गगनले 'चिट' चोराइरहे मेयर प्रत्याशी सिर्जनाले 'टिपिरहिन्' !

गगनले 'चिट' चोराइरहे मेयर प्रत्याशी सिर्जनाले 'टिपिरहिन्' !

काठमाडौँ : नेपाली कांग्रेसको तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयर उम्मेदवार बनेकी सिर्जना सिंह सार्वजनिक बहस कार्यक्रममा सहभागी हुन्नन्। उनी बिहीबार मेयरका अर्का प्रत्याशी केशव स्थापितले यौन दुर्व्यवहारबारे प्रश्न सोध्नेलाई उल्टो दुर्व्यवहार गर्दा उनी त्यो कार्यक्रममा थिइनन्।

उम्मेदवारको योजना के छ भन्ने मतदातामाझ छलफल चलाउन सार्वजनिक बहसहरू सञ्चालन गर्ने आम प्रचलन हो चुनावको बेलामा। अमेरिकामा त राष्ट्रपतिबिचको बहसकै आधारमा पक्ष/विपक्षको जनमतमा प्रभाव पर्छ।

सत्ताधारी दल नेपाली कांग्रेसको टिकटमा सङ्घीय राजधानी रहेको काठमाडौँ महानगरपालिकाको मेयर त्यसमा पनि सत्ता गठबन्धनकै उम्मेदवार, अझ अर्को पक्ष सार्वजनिक रूपमा राजनीतिमा त्यति सक्रिय नभएको आरोप खेप्दै आएकी नेतृ।

यी सबै कारणले पनि काठमाडौँवासी सिंहको भिजन, उनको तर्क शक्ति र मासलाई सम्झाउन सक्ने क्षमताको परख गर्न आतुर छन्। तर उनी भने भागिभागी हिँडिरहेकी छिन्।

आयोजकका अनुसार नेशनल कलेजमा आयोजित मेयरहरूसँगको अन्तर्संवाद कार्यक्रममा पनि उनलाई निम्ता गरिएको थियो। तर उनले नभ्याउने जवाफ दिएकी थिइन्। कान्तिपुर टेलिभिजनको कार्यक्रम 'टफ टक'मा मेयरका प्रत्याशीका योजनाका लागि उनलाई निम्ता गरियो। त्यता पनि उनले कार्य व्यस्तता भन्दै स्टुडियोमा आउन नमानेपछि उनको छोटो भनाई रेकर्ड गरेर ल्याएर प्रसारण गरियो।

कार्यक्रममा एमालेका मेयर प्रत्याशी केशव स्थापित, विवेकशील साझा पार्टीबाट मेयरको उम्मेदवार समीक्षा बास्कोटा, स्वतन्त्र उम्मेदवार बालेन शाह अनि राप्रपाबाट मेयरको उम्मेदवार बनेका मदनदास श्रेष्ठ सहभागी भएका थिए। उनी भद्र देखिन्छिन्। तर यसरी भाग्दा चुनावमा घाटा हुने त उम्मेदवारलाई नै त हो।

सिर्जना बिहीबार आफ्नै पार्टीले आयोजना गरेको प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममा उनी सहभागी भइन्। कार्यक्रममा आफ्नो ७ सङ्कल्प सार्वजनिक पनि गरिन्। तर उनीभन्दा अगाडिका वक्ताहरूले नै उनलाई चिट चोराइसकेका थिए के बोल्ने भनेर। उनले चिट चोर्ने प्रयास पनि गरिन् सम्बोधनमा। तर पढ्दै नपढी जाँच दिन जाँदा चिट हेर्दा पनि नबुझेर हैरान हुने विद्यार्थीको अवस्था झैँ देखियो उनको सम्बोधन।

सिर्जना अगाडि कांग्रेस महामन्त्री गगन थापा जो वाक्पटुतामा खप्पिस छन् उनले बोले। लामो समयदेखि सिंहको बलियो पक्ष र कमजोर पक्षबारे जानकार उनी उनको वाककलाको कमजोरीबारे जानकार नहुने कुरै थिएन।

