भरतपुरका कांग्रेसी मतदाता फक्किए कि तर्सिए !

भरतपुरका कांग्रेसी मतदाता फक्किए कि तर्सिए !

काठमाडौँ : हँसिया हथौडामा भोट हाल्नुपर्यो माओवादीले हात काटिदिएको छ त्यही हातले माओवादीलाई कसरी भोट हाल्ने  भन्ने चितवन कांग्रेसका निवर्तमान सभापति जितनारायण श्रेष्ठले बिहीबार मञ्चमा उभिएर माओवादी नेतृ रेनु दाहालको पक्षमा भोट मागे।

उनले भने ‘हरेका कांग्रेसका नेता-कार्यकर्ताहरू यो गठबन्धनलाई विजयी गराउने सङ्कल्प म यही मञ्चबाट गर्न चाहन्छु। भरतपुर महानगरको प्रमुखमा रेनु दाहाललगायत सिङ्गो गठबन्धनलाई हामी जिताउँछौ।'

उनको पुरानो र बिहीबारको भाषण जोडेर अहिले सामाजिक सञ्जालमा आलोचना भइरहेको छ। नेता हुने गुण भन्दै उडाइरहेका छन् सञ्जालका प्रयोगकर्ताहरू।

तल्लो तहमा कांग्रेसी कार्यकर्ताले महानगरको प्रमुखमा पालो दिनुपर्ने भन्दै काङ्ग्रेसबाहेक अरूलाई मत नहाल्ने केन्द्रमा दिएको सन्देश अटेर भएपछि चितवनमा विद्रोह भयो। अहिले पुराना कांग्रेसी नेता जगन्नाथ पौडेल भुइँकटर चिन्ह लिएर निर्वाचनमा छन्।

भरतपुरको सभालाई सम्बोधन गर्न गएका कांग्रेस सभापति तथा प्रधानमन्त्री अनि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भेटेरै उनलाई फकाउने प्रयास नगरेका हैनन्। तर भेट्नै आएनन्। उनले रामचन्द्र पौडेललाई भेटेर बरु रेनुले उम्मेदवारी फिर्ता लिए राम्रो भन्ने सन्देश छाडेर गए।

नेता  श्रेष्ठ पनि पौडेलकै लाइनमा थिए। तर उनी बदलिए। उनले मञ्चबाट प्रचण्डलाई आफ्नो पार्टीको सभापति सोझो भएको भन्दै ढाँट्ने काम नगर्न अनुरोध गर्दै रेनुलाई भोट मागिदिए।

२०७४ को स्थानीय तह निर्वाचनमा काङ्ग्रेससँग गठबन्धन गरेको माओवादीले प्रदेश र प्रतिनिधि सभाको चुनावमा भने एमालेसँग गठबन्धन गरेको थियो। त्यसैले होला श्रेष्ठले भने' ‘हाम्रो पार्टीको सोझो सभापति जे बोल्नुहुन्छ त्यही गर्नुहुन्छ। भोलिको दिनमा हिजोजस्तो ढाँट्ने, धोका दिने काम नहोस्। पाँच वर्षअघि जे प्रतिबद्धता यहाँ भएको थियो, तीन महिनापछि टुट्यो। अहिले त्यस्तै नहोस्।’

जसरी पनि छोरी जिताउन लागिपरेका प्रचण्डले त्यो गल्ती स्विकार्दै एमालेसँग गठबन्धन गरेकाले कांग्रेसको भोट ट्रन्सफर गर्न गाह्रो भएको बताए। उनले एमाले अध्यक्ष केपी ओलीले अहिले पनि गठबन्धनको प्रस्ताव राखिराखेको तर अब गल्ती नगर्ने दाबी गरे।

चितवनका अधिकांश कांग्रेसका नेता सभामा उपस्थित भए पनि शीर्ष नेताहरू त्यति ढुक्क भने हुन सकेको देखिएन भरतपुरको मामिलामा। त्यसैले त केही नेताले कांग्रेसी कार्यकर्ता फकाउने प्रयास गरे। केहीले धम्क्याउने। कांग्रेस नेता श्रेष्ठको बदलिएको बोली जसरी सामाजिक सञ्जालमा भाइरल भइरहेको छ त्यसरी नै छोरी रेनु हारे देश दुर्घटनामा पर्ने प्रचण्डको धम्की पनि भाइरलसँगै आलोचित भइरहेको सञ्जालमा।

‘लाल सलाम र जय नेपालको अभिवादन,’ भन्दै सम्बोधन सुरु गरेका माओवादी अध्यक्ष प्रचण्डले चुनावी सभामा ०७४ को स्थानीय तह निर्वाचनमा कांग्रेसको मत माओवादीलाई नपरेपछि आफूले बाध्य भएर एमालेसँग प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा गठबन्धन गरेको तर्क गरेका थिए।

