिमा उनले पोखरेलीले राहत महसुस गर्ने कुनै पनि योजना बनाउनै सकेनन्। 

स्वच्छ छवि भएका इमान्दार नेताका रुपमा चिनिएका जिसी महानगरको मेयर बनेपछि विवादित बन्दै गए। सेती, डेभिड फल्स लगायत पोखरा क्षेत्रका ११ वटा प्राकृतिक सम्पदा ३५ वर्षका लागि सार्वजनिक-निजी साझेदारी (सानिसा) अन्तर्गत निजी ठेकेदार कम्पनीलाई दिने सम्झौता, फेवाताल संरक्षणका लागि मुहान क्षेत्रका हर्पन, खहरे, लौरुक र बेत्यायिनी खोलाको बाँझ, फेवातालको मापदण्ड घटाउने, घण्टे पार्किङ, महानगरमा करोडौंको बेरुजु लगायतका दर्जनौं विवादास्पद काममा संलग्न भएपछि जनस्तरमा उनको आलोचना हुँदै आयो।

आफ्नो पाँच वर्षे कार्यकालमा पोखरेलीले सम्झन लायक एउटा पनि काम गर्न नसकेका जिसीले कार्यकालको अन्तिममा आएर जग्गा ठेक्कामा लगाएपछि विवादमा तानिएका हुन्। जिसीले समितिको बैठकै नबोलाई गुपचुप रुपमा गरेको ठेक्का सम्झौता नवनिर्वाचित मेयर आएको ढेड महिनासम्म पनि पोखरा महानगरका कर्मचारीको मिलेमतोमा गोप्य नै राखेका थिए। 

गत सोमबार पोखराका पर्यटन परिषदका अध्यक्ष गोपीबहादुर भट्टराईले निर्माणको चरणमै रहेको पर्यटन बसपार्क लगायतका सार्वजनिक जग्गा ठेक्कामा लगाएको सूचना पाएपछि मेयर आचार्यलाई भेटेर जानकारी गराएका थिए। त्यसपछि मात्र घटना सार्वजनिक भएको हो।

अध्यक्ष भट्टराई सोमबार राष्ट्र बैंक चोकस्थित पर्यटक बसपार्क पोखरा उपत्यका नगर विकास समितिले निजी क्षेत्रलाई दिएको थाहा पाएलगत्तै केही पर्यटन व्यवसायीसहित मेयर आचार्यलाई भेट्न महानगरको कार्यालय पुगेका थिए।

सूचना पाएपछि सोधखोज गर्दा मेयर आचार्यले जिसीले कार्यकाल सकिनुभन्दा दुई दिन अगाडि सार्वजनिक जग्गा भाडामा दिने ठेक्का सम्झौता गरेको फेला पारेका थिए।

२३ असार, २०७९, ०७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।