बुधवार एक कार्यक्रममा थापाले एमाले अध्यक्ष केपी ओलीलाई आफूसँग समय भए बालकोटमै गएर कांग्रेसको घोषणा पत्रबारे ट्युसन पढाउने बताएका थिए। तर बिहीबार उनको शैलीले ओलीको साटो आफ्नै पार्टीको महानगरपालिकाको मेयरलाई चिट चोराइरहेको झैँ देखियो।

प्रतिबद्धता पत्र सार्वजनिक कार्यक्रममै उनले आफ्ना अवधारणा महानगरवासीले बुझ्ने गरी सार्वजनिक गर्न नसक्ने बुझे कि क्या हो गगनले। उनले 'सिर्जना दिदीसँग कुरा गर्दा उहाँले यस्तो भन्नुभयो अनि उस्तो भन्नुभयो' भन्दै उनलाई क्रेडिट दिँदै आफ्नो शैलीमा अवधारणाहरू सार्वजनिक गरिदिए।

'पार्टी सभापतिले मलाई काठमाडौँको मेयरको उम्मेदवारमा सिर्जना सिंहलाई उठाउँदा के हुन्छ भनेपछि मैले उहाँलाई भेटे' भन्दै उनले सिंहको काँधमा बन्दुक राखे अनि आफू पछाडि बसेर योजनाहरू गोलीका रूपमा पड्काइरहे।

थापाले कार्यक्रममा ‘अहिले उहाँले बोल्नुहोला’ भन्दै उनले बोल्ने कुरा केही बाँकी छाडेनन्। सिंहले पञ्चायतकालीन अवस्थादेखि नै राजनीतिमा सक्रिय रहेको र महिला सङ्घ काठमाडौँको सल्लाहकारको रूपमा राजनीतिमा संलग्न भइरहेको दाबी गरे थापाले। 

वाक्पटुता प्रयोग गर्दै थापाले सिर्जनाको छवी पोलिस् गर्दै महानगरको समस्यासँग लगेर जोडे अनि घर सम्हाल्न अनुभवीले गर्ने कामलाई महानगरको मेयरले पुरा गर्नुपर्ने जिम्मेवारीसँग लगेर जोडे। अनी पटक-पटक सोधिरहे ‘हामीले खोजेको मेयर यस्तै होइन?’

थापापछि सिंहको बोल्ने पालो आयो। तर जसले थापाको भाषण सुन्यो उसले सिंहको प्रतिबद्धता सुन्न आवश्यक थिएन। एकै किताब दोहोर्याएर पढे जस्तै थियो सिंहको सम्बोधन। पहिला किताब कसरी पढ्ने भनेर गगनले सिकाए। उनले त्यसकै सिको गरिन्।

थापाले आफ्नो सम्बोधन आफ्नै बिहेको प्रसगंबाट सुरु गरे। राजनीतिक कार्यकर्ताको हिसाबले अञ्जनालाई बुझाएको कुरा उल्लेख गरे। सरलता सुझबुझ भएकाले एक अञ्जनाको आमा र अर्को सिर्जना सिंह जस्तो व्यक्तित्वको अपेक्षा गरेको भन्दै फुलबुट्टा भरे।

उनले सिंहमाथि लाग्ने गणेशमान सिंहको बुहारी र प्रकाशमानकी श्रीमती मात्र भएको आरोपको खण्डन गर्ने प्रयास गरे।

‘म ३३ सालमा जन्मेको उहाँ ३७–३८ सालतिर नै कांग्रेसमा लागेर स्ववियु चुनावमा शंकरदेव क्याम्पसमा पम्फा भुसालसँग चुनाव लडेर हराएर त्यही बेलादेखि नेपाली कांग्रेसमा लागेको। सिर्जना सिंहलाई गणेशमानको बुहारी भन्दा नेविसंघको नेता, महिला सङ्घको नेता, प्रजातान्त्रिक आन्दोलनको अग्रणी महिला नेताको रूपमा त्यो भन्दा धेरै पहिला चिनिसकेका छन्,’ थापाले भने।

उनले सार्वजनिक सवारी सुरक्षित यात्रा र गर्ने र राम्रो फुटपाथको व्यवस्था भएको काठमाडौँ भए पुग्छ भन्दै सरल शैलीमै आफ्ना कुरा राखे। तर यीनै कुरा सिर्जनाले गगन अगाडि राख्नुपर्ने थियो कि ! महानगरको ४ नम्बरले मतदाताले गगनलाई २ पटक सांसदमा पत्याइसके। तर महानगवासीले गगनलाई पत्याएर सिर्जनालाई पक्कै भोट नहाल्लान्। महानगरवासिको भोट पाउन सिर्जानानै पत्यारलाग्दो देखिन र बुझिन आवश्यक छ। 