 ‘शेरबहादुरजी र मेरो बिचमा गठबन्धन १०–१५ वर्षसम्मै लैजाने छलफल भएको थियो। तर सहज देखिएन। सहज नदेखिएको चितवन पनि हो। त्यसले बडो चिन्तित तुल्यायो,’ उनले दाबी गरे, ‘लुकाएर छिपाएर ढाँटेर गएको होइन। भोट ट्रान्सफर भएन। चितवनका जनताले भोट हाल्न साह्रै गाह्रो माने भनेर शेरबहादुरजीलाई भनेरै अर्को गठबन्धनमा गएको हुँ।’

जबकि त्यो गठबन्धन एकल कम्युनिस्ट पार्टी बनाउने रणनीति अनुसार भएको थियो। पछि भयो पनि त्यही। वाचा अनुसार निर्वाचनपछि नेकपा त बन्यो तर लामो समय सहकार्य चलेन र अदालतको आदेशमा दुवै दल पुरानै अवस्थामा फर्किएको धेरै समय भएको छैन।

उनले बिहीबार भरतपुरमा रेनुले जितेमा सत्ता गठबन्धन लामो समय चल्ने वाचा गरेका थिए। ‘भरतपुरमा रेनु दाहाल र चित्रसेन अधिकारीलाई जिताउनुभयो भने यो गठबन्धनलाई १०–१५-२० वर्ष लाने मेरो प्रतिबद्धता भयो,’ उनले दाबी गरे।

उनले यति भन्दा पनि कांग्रेसी मतदाताले आफ्नी छोरीलाई मत नहाल्नेमा भने शङ्का थियो। त्यसैले फकाउने भाषा छाडेर उनी मञ्चबाट धम्क्याउनतिर लागे। चितवन कांग्रेस कार्यकर्ताहरूले नेकपा माओवादी केन्द्रको चुनाव चिह्न हँसिया हथौडामा मत नहाले देश दुर्घटनामा जाने धम्की दिए।

‘म गतिशील र सृजनशील मान्छे हो तर म अस्थिर होइन। शेरबहादुरजीले नेपालमा राजनेता जन्मियो भनेपछि मैले गठबन्धन फेरेँ’, उनले विगत सम्झिँदै भने, ‘यो गठबन्धन राष्ट्रको आवश्यकता हो, लोकतन्त्र र विकासको आवश्यकता हो भनेर नबुझेर भोट हाल्नु भएन भने देश दुर्घटनामा जान सक्छ।’

उनले धम्की शैलीमै भने ’यदि गठबन्धनलाई भोट हाल्नु भयो भने म उत्साहित भएर म यो गठबन्धनलाई १०-१५-२० वर्षसम्म लैजान्छु। अब प्रचण्डलाई टेन्सन दिऊँ न भन्नुभयो भने दुर्घटना हुनसक्छ।'

प्रचण्डपछि देउवा आए मञ्चमा। उनी धम्क्याउने शैलीमा गएनन्। रेनु हारिन् भने कांग्रेस सरकार बाहिर आउँछ, पार्टी बर्बाद हुन्छ, अर्को चुनाव हारिन्छ भन्ने डर देखाउने प्रयास गरे कांग्रेस मतदातालाई।

‘पार्टी भनेकै जनताको हो। कांग्रेस पार्टीको चुनावमा ८२ प्रतिशतले मलाई जिताए। त्यो भनेकै गठबन्धन गर्नु ठिक छ भनेको हो नि। गठबन्धन नचाहेको भए त मलाई हराइहाल्थे नि’, देउवाले आफू सभापतिमा जित्नु भनेको गठबन्धन अनुमोदन हुनु हो भन्ने अर्थ लगाउँदै भने।

उनी गठबन्धनको औचित्य, अहिलेको परिस्थितमा आवश्यकता, स्थानीय निर्वाचनमा गठबन्धनका अजेण्डाबारे बोल्नतिर लागेनन्। उनी रेनुको जितमै केन्द्रित भए।

रेनुको नाममा ‘बखेडा नगर्न’ नेता कार्यकर्तालाई निर्देशन दिँदै उनले भने' ‘रेनु दाहाललाई जिताउनु हाम्रो कर्तव्य हो। उहाँको नाममा बखेडा नगर्नुहोला। रेनुलाई जिताउनुपर्छ। गठबन्धन टुट्न दिनुहुन्न। गठबन्धन टुटे कांग्रेस खत्तम हुन्छ।’

