झापामा एमाले-कांग्रेसलाई राप्रपाकै भर, केन्द्रीय निर्देशन विपरीत नयाँ अभ्यास

झापामा एमाले-कांग्रेसलाई राप्रपाकै भर, केन्द्रीय निर्देशन विपरीत नयाँ अभ्यास

इटहरी : स्थानीय तह निर्वाचनमा सत्तारुढ दलको गठबन्धन धर्मराउन थालेको छ। सत्ता-गठबन्धनका दल बाहेक अरुसँग चुनावी तालमेल नगर्ने केन्द्रीय निर्देशन विपरीत झापामा नयाँ अभ्यास हुन थालेको छ।

झापाका अधिकांश स्थानीय तहमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निर्णायक अवस्थामा छ। जसले गर्दा नेपाली कांग्रेस र नेकपा एमालेले राप्रपाकै भरमा चुनावी अभियान अगाडि बढाउने रणनीति बनाएका छन्। 

सोही रणनीति अनुसार झापाको दमक नगरपालिकामा एमालेलाई पराजित गर्न राप्रपा सहित अन्य तीन दलको चुनावी तलमेल हुने भएको छ। राप्रपाका प्रदेश १ अध्यक्ष राम थापालाई मेयर बनाउने तयारी स्वरुप चुनावी तालमेल हुन लागेको हो।

कांग्रेसको कमजोर उपस्थिति रहेको दमकमा राप्रपालाई अगाडि बढाएर एमालेलाई कमजोर बनाउने अभियान सुरु भएको छ। उपमेयर सहित चार वडाध्यक्षमा भने कांग्रेसले दावी गरेको छ। 

यसअघि कचनकवल गाउँपालिकामा प्रमुख र उपप्रमुख, हल्दीबारी र गौरीगञ्ज गाउँपालिकाको प्रमुखमा राप्रपा विजयी भएको थियो। झापाभरिका ९ वटा वडामा विजयी भएको राप्रपा पछिल्लो समय आक्रामक रुपमा अगाडि बढेको छ। 

प्रतिनिधिसभा निर्वाचनमा झापा ३ बाट राजेन्द्र लिङ्देन विजयी भएपछि राप्रपाको माहोल बढेको हो। त्यससँगै लिङ्देन राप्रपाको अध्यक्ष निर्वाचित भएसँगै हिन्दु धर्म पक्षधर र आदिवासी जनजातिको मत आकर्षित भएको छ। 

हिन्दु राज्यको नारा लिएर चुनावमा होमिएको राप्रपाले भ्रष्टाचार विरोधी अभियान तीव्र पारेको छ। अहिलेका ठूला दलहरुले मुलुकलाई फाइदा नपुर्याउने भन्दै एमसिसी विरोधी नारामा माहोल बनाउने रणनीतिमा छ राप्रपा। 

झापाको बीचमा पर्ने बिर्तामोडमा पनि राप्रपाको उपस्थिति बलियो बन्दै गएको छ। राप्रपा र कांग्रेसको तालमेलले कम्युनिष्ट आन्दोलनको केन्द्र मानिएको बिर्तामोड पनि राप्रपाको मत प्रभावित हुने देखिएको छ। एमालेले नेतृत्व गरिरहेको बिर्तामोडमा फोहोरमैला व्यवस्थापनदेखि व्यावसायिक वातावरण सिर्जना गर्न नसकेको आरोप छ। 

खानेपानी संस्थाका अध्यक्ष समेत रहेका कांग्रेसका मेयरका प्रत्यासि जलकुमार गुरुङ बलियो उम्मेदवार हुन्। दुई पटक देशकै उत्कृष्ट खानेपानी संस्थाको उपाधि दिलाएका उनी भर्खरै मेची आँखा अस्पतालको अध्यक्ष भएका छन्। जसले उनको प्रभाव झनै बढाएको छ। दमकमा राप्रपालाई सघाएर बिर्तामोडमा कांग्रेसले मेयर लिनेगरी छलफल सुरु भएको छ। 