‘उहाँको ठुला योजना थिएन। साना कुराहरू थिए। बसभित्रको घम्साघम्सी हटाउँछु, महिलालाई सुरक्षित रूपमा यात्रा गर्न सक्ने बनाउँछु, फुटपाथमा यात्रा गर्न सक्ने बनाउँछु,' अनि थापाले प्रश्न गरे' हामीले खोजेको काठमाडौँ यस्तै होइन र?’ 

भान्सा स्वस्थ नभएर व्यक्तिहरू अस्वस्थ भएको प्रसगं ल्याएर उनले राजनीतिमा सक्रिय नभए पनि घर चलाएको अनुभवले महानगर हाँक्न सक्ने पुष्टि गर्ने प्रयास गरे। उनले आफ्नै अवधारणा सार्वजनिक गरिरहेका थिए। तर भनिरहेका थिए' काठमाडौँको मेयरका उम्मेदवारले मसँग के भन्नुहुन्छ भने।

‘काठमाडौँ मेयर मसँग के भन्नुहुन्छ भने म सकेसम्म औषधी किन्न नपर्ने बनाउँछु, औषधी उपचार सस्तो बनाउँछु, पैसा नभएर उपचार गर्न नसक्ने अवस्थाबाट म पैसा नभए पनि उपचार गर्न सक्ने बनाउँछु। हामीले काठमाडौँमा खोजेको यति कुरा होइन ?,’ थापाले पुन प्रश्न गरे।

भान्साको फोहोर व्यवस्थापनको सिपले काठमाडौँको फोहोर व्यवस्थापन गर्न सकिने उनको तर्क रोचक थियो। तर सिर्जनाले बाहिर पढेर आएका २ छोराको कुरा सुन्दासुन्दै योजनाहरुबारे जानकार रहेको गगनको तर्कले सिर्जनालाई मेयरमा जिताए छोराहरु छायाँ मेयर छँदैछन् भनेझैँ सुनियो।

‘यहाँ जापान, मलेसियाबाट यस्तो टेक्नोलोजी ल्याइदिन्छु भनेर आएर दिए पनि भो, भान्साको फोहोरलाई ती करेसाबारीमा प्रयोग गर्छु भने पनि भो। हामीले काठमाडौँमा खोजेका मेयर यस्तै होइन र?,’ उनले प्रश्नमाथि प्रश्न गरिरहे।

उनी भाषणको बिच बिचमा ‘हामीले खोजेको मेयर यस्तै होइन र ?’ भनिरहन्थे। सुन्नेलाई यो गगनको कुरा हो भन्ने नपरोस् भनेर उनी बिचबिचमा उहाँ र मबिच भएको कुराकानी भनिरहन्थे।

उनले भने, ‘काठमाडौँ महानगरलाई घर चलाए जसरी महान् घर बनाएर चलाउन सक्नुहुन्छ।’

थापापछि सिंहको बोल्ने पालो आयो। तर जसले थापाको भाषण सुन्यो उसले सिंहको प्रतिबद्धता सुन्न आवश्यक थिएन। एकै किताब दोहोर्याएर पढे जस्तै थियो सिंहको सम्बोधन। पहिला किताब कसरी पढ्ने भनेर गगनले सिकाए। उनले त्यसकै सिको गरिन्।

गगनको चिट चोराइले उनी मेयरको प्रतिस्पर्धामा पास हुने हो कि फेल त्यो बिहीबार उनको कुरा मतदाताले कति पत्याए भन्नेले नै निर्धारण गर्ने पक्का छ।

तर मतदातालाई प्रभाव पार्ने हो भने महामन्त्री गगनसँग चिट चोरेर बोल्ने प्रयास गर्नुभन्दा कांग्रेस नेतृ आरजु राणाले दिएको सुझाव मान्दै उनी सभा सम्मेलनमा नअल्झिई घर-दैलोमै निस्कनु फाइदाजनक देखियो।

१५ बैशाख, २०७९, २१:२२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।