उनले नेपाली राजनीतिमा बिक्ने षड्यन्त्रको कथा बुनेर कांग्रेस समर्थक भरतपुरवासीलाई तर्साउन पनि छाडेनन्। 'गठबन्धन टुटाउने षड्यन्त्र भरतपुर चितवनबाट भएको भन्दै उनले आस देखाउँदै भने'राम्रो काम गरेर देखाउनु न। अर्को पाली उहाँहरूलाई छाड्नु भनौला। यति राम्रो काम गर्नेलाई हटाउँदा जनताले के भन्लान्, चितवनवासीले के भन्लान्।'

अनि देउवा रेनुको प्रशंसातिर लागे' अहिलेसम्म धेरै कम मेयर होलान् यस्तो। हरेक गल्लीमा पिच भएको छ। यहाँको भाउ बढिसक्यो। स्मार्ट सिटी बनाउने घोषणा गर्नुभएको छ। यो सानु कुरा हो?'

उनले रेनुले जितिसकेको तर कांग्रेसको सहयोगले जितेको सन्देश दिन आग्रह गर्दै भने' रेनु दाहाललाई शङ्का नहुने गरी सहयोग गर्नुपर्छ।'

कांग्रेसी मतदाताको भरोसामा स्वतन्त्र उम्मेदवार बनेका जगन्नाथको नाम शीर्ष नेताहरूले लिएका थिएनन्। रामचन्द्र पौडेलले भने उनको नाम लिए। बिहान यी दुवै नेताको भेट भएकाले हुनसक्छ उनले आलोचना गरे आफ्नै दलको नेताको।

पौडेलले जगन्नाथमा धैर्य नभएको नेता भन्दै बिहान आफूले कुरा गर्न खोजे पनि जगन्नाथले तर्क सुन्न नचाहेको बताए।

‘आज बिहान मात्र कृष्णलालजी, भीमबहादुरजी र जगन्नाथ पौडेलजीसँग संवाद गर्न चाहेँ, केही कुराहरू राख्न सुरु गरेँ,’  नेता पौडेलले भने, ‘बसेर राम्रोसँग कुरा गरौँ भनेँ। तर, उहाँहरूले धैर्य राख्न सक्नु भएन। चाँडै जान खोज्नुभयो। मैले दिएको तर्कलाई सम्मान गर्न तयार हुनु भएन। उत्तेजनामा मात्र उहाँहरूले असन्तुष्टि व्यक्त गरेको मैले पाएँ।’

उनले कांग्रेसको प्रतिस्पर्धी माओवादी र प्रचण्ड नभई एमाले अध्यक्ष केपी ओली प्रवृत्ति रहेको भन्दै कांग्रेसी मतदातालाई फकाउने प्रयास गरे। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल ओलीतिर लागे।

‘केपी ओलीको मैले बखान गर्न जरुरी छैन। हजार जिब्रो भएका नागले व्याख्या गर्न सक्दैनन् मैले कसरी गर्न सक्छु,’ उनले भने, ‘ओली त बयल गाडा दर्शनका प्रवर्तक हुन्। बयल गाडा चढेर अमेरिका जानु र नेपालमा राजतन्त्र फालेर गणतन्त्र ल्याउने उस्तै उस्तै कुरा भनेर गणतन्त्र विरोधी व्यक्ति। आज गणतन्त्र विरोधीसँग साँठगाँठ गर्दैछन्।’

उनले भरतपुरमा रेनुले राम्रो काम गरेको भन्दै राम्रो काम गर्नेलाई कसैको छोरी हो भन्दैमा अवसर नदिने भन्ने नहुने भनेर सम्झाउन खोजे। अन्य दलका नेताहरूको सम्बोधनको शैली पनि भरतपुरमा रहेका कांग्रेस मतादातालाई रेनुको पक्षमा फकाउने नै थियो।

सामाजिक सञ्जालमा आएका प्रतिक्रिया हेर्ने हो भने भरतपुरमा गठबन्धनले जुन उद्देश्यका लागि सभा गरेका थिए त्यो पुरा हुन सकेन। थप आलोचना बढेको देखियो। त्यसमा पोस्टरमा शेखर कोइराला अनि गगन थापाको तस्बिर राखे पनि यी दुवै नेता सभामा गएनन्। यसले कांग्रेसमा विभाजन रहेको सन्देश पनि दियो नै।

त्यही भएर होला प्रचण्ड र देउवा दुवैले आलोपालो गरेर फकाउने, धम्क्याउने र तर्साउने भरपुर प्रयास गरे। तर भरतपुरका कांग्रेसी फकिए होलान् कि तर्सिए होलान्?

२२ बैशाख, २०७९, २१:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।