आफ्नै गल्तीले रक्षात्मक बन्यो गठबन्धन, कमजोरीमा खेल्दै एमाले भयो आक्रामक

आफ्नै गल्तीले रक्षात्मक बन्यो गठबन्धन, कमजोरीमा खेल्दै एमाले भयो आक्रामक

काठमाडौँ : स्थानीय तह निर्वाचनको माहौल बनाउन चितवनको भरतपुरमा पाँच दलीय गठबन्धनले गरेको सभाले भोट बढाउने भन्दा घटाउने काम गर्यो। कारण थियो सत्ता गठबन्धनका २ दलका प्रमुखको आक्रोशपूर्ण अभिव्यक्ति।

पाँच दलीय गठबन्धनबिच महानगर र उपमहानगरपालिकाको भागबन्डा हुनु अगाडि नै भरतपुर केन्द्रीय विवादमा थियो। अघिल्लो निर्वाचनमा माओवादी केन्द्रलाई दिएकाले यो पाली नेतृत्व कांग्रेसले लिनुपर्ने पक्षमा थिए स्थानीय नेता।

तर कांग्रेस सभापति शेरबहादुर देउवाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई मनाउन सकेनन्। मेयर माओवादीकै भागमा पर्यो। उम्मेदवार रेनु दाहालभन्दा अन्य भएको भए कांग्रेस समर्थकको मन थामिन सक्थ्यो। तर रेनु नै दोहोरिँदा प्रचण्डले छोरीकै लागि जोडबल गरेको सन्देश गयो।

कांग्रेसका परिचित अनुहार जगन्नाथ पौडेल स्वतन्त्र उम्मेदवार बनेपछि तनावमा आए प्रचण्ड। उनलाई उम्मेदवारी फिर्ता गराउने कांग्रेसको सबै प्रयास असफल भएपछि त्यसको प्रभाव पर्यो भरतपुर सभामा।

प्रचण्डले भरतपुरका कांग्रेस समर्थकले माओवादीको चुनाव चिन्ह हँसिया हथौडामा भोट नहाले देश दुर्घटनामा पर्ने बताए। उनले उम्मेदवारको पक्षमा अभिव्यक्ति दिए पनि उनको बोलीको अर्थ' मेरी छोरीले नजिते देश दुर्घटनामा पर्छ' भन्ने अर्थ लाग्यो। जसको आलोचना अहिलेसम्म भइरहेको छ।

त्यस्तै गल्ती गरे कांग्रेस सभापति देउवाले पनि। जगन्नाथको पक्षमा माहौल बढ्दै गए त्यसको प्रभाव मेयरको नतिजामा पर्ने निश्चित थियो। उनले भरतपुरमा गठबन्धनले नजिते कांग्रेस बर्बाद हुने मात्र दाबी गरेनन् रेनुलाई उम्मेदवार बनाउन आफैँले भनेको अपत्यारिलो तर्क समेत गरे। तर यसले कांग्रेस मतदातामाझ सकारात्मक प्रभाव परेन। नकारात्मक सन्देश गयो।

गठबन्धनले विभिन्न स्थानमा सभा गरेसँगै प्रतिपक्षी एमालेले पनि सभाको गति बढायो। भरतपुरमा गरेको गल्ती सच्याउन आइतबारसम्म गठबन्धन दलका नेताहरू स्पष्टिकरणदिँदै हिँडिरहेका छन्। उता एमाले अध्यक्ष केपी ओली लगायतका नेताहरू आक्रामक रूपमा आक्रमण गर्दै हिँडिरहेका छन्।

गठबन्धनले जहाँ सभाको आयोजना गर्यो एमालेले आइतबार त्यही सभा गरेर उनीहरूको कमजोरीमाथि प्रहार गर्यो। गठबन्धन दलका शीर्ष नेताहरूले जे आरोप लगाइरहेका छन् त्यसको खण्डनसँगै ‌ओली गठबन्धन दलका शीर्ष नेतासँगै प्रधानमन्त्री पत्नी आरजु राणाको कमजोरीलाई समेत मज्जाले चुनावी एजेन्डा बनाउन सफल भइरहेको छ। गठबन्धनको समय खण्डनमै बितिरहेको छ।

भरतपुरमा प्रचण्डले ‘यदि गठबन्धनलाई भोट हाल्नु भयो भने म उत्साहित भएर यो गठबन्धनलाई १०–१५–२० वर्षसम्म लैजान्छु। अब प्रचण्डलाई टेन्सन दिऊँ न भन्नुभयो भने दुर्घटना हुनसक्छ’ भनेका थिए।

त्यसलाई आइतबार ओलीले २० वर्षसम्म चितवनका कांग्रेस समर्थकले आफ्नो पार्टीको चुनाव चिन्हमा भोटै हाल्न नपाउने गरी अर्थ्याए। भरतपुर मेयरमा रेनु उम्मेदवार बनेकी छिन्।