केही दिन अगाडि नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले गृहनगर पुगेरै राप्रपासँगको तालमेलको विषयमा चासो राखे। राप्रपा प्रदेश अध्यक्ष राम थापालाई भेटेरै उनले स्थानीय तहमा तालमेल गर्नुपर्ने धारणा राखे। त्यसमा पनि अध्यक्ष ओलीले दमकमा एमालेलाई सघाउनुपर्ने अडान लिए। तर आफ्नो पक्षमा माहोल बढ्दै गएकाले राप्रपाले सहमति जनाउन सकेन। 

कमजोर अवस्थामा पुगेको माओवादीले भने वडा तहमा मात्र बार्गेनिङ गरिरहेको छ।

राप्रपाले १५ मध्ये ७ वटा वडामा यस पटक विजयी गराउने योजना तयार पारेको छ। ९ वडाका वडाध्यक्ष जितेको राप्रपाले यस पटक ३० देखि ४० वडाध्यक्ष विजयी गराउने रणनीति बनाएको छ।

सुधारिएको संगठन संरचनाले राप्रपाका कार्यकर्ता निकै उत्साहित देखिन्छन्। सकेसम्म एक्लै नभए तालमेल गरेरै भए पनि चुनाव जित्ने राप्रपा झापा अध्यक्ष केशव ओझाले बताए। उनका अनुसार भद्रपुर र दमक नगरपालिका, बाह्रदसी, हल्दीबारी, कचनकवल, गौरीगञ्ज र झापा  गाउँपालिका विजयी हुने गरी गर्ने राप्रपाको योजना छ। 

सकेसम्म आफ्नै बलमा चुनाव लड्ने नभए स्थानीय पालिकाले निर्णय गरेको खण्डमा तालमेल हुनसक्ने उनले बताए। विजयी हुननसक्ने पालिकामा बलियो उपस्थिति जनाउने गरी अगाडि बढेको उनको भनाइ छ।

सुशासन र पारदर्शितादेखि कक्षा १२ सम्म नि:शुल्क शिक्षा र स्वास्थ्यमा सहज पहुँचलाई मुख्य मुद्दा बनाइएको उनले प्रष्ट पारे। 

नेपाली कांग्रेस झापाका उपसभापति केशव पाण्डे चुनावी तालमेलको बारेमा छलफल भइरहेको बताउँछन्। पालिकास्तरीय समितिले दिएको रिपोर्टका आधारमा तालमेल हुनसक्ने उनले बताए। केन्द्रबाट आएको निर्देशनको पालना गर्दै स्थानीय आवश्यकता र औचित्यको आधारमा तालमेल हुने उनको भनाइ छ। 

कांग्रेसले यसअघि मेचीनगर र गौरादह नगरपालिका, बुद्धशान्ति, झापा, बाह्रदसी गाउँपालिकामा विजय हासिल गरेको थियो। आगामी निर्वाचनमा बिर्तामोड, अर्जनधारा नगरपालिका र कमल गाउँपालिका थप्ने तयारी गरेको छ। कमल गाउँपालिकामा यसअघि कांग्रेस र एमालेका उम्मेदवारको बराबर मत आएपछि गोला प्रथाबाट एमालेका मेनुका काफ्ले विजयी भएकी थिइन्।

नेकपा एमाले प्रदेश १ सहइन्चार्ज तथा स्थायी कमिटी सदस्य हिक्मत कार्की झापामा कुनै तालमेलको ठोस निर्णय नभएको बताउँछन्। आसन्न निर्वाचनमा १५ मध्ये १२ पालिकामा विजयी हुने तयारी स्वरुप काम भइरहेको उनले बताए। स्थानीय पार्टी कमिटीले आवश्यकता र औचित्यको आधारमा निर्णय गर्ने उनको भनाइ छ। 

यसअघि ७ वटा पालिकामा विजयी भएको एमालेको लागि आफ्नो साख जोगाउने चुनौती छ। जितेको ठाउँमा झनै धेरै मतले विजयी हुने र हारेका ठाउँमा विजयी हुने रणनीति बनाइएको कार्कीले सुनाए। 

परिवर्तनको पक्षमा मत मागिरहेको राप्रपाले कांग्रेस एमाले दुवैलाई डर र भर देखाएको छ। एमाले शक्तिशाली भएको ठाउँमा कांग्रेससँग तालमेल गरेर निर्णायक भूमिका देखाउने अवस्थामा राप्रपा पुगेको छ।

५ बैशाख, २०७९, ११:३६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।