भरतपुरमा पौडेलको विद्रोह,  प्रचण्ड-देउवाको परीक्षा

भरतपुरमा पौडेलको विद्रोह,  प्रचण्ड-देउवाको परीक्षा

काठमाडौँ : भरतपुर महानगरपालिकाको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेलको उम्मेदवारी फिर्ता गराउन गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण आफैँ चितवन पुगे पनि मनाउन असफल भए। केन्द्रबाट पार्टी सभापति शेरबहादुर देउवाले आग्रह गरे तर उनले मानेनन्। राज्यमन्त्री उमेश श्रेष्ठको केही चलेन।

गृहमन्त्री खाँण बुधवार चितवन पुगेका थिए। राज्यमन्त्री श्रेष्ठले बिहीबार बिहान भरतपुर पुगे। भरतपुर–७ कृष्णपुरस्थित पौडेल निवासमा पौडेल र श्रेष्ठबिच उम्मेदवारी फिर्ता लिनेबारेमा डेढ घण्टा कुरा भयो। भेटमा पौडेलले कांग्रेस बचाउनका लागि आफ्नो उम्मेदवारी कायमै रहने जवाफ दिए।

त्यो भन्दा अगाडी खाँणले साँढे दुई घण्टा भेटेका थिए। गृहमन्त्री र राज्यमन्त्रीसँग वान टु वान वार्ता भएपछि मन्त्री श्रेष्ठ र गृहमन्त्री खाँण सँगै बसेर पौडेलसँग साँढे दुई घण्टा छलफल भयो। तर, पौडेल आफ्नो अडानमा टसमस भएनन्।

कांग्रेस चितवनका नेता र कार्यकर्ताहरूले भरतपुर मेयरको उम्मेदवार माओवादी केन्द्रलाई नदिन गरेको आग्रह केन्द्रले जसरी अटेर गर्यो उम्मेदवारी फिर्ताको आग्रह पनि उनले त्यसरी नै अटेर गरिरहे। कारबाहीको धम्कीयुक्त विज्ञप्तिले छोएन। वैधानिक रूपमा उम्मेदवारी फिर्ता लिन मिल्ने समयसम्म उनको उम्मेदवारी कायमै रह्यो।

शुक्रवार बेलुकाबाट कांग्रेसको विधान अनुसार पौडेल सहित उनका प्रस्तावक र समर्थक कांग्रेसबाट निष्कासित भएका छन्। कांग्रेसले पार्टीको निर्णय नमानेको भन्दै स्वतन्त्र उम्मेदवारी दिएकाहरूलाई विधानको दफा ४ को १३ को (ग) को डन्डा चलाएर पौडेलसहित प्रस्तावक कृष्णलाल सापकोटा र समर्थक मिना खरेललाई स्वतः निष्कासित गरेको छ।

तर मतदाताले उनलाई मनबाट निकाल्ने सम्भावना भने देखिन्न। सामाजिक सञ्जालमा भाइरल भइरहेको चितवनका कांग्रेसी मतदाता भनिरहेका छन्' हामी शेरबहादुर देउवाको गोठाला हौँ जहाँ भोट हाल भन्यो त्यही हाल्ने ?' यसले चितवनका अधिकांश कांग्रेसीले मेयरमा उम्मेदवारी नदोहोर्याउन गरेको आग्रह गरेकी रेणु दाहालको चुनौती बढाएको छ।

भरतपुर महानगरको प्रमुखमा स्वतन्त्र उम्मेदवारी दिएका पौडेल राष्ट्रियसभाका पूर्व सदस्य हुन्। उनका प्रस्तावक सापकोटा चितवन कांग्रेसका पूर्व सभापति हुन् भने समर्थक खरेल महासमिति सदस्य हुन्। यसले नै उनको पक्षमा पार्टीप्रति प्रतिबद्ध समूह लागेको प्रस्टै देखिन्छ।

