गठबन्धनको छायामा समाजवादीको निर्णय, चार मन्त्री फिर्ता बोलाउने नेपालको प्रयास १६ दिनदेखि असफल

गठबन्धनको छायामा समाजवादीको निर्णय, चार मन्त्री फिर्ता बोलाउने नेपालको प्रयास १६ दिनदेखि असफल

काठमाडौं : एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल आफ्ना चार जना मन्त्री फिर्ता बोलाउने निर्णय कार्यान्वयन गराउन १६ दिनदेखि असफल भएका छन्।

समाजवादीको सचिवालय बैठकले गत जेठ २२ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री विरोध खतिवडा, संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आले, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठ र सहरी विकास मन्त्री रामकुमारी झाँक्रीलाई फिर्ता बोलाउने निर्णय गरेको थियो।

पार्टीको निर्णय कार्यान्वयन गराउन नेता/कार्यकर्ताको दबाब छ। अध्यक्ष नेपाल आफ्ना नेता/कार्यकर्ताको माग सत्ता-गठबन्धनको बैठकमा राख्छन्। तर गठबन्धनका नेताहरु उनको कुरा सन्दैनन्।

‘सत्ता गठबन्धनले ‘कोटी-कोटी एकै चोटी’ को नीति लिँदा समाजवादीको प्रक्रियागत निर्णय कार्यान्वयन हुन सकेको छैन। कांग्रेस, माओवादी लगायतका दलमा पनि मन्त्री फेरबदलको कुरा चलिरहेको छ। मन्त्रिमण्डल दिनैपिच्छे परिवर्तन गर्ने होइन। एकै पटक गरौं भनेर रोकिएको हो,’ बालुवाटार स्रोतले उकेरासँग भन्यो, ‘अन्य दलमा मन्त्री परिवर्तन नहुने हो भने एकीकृत समाजवादीको निर्णय छिट्टै कार्यान्वयनमा आउँछ। नत्र पर्खनुपर्छ।’ 

एकीकृत समाजवादीले जीवनराम श्रेष्ठलाई पर्यटन, शेरबहादुर कुँवरलाई श्रम, भवानी खापुङलाई स्वास्थ्य र मेटमणि चौधरीलाई सहरी विकास मन्त्री बनाउनका लागि २२ गते नै प्रधानमन्त्री शेरबहादुर देउवालाई पत्र बुझाएको थियो। आइतबारको सत्ता गठबन्धनको बैठकमा पनि एकीकृत समाजवादीले कुरा उठाएको थियो। 

‘उहाँहरुले नाम सार्वजनिक गर्नुभयो, बैठकमा छिटो गरौं भन्नुहुन्छ, तर अन्य दलको निर्णय कुर्दा ढिला भयो,’ बालुबाटार स्रोतले भन्यो।  

आइतबार सम्पादकहरुसँग एकीकृत समाजवादीका अध्यक्ष नेपालले नाम पठाएकाहरुलाई नियुक्ति गर्न ढिलाइ भइरहेको भन्दै १/२ दिनमात्रै पर्खने बताए। 

अध्यक्ष नेपाललाई प्रधानमन्त्री देउवाले पार्टीको निर्णय कार्यान्वयन गर्ने वचन दिएका छन्। ‘नयाँ पठाउने कुराका सन्दर्भमा ढिला भइरहेको छ। खासगरी प्रधानमन्त्री र माओवादीका साथीले हाम्रो भित्र पनि त्यस्ता माग आइरहेकाले केही दिन पर्खिदिनुपर्यो भनेको हुनाले एक दुई दिन पर्खिने कुरा हुन्छ,’ नेपालले भने। 

पार्टीको निर्णय कार्यान्वयन गर्ने विषयमा पार्टीभित्र के भइरहेको छ भन्ने विषयमा मन्त्रीको लागि सिफारिस भएका सांसद मेटमणि चौधरी भन्छन्, ‘बालुवाटारलाई सोध्नुपर्छ।’ 

सचिवालयले निर्णय गरेर स्थायी कमिटीले अनुमोदन गरेको, नेताहरुले प्रधानमन्त्रीलाई पटक-पटक भनेको चौधरीले बताए। ‘किन कार्यान्वयन भएन भन्ने कुरा बालुवाटार बाहेक कसैलाई थाहा छैन,’ सांसद चौधरीले भने। 

पार्टीभित्र भविष्य छ भनेर विश्वास गर्ने केन्द्रीय नेतृत्व कम रहेको राजनीतिक विश्लेषक डा. सञ्जीव हुमागाईं बताउँछन्। उहाँ (माधव नेपाल) ले कार्ड फाल्नुभयो। चुनावी समीक्षा गर्दा मन्त्रिपरिषद् फेर्दा रिफ्रेसमेन्ट हुन्छ, भनेर पार्टीलाई केन्द्रबिन्दुमा राखेर कदम चाल्नुभयो। त्यो भ्राइबेसन पार्टीभित्र रहेन,’ हुमागाईंले उकेरासँग भने।

कांग्रेसभित्र पनि गृहमन्त्री बालकृष्ण खाँणलाई परिवर्तन गरेर उनको ठाउँमा उपसभापति पूर्णबहादुर खड्कालाई पठाउने गृहकार्य चलिरहेको कांग्रेसकका एक केन्द्रीय सदस्यले जानकारी दिए। तर औपचारिक रुपमा भने यो विषय सार्वजनिक गर्न कांग्रेसले चाहेको छैन।

‘सरकारका मन्त्रीहरु हेरफेरका केही कुरा भएका छैनन्,’ कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले भने। 

माओवादीभित्र पनि बजेटको विवादमा आएपछि अर्थमन्त्री जनार्दन शर्मालाई फिर्ता बोलाउनुपर्ने दबाब अध्यक्ष पुष्पकमल दाहालमाथि छ।

पार्टीभत्र पदाधिकारी व्यवस्थापनको दबाब बढ्दा समेत अर्थमन्त्रीमा वर्षमान पुन पठाएर शर्मालाई पार्टी भूमिकामा सक्रिय बनाउने अभ्यास अध्यक्ष प्रचण्डले महाधिवेश लगत्तै गरेका थिए। शर्मा गुटको प्रभाव र पुनको स्वास्थ्यले गर्दा त्यो योजना असफल भएको थियो।

८ असार, २०७९, ०६:५८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।