संसदीय निर्वाचनमा चितवनबाटै प्रचण्ड उम्मेदवार बन्ने सम्भावना छ नै। यसैलाई आधार बनाएर ओलीले चितवनमा कांग्रेसीहरुलाई पिर बिसाउने ठाउँ पनि नभएको भन्दै निर्मम व्यङ्ग्य गरे।

रेनुको पराजय हुनु भनेको संसदीय निर्वाचनमा प्रचण्डका लागि पनि खतराको सङ्केत हो नै। यस्तो अवस्थामा कि निर्वाचन क्षेत्र सार्ने वा अर्को गठबन्धन गर्ने विकल्पमा प्रचण्ड जान सक्छन्। त्यो भनेको अहिलेको गठबन्धन भत्कनु हो। अहिलेको गठबन्धन भत्कनु भनेको सरकार बनाउन नसक्नुको रूपमा देउवाले बुझेका छन्। त्यसैले उनी पनि भरतपुरमा रेनुलाई जिताउन जे गर्न सकिन्छ गर्न तयार देखिन्छन्। त्यसैको सङ्केत हो उनले भरतपुर आफ्नै पार्टीको भागमा पार्न असफल भए पनि अहिले आफैँले रेनुलाई टिकट दिएको दाबी गर्नु।

भरतपुरको सभाको तरङ्गले पाँच दलका शीर्ष नेतालाई मात्र तनाव दिएको छैन उम्मेदवार पनि तनावमा परेका छन्। त्यसैले त उम्मेदवारहरू समेत अहिले प्रचण्डले भन्न खोजेको के हो भनेर व्याख्या गर्नतिर लागेका छन्।

रेनु प्रचण्डको अभिव्यक्तिलाई गलत अर्थ लगाइएको दाबी गर्छिन्। उनी गठबन्धन हार्नु भनेको ओलीको उदय हुनु हो र ओलीको उदय हुनु भनेको प्रतिगमनको खतरा बढ्नु हो भन्ने अर्थमा प्रचण्डको भनाइको व्याख्या गर्छिन्। उनले  प्रेमपूर्ण भावनालाई ट्विस्ट गरेर अपव्याख्या गरेको दाबी समेत गरिन्।

‘उहाँले सकारात्मक सोचका साथ भन्न खोज्नुभएको हो। जुन मर्म र भावना अनुसार यो गठबन्धन बनेको हो, शान्ति र संविधानको रक्षाका लागि देश दुर्घटनामा जान खोज्दै थियो, केपी ओलीको प्रतिगमनका कारणले गर्दा,' उनले भनिन्' प्राप्त उपलब्धिको रक्षाको लागि गठबन्धन हो। यो मर्म र भावना अनुसार बनेको छ दायाँबायाँ भयो भने देश दुर्घटनामा जान्छ है भनेर सचेत गराउनुभएको हो।'

प्रचण्डले पनि पाँच दलीय गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गर्दा नकारात्मक ढङ्गले प्रचार गरिएको गुनासो गरिरहेका छन्। दाङ पुगेर उनले चितवन र काठमाडौँमा राखेको अभिव्यक्तिको नकारात्मक ढङ्गले प्रचार गरिएको गुनासो गरे।

‘कतिपय मिडियाले जनतालाई धम्क्यायो, गठबन्धनलाई जिताएन भने दुर्घटना हुन्छ भन्यो भनेर चर्चा-परिचर्चा गरेको तपाईँहरूले सुन्नुभएको होला। हामीले भनेको कुरा यत्ति हो कि यो गठबन्धन ठुलो प्रतिगामी षडयन्त्र, एउटा निकै ठुलो लोकतन्त्र विरोधी षडयन्त्रलाई परास्त गर्ने क्रममा जन्मिएको हो,’ प्रचण्डले भने, ‘यो निर्वाचनबाट पनि त्यो षडयन्त्र परास्त गर्न जरुरी छ। र, त्यो षडयन्त्र परास्त गर्न नेपाली जनतालाई अपिल गरेँ। गठबन्धनका उम्मेदवारलाई विजयी बनाएर मात्रै हामी प्रतिक्रान्ति र प्रतिगमनको षडयन्त्रलाई परास्त गर्न सकिन्छ। त्यो भनाइलाई छोरी जिताउनका लागि भन्यो भनियो।’

आइतबार चितवनको क्याम्पाचौरमा एमालेले चुनावी सभामा १५ मिनेट बोल्छु भन्दै २५ मिनेट बोलेका ओलीले प्रचण्डदेखि आरजु राणासम्मलाई जवाफ दिए।