खाँणले भेट्न बोलाइरहे तर पौडेल गएनन्

शुक्रवार गृहमन्त्री खाँणले पौडेललाई फोन गरेर आफू बसेको होटेल सेन्ट्रल पाममा पुन भेट्न बोलाए। तर पौडेलले  ‘विषयवस्तु त्यही नै हो भने आउन पर्ने आवश्यकता परेन’ भन्ने जवाफ फर्काए।

वान टु वान र संयुक्त भेटमा मन्त्रीहरुले, ‘गठबन्धनको सजिलोको लागि भए पनि फिर्ता लिनुपर्ने भयो’ भन्दै फकाउने प्रयास गरे। तर जवाफमा पौडेलले, ‘गठबन्धनबाट अघि बढ्ने हो भने एक कार्यकाल माओवादीबाट रेणुजीलाई जितायौँ, अर्को कार्यकाल उहाँलाई फिर्ता लिइदिन अनुरोध गर्दिनुस्' भन्ने जवाफ दिए।

उनले कार्यकर्ताको आग्रह अनुसार उम्मेदवार बनेकाले एकल निर्णयबाट ब्याक हुन नसक्ने जवाफ दिएपछि गृहमन्त्री र राज्यमन्त्री 'हवस् त' भन्दै उठेर हिँडे।

सहज छैन रेणुलाई

पौडेलको उम्मेदवारी लहड नभई पार्टीको निर्णयप्रतिको विद्रोह देखिन्छ। कांग्रेस मतदाताहरूले उनलाई जसरी मनोनयनमा साथ दिएका थिए त्यसरी नै प्रचार-प्रसारमा साथ दिए भने रेणु दाहाललाई आउने मत धेरै काटिने प्रस्टै देखिन्छ।

उता एमालेले महानगरमा राप्रपासँग तालमेल गरेकाले गठबन्धनमा भरतपुर आफ्नो पक्षमा पार्न माओवादीलाई जति कठिन भएको थियो जित निकाल्न पनि उत्तिकै कठिन देखिन्छ।

गत स्थानीय तहको निर्वाचनको मत परिणामले पनि त्यही देखाउँछ। महानगरमा चितवनका ३ निर्वाचन क्षेत्र पर्छन्। क्षेत्र नम्बर ४ को पुरै भूभाग, ५ नम्बर निर्वाचन क्षेत्रको माडी बाहेकको क्षेत्र र क्षेत्र नम्बर ३ को इच्छा कामना गाउँपालिका बाहेकको भूभाग महानगरपालिकामा पर्छ।

गत स्थानीय निर्वाचनमा कांग्रेस र माओवादीको तालमेलमा एमालेले भरतपुरमा ४२ हजार ९ सय २४ मत ल्याएको थियो। कांग्रेस नेतृत्वको गठबन्धनले ४३ हजार ४ सय ८३ मत ल्याएको थियो। मत फरक ५ सय ५९ मात्रै देखिन्छ।

भरतपुरका सबै वडाबाट एमालेले ३६ हजार १ सय २७ मत पाएको थियो। कांग्रेस-माओवादीको गठबन्धनबाट उम्मेदवार बनेका वडाध्यक्षहरूले ५९ हजार ५ सय ७६ मत ल्याएका थिए। वडाध्यक्षको मतका आधारमा गठबन्धन एमालेभन्दा २३ हजार ४ सय ४९ मतले अगाडि देखिन्छ।

गत निर्वाचनमा महानगरमा १ लाख ५० हजार ६ सय ४१ जना मतदाता थिए। यो पटक ३५ हजार ४ सय ७८ नयाँ मतदाता थपिएका छन्। यसरी हेर्दा नयाँ मतदाताको रुझान कता हुन्छ त्यसले निर्णय गर्ने देखियो। तर कांग्रेसबाट बागी हुनु भनेको दाहालका लागि कठिन देखिन्छ। एमाले उम्मेदवार विजय सुवेदीलाई विजयी हुन सहज देखिन्छ।

१६ बैशाख, २०७९, २०:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।