सत्ता गठबन्धन सभाको यो तस्बिर देखे ओलीले के भन्लान् !

सत्ता गठबन्धन  सभाको यो तस्बिर देखे ओलीले के भन्लान् !

काठमाडौँ : चुनावी सभाको म्याराथनमा निस्किएको सत्ताधारी पाँच दलीय गठबन्धनले शुक्रवार नेपाली कांग्रेसले नेतृत्वको प्रयास गरिरहेको काठमाडौँ महानगरपालिका केन्द्रित भयो। यस अगाडि बिहीबार माओवादी केन्द्रले नेतृत्व दाबी गरेको चितवनमा सभा गरेर आएका नेता शुक्रवार शान्ति बाटिकामा भेला भएका थिए।

कार्यक्रम तय भए पनि समय भने तय हुन सकेको थिएन। माओवादीका केन्द्रीय कार्यालयका मुख्य सचिव श्रीराम ढकाललाई बिहान आठ बजेसम्म स्थान र समय समेत थाहै थिएन। १ बजे हो कि भन्ने जवाफकैविच ३ बजेबाट सुरु भएको सभाका वक्ताहरू भने बिहीबार भरतपुरमा होस् नपुर्याउँदा फुत्किएको बोलीबाट भएको घाटा पुरा गर्ने शैलीमा देखिए। अर्को समस्या पाँच दलको भनिएको सभामा एक दलको भन्दा कम कार्यकर्ता सहभागी थिए। पाँच दलको काठमाडौंको सहभागीभन्दा एमालेको रौतहटको भेेलामा बढी सहभागी थिए।

काठमाडौँमा आयोजित सभा काठमाडौँको समस्या र उनीहरूको अजेण्डा केन्द्रित हुनुपर्नेमा भरतपुरमा किन रेनु दाहाललाई भोट हाल्ने भन्नेमा बढी केन्द्रित भयो। गठबन्धनका नेताहरू चुनावी अजेण्डामा भन्दा बढी गठबन्धन किन अनि एक पार्टीको मतदाताले किन अर्को पार्टीको चुनाव चिन्हमा भोट हाल्ने भन्ने सम्झाउनैमा केन्द्रित भए।

उनीहरूले महिला उम्मेदवारको महत्त्वमा धेरै नै केन्द्रित भए। तर गठबन्धन गरेर निर्वाचनमा जाँदा यस पटक २०७४ को तुलनामा कम महिला उम्मेदवार बनेको तथ्य बिर्सिए। उनीहरूको सम्बोधनको शैली भरतपुरमा रेनु दाहाल अनि काठमाडौँमा सिर्जना सिंहले जित्दा नेपालमा महिला क्रान्ति नै हुन्छ झैँ सुनियो।

उता भरतपुर महानगरपालिकामा मेयर उम्मेदवार बनेकी रेनु पुष्पकमल दाहाल प्रचण्डकी छोरी। यता काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेकी सिर्जना सिंह प्रकाशमान सिंहको श्रीमती। भरतपुरको सभा मत नदिए देशै दुर्घटनामा पर्ने अनि काङ्ग्रेसै डुब्ने भन्दै आ-आफ्ना मतदाता तर्साउन उपयोग गरेका नेता काठमाडौँमा पारिवारिक सम्बन्धका आधारमा उम्मेदवार नबनाई क्षमताको आधारमा उम्मेदवार बनाएको भन्ने स्पष्टीकरणमै बिताए।

शीर्ष तहका नेताले सम्बोधन गर्ने सभालाई उनीहरूले उपत्यका केन्द्रित बनाउन सकेनन्। कमसेकम काठमाडौँ, ललितपुर अनि भक्तपुरमा गठबन्धनको तर्फबाट पालिकामा उम्मेदवारहरूका लागि मत माग्ने साझा थलो बन्न सक्थ्यो शुक्रवारको सभा। सहभागी पनि बढ्थे। चुनावी सभा कोण सभाको आकारमा खुम्चदैनथ्यो। तर उनीहरू केवल महानगर मात्रै केन्द्रित भए।

कांग्रेस सभापति शेरबहादुर देउवा सिर्जनाभन्दा बढी रेनुमै केन्द्रित भए। आफ्नी छोरीको राजनीतिक भविष्यका लागि प्रचण्डले कांग्रेसलाई धम्क्याएर भरतपुर आफ्नो पार्टीलाई पारेको आरोप लाग्दै आएको छ। त्यसलाई गलत प्रमाणित गर्न देउवाले प्रचण्डले अर्कैलाई टिकट दिन खोज्दै आफैँले रेनुलाई दिनु भनेको दाबी गरे।

 ‘रेनुलाई टिकट नदिऊँ भन्दै हुनुहुन्थ्यो प्रचण्डजी त। तर मैले राम्रो काम गरेकोलाई किन हटाउने भनेर मेरै करकापले टिकट पाएकी हुन्,’ देउवाको दाबी थियो।

उनले काठमाडौँ महानगरपालिकाको मेयरमा सिर्जनालाई उम्मेदवार बनाउने निर्णय प्रकाशमान सिंहको नभई आफ्नो भएको समेत दबी गरे। सिर्जनालाई मेयरको टिकट दिने भन्दा प्रकाशमान डराएको उनको दाबी थियो।

‘काठमाडौँमा सिर्जना सिंहलाई हरायो भने दुनियाँले के भन्छ? चितवनमा रेनु दाहाललाई हरायो भने विश्वले के भन्छन्? त्यसैले सबै मिलेर उनीहरूलाई जिताउनुपर्छ,’ देउवाले भने, ‘अब सिर्जनाका आमा-बुबाले बिहे गरेर प्रकाशमानको घरमा पठाइदिए त के गरुन् बिचरीले। प्रकाशमानको श्रीमतीलाई मेयरको टिकट दियो भने बखेडा झिकेर हुन्छ?’

प्रचण्ड २०७४ को स्थानीय तहमा कांग्रेससँग अनि प्रदेश र केन्द्रको निर्वाचनमा एमालेसँग गठबन्धन गर्दा कांग्रेसका मतदातामा बढेको अविश्वास चिर्ने प्रयासमा लागे शुक्रवार। उनले कांग्रेसका मतदातालाई कम्युनिस्टको चिन्हमा मत हाल्न अनि कम्युनिस्टको मतदातालाई कांग्रेसको चुनाव चिन्हमा मत हाल्न गाह्रो भएको देखेर बाम गठबन्धनमा लाग्दा धोका खाएको भन्दै अब त्यस्तो नहुने वाचा समेत गरे। अनि उनी रेनु अनि सिर्जनाको पक्षमा बोले।

‘हुन त यी दुई वटा मेयरका प्रत्याशीका बारेमा एक थरी मान्छेहरूले नकारात्मक प्रचार नभएको होइन,’ प्रचण्डले भने, ‘कसैलाई छोरीको रूपमा वा श्रीमतीको रूपमा प्रचार गरेर महिलालाई अपमानित र अवमूल्यन गर्ने कोसिस भइरहेको छ।’

उनले अहिलेको गठबन्धन प्रतिगमनको विरुद्धमा भएकाले पाँच दलका समर्थकले एक अर्काको चुनाव चिन्हमा मत हाल्नै पर्ने भन्दै भने ‘रूखवालाले गर्वका साथ हँसिया हथौडा र हँसिया हथौडावालले गर्वका साथ रुखमा छाप हान्न सक्नैपर्छ।’

एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल घुमाउरो पारामा बागी उम्मेदवारलाई सम्बन्धित पार्टीले कारबाही नगरे गठबन्धन सङ्कटमा पर्ने बताए। उनी सदाझैँ स्थानीय विषय भन्दा एमाले अध्यक्ष केपी शर्मा ओलीको आलोचनामा बढी केन्द्रित भएका थिए। उनले एमालेबाट काठमाडौँको मेयरका उम्मेदवार केशव स्थापितको नाम नलिई व्यङ्ग्य गरेका थिए।

‘कतिपय उम्मेदवारहरू गफ हान्न सिपालु छन्। काम गर्न भिजन चाहिन्छ। इमान चाहिन्छ। सङ्कल्प चाहिन्छ। गफै गफैले जनतालाई मूर्ख बनाऊन सकिन्छ भनेर कसैलाई लागेको हो भने त्यो सम्भव छैन,’ उनले भने।

सभाका अन्य दलका नेताहरू पनि स्थानीय समस्या र पार्टीको योजनाभन्दा राष्ट्रिय राजनीति अनि गठबन्धनको औचित्य पुष्टिमै केन्द्रित भएका थिए। उनीहरूले एक दलको मतदाताले अर्को दलको उम्मेदवारलाई मत हाल्न हिच्किचाउन नहुने भन्दै काठमाडौँका मतदातालाई रिझाउने प्रयास गरिरहेका थिए।

भरतपुरको सभाको तुलनामा काठमाडौँको सभामा नेताहरू कम आक्रामक भएकाले सामाजिक सञ्जालमा त्यति धेरै आलोचना भने भएन। तर उनीहरूले रेनु र सिर्जनाको उम्मेदवारीबारे जे जस्ता तर्क गरे त्यसमा कन्भिन्स भइहाल्ने अवस्था पनि देखिएन।

उनीहरूले महिलाको नेतृत्वको दाबी गरिरहे पटक-पटक। तर कुल महिला उम्मेदवार चयनमा पाँच दलीय गठबन्धन चुकेको हेक्का राखेनन्। सभामा नेपाली कांग्रेसको इतर समूहका नेताहरू मञ्चमा नहुँदा भरतपुरमा जस्तै काठमाडौँमा पनि काङ्ग्रेसभित्र गठबन्धनको विषयमा एकै मत नरहेको सन्देश गयो नै।

त्यसमा देउवाले महाधिवेशन र केन्द्रीय समितिले गठबन्धन गर्न अनुमति दिएर अहिले विरोध गर्ने भन्ने भनाइले अझैँ गठबन्धनबारे काङ्ग्रेसभित्रै समस्या रहेको देखायो नै। अनि सभामा सहभागीहरूको सङ्ख्याले नै काठमाडौँमा सत्ता  गठबन्धनका कार्यकर्ताबिच कतिको सहकार्य छ भन्ने देखियो नै।

२३ बैशाख, २०७९, २०:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।