उनले धम्क्याउने र तर्साउनेलाई मत नदिनु भन्दै भने ‘धम्क्याउने र तर्साउनेहरूलाई मत नदिनू, चिसै पानीले नुहाउँछन्।'

ओलीले इमोशनल ब्ल्यकमेलिङको शैलीमा कांग्रेका असन्तुष्ट कार्यकर्तालाई एमालेमा निम्तो दिँदै भने ‘मन रोएको छ यस्तो बेला। तपाई देश बनाउने अभियानमा लाग्नुस्। आउनुस् चुनावमा मिले चुनावमा आउनुस्, मतदाता मिलेर आउनुस्।’

ओलीले ‘पोहोर पनि ढाँट्यौ आमा, यसपालि नि ढाँट्यौ..., भन्ने गीत जस्तो भयो यहाँका कांग्रेस कार्यकर्ताको अवस्था भन्दै भने, ’पाँच वर्षअघि पनि जिताए, अहिले पनि आफ्नो पार्टीमा भोट हाल्न पाउँदैनन्।’

कांग्रेसका कार्यकर्ताको  मन फर्किएर रेनुतिर आउँदाको जोखिम उनले बुझेका छन्। कांग्रेस समर्थकको मत एमालेको पक्षमा आए जित सहज हुनसक्छ। कि पौडेलको पक्षमा जानु उसको लागि सुरक्षित हुनसक्छ। रेनुको पक्षमा जानु भनेको सकारात्मक हैन भन्ने ओलीले नबुझ्ने कुरै भए। त्यसैले मेयरमा रुखमा मत हाल्न चाहने मतदातालाई बिच्काउन उनले हर सम्भव प्रयास गरे।

उनले प्रचण्डका छोराछोरी बोक्दैमा कांग्रेस कार्यकर्ताको जीवन जाने अवस्था आएको भन्दै पार्टीले बनाइदिएको घाउमा नुनचुक दल्ने प्रयास गर्दै भने'कांग्रेसका कार्यकर्ताको हालत छोरी बोक, ज्वाइँ बोक, भाइ बोक भाइ नभए भतिज बोक। बोक्न तयार नभए नत्र...।’

उनले चितवनका कांग्रेस कार्यकर्ताको हालत सम्झेर प्रकाश सपूतको गीत गाए' यहाँका कांग्रेस कार्यकर्ताको अवस्था प्रकाश सपूतको गीत जस्तै पिर बिसाउने ठाउँ पाएका छैनन्।’

उता बुटवलको सभामा उनी कांग्रेसका कार्यकर्ताप्रति त्यति नरम थिएनन् जति चितवनमा देखिएका थिए। उनले बुटवलको सभामा गठबन्धनको आलोचनामा धेरै समय खर्चिए। गठबन्धनलाई अलच्छिन भन्न भ्याए।

‘देशभरि नै विकास निर्माणका कामहरूमा एमालेको सरकारले पैसा छैन भनेन,’ तर यो गठबन्धन आयो पैसा छैन भन्न थाल्यो, कस्तो अलच्छिन पस्यो देशमा। देशमै अलच्छिन पस्यो।’

सत्ता गठबन्धनसँगै एमालेले पनि स्थान अनुसार राप्रपा, राप्रपा नेपाल अनि नेपाल परिवार दलसँग गठबन्धन गरेकै छ। भरतपुरमा पनि एमाले र राप्रपाबिच गठबन्धन छ। राप्रपा नेपाल र नेपाल परिवार दल जसको राष्ट्रिय प्रभाव छैन उनीहरूसँग लिखित सहमति गरेकै हो।

काठमाडौँमा एमालेबाट मेयरका उम्मेदवार बनेका केशव स्थापित यौन दुर्व्यवहारको गम्भीर विवादमा परेका छन्। तर गठबन्धनले यसलाई चुनावी विषय बनाउन सकेको छैन। उ अहिले पनि आफ्नै कार्यकर्तालाई फकाउनैमा व्यस्त छ। त्यसैले प्रतिपक्षी दल आक्रामक रूपमा अगाडि बढ्दा पनि गठबन्धनका नेताहरू भने आफ्ना गल्ती सच्याउन अनि एक अर्काको दलको मतदातामाझ रहेको ' म कांग्रेस अनि म माओवादी भन्ने कट्टरता हटाएर जुनसुकै दलका समर्थकले जुनसुकै दलका उम्मेदवारलाई भोट हाल्न सक्ने अवस्था बनाउन लागिपरेका छन्।

प्रभाव एमालेको आक्रमणको पर्यो या आफ्नै कारण सुरक्षात्मक बन्न पुगेको गठबन्धनमा पर्यो त्यसको नतिजा देखिने त वैशाख ३० पछि नै हो।

२५ बैशाख, २०७९, २२:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।