साझा यातायात :  तीन अर्ब ४६ करोड लगानी सरकारको तर नेतृत्व २ लाख लगानी गर्ने दीक्षित परिवारको

साझा यातायात :  तीन अर्ब ४६ करोड लगानी सरकारको तर नेतृत्व २ लाख लगानी  गर्ने दीक्षित परिवारको

साझामा सरकारको ६४ निकाय सेयर धनी छन्। २२  मन्त्रालय, ३७ विभाग  र चार वटा स्थानीय तहको लगानी रहेको साझा यातायात सहकारी संस्था लिमिटेडको आर्थिक वर्ष २०७७/२०७८ को रिपोर्टमा उल्लेख छ।

साझामा भौतिक पूर्वाधार, अर्थ, आवास तथा सहरी विकास, भौतिक योजना, गृह, कृषि तथा सहकारी, सूचना तथा सञ्चार, महिला बालबालिका र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसम्मको सेयर रहेको छ। यसमा बन, भूमिसुधार,  उद्योग वाणिज्य,  विज्ञान तथा प्रविधि, कानुन तथा न्याय, शिक्षा, स्वास्थ्यको लगानी देखिन्छ।

उकेराले सूचनाको हक प्रयोग गरेर पाएको आर्थिक विवरण अनुसार साझामा सबैभन्दा धेरै भौतिक पूर्वाधार यातायात व्यवस्था मन्त्रालयको लगानी रहेको छ। भौतिकको ३ अर्ब ३ करोड सात सय लगानी देखिन्छ। दोस्रोमा छ अर्थ मन्त्रालयको ३ करोड ८ लाख लगानी रहेको छ।

आवास सहितका अन्य मन्त्रालयको २ करोड ५० लाखको दरले सेयर छ। केही मन्त्रालय र विभागले ५ हजारको दरले गरेको लगानी ३ अर्ब २६ करोड १४ लाख देखिन्छ( विस्तृत तल पिडिएफमा हेर्न सकिन्छ।

यसै गरी चार स्थानीय तहको पनि साझामा लगानी रहेको छ। काठमाडौँ महानगरपालिकाले १५ करोड, ललितपुर महानगरपालिकाको पाँच करोड, गोदावरी नगरपालिकाको ३५ लाख र महालक्ष्मी नगरपालिकाले ४० लाख गरेर २० करोड ७५ हजार लगानी गरेका छन्।

साझामा कसको कति प्रतिशत लगानी ?

साझा यातायात सञ्चालनमा राज्यको ठुलो लगानी देखिन्छ। ५ अर्ब बराबरको कुल पुजी भएको साझाको चुक्ता पुजी तीन अर्बको  छ। साझा यातायात सहकारी संस्थामा हालसम्म केन्द्रीय सरकार र विभागहरू, स्थानीय सरकारको मात्र ९९ प्रतिशत लगानी रहेको उसकै आर्थिक प्रतिवेदनमा देखिन्छ।

सरकारी र स्थानीय निकाय बाहेक विभिन्न ७ वटा सङ्घ संस्थाहरूको ०.२६ प्रतिशत र कनकमणि दीक्षितसहित सर्वसाधारणको ०.७६ प्रतिशत मात्र लगानी देखिन्छ। सर्वसाधारणमा पूर्व राज परिवारका सदस्यहरूको समेत लगानी रहेको देखिन्छ।

दीक्षित परिवारको पकडमा साझा

साझामा लामो समय कमलमणि दीक्षित अध्यक्ष भए। त्यसपछि पालो आयो कनकमणि दीक्षितको। कमलमणिको निधन भइसकेको छ। उनको नाममा २१ हजार पाँच सयको लगानी रहेको देखिन्छ। लेखा परीक्षण प्रतिवेदनमा उल्लेख भए अनुसार कनकमणि दीक्षितको २० हजार लगानी छ। कमलमणिपछि उनी सञ्चालक समितिको अध्यक्ष छन्।

साझामा दीक्षित परिवारसँग जोडिएको जगदम्बा गुठी, मदन पुरस्कार पुस्तकालय, सुन्दरमणि, कुन्द दीक्षित दीक्षित, लज्जा दीक्षित, लैनिम दीक्षित, समीरमणि दीक्षित लगायत १३ जना दीक्षित परिवारका सदस्यको २ लाख ६१ हजार ५ सय रुपैयाँ बराबरको सेयर रहेको छ। अधिकतम ६१ हजार र न्यूनतम पाँच हजार लगानी गरेको देखिन्छ। अधिकतम ६१ हजार लगानी गर्ने सुन्दरमणि हुन्।

साझाका सर्वसाधारण शेयर धनी कसको कति लगानी ?

सर्वसाधारणतर्फ पूर्व राजपरिवारको सबै भन्दा बढी सेयर साझामा रहेको छ। जस अनुसार पुर्वराजा  ज्ञानेन्द्र शाहको १ लाख, प्रेरणा राज्य लक्ष्मीदेवी शाहको १ लाख ८० हजार, पूजा र शिताष्मा राज्य लक्ष्मी शाहको ५३ हजार र दिलासा राज्य लक्ष्मी शाहको ५४ हजार गरी  ५ लाख बराबरको सेयर रहेको छ।

त्यस्तै १५४ जना सर्वसाधारण सेयर धनी मध्ये  तेस्रोमा  राणा परिवार रहेको छ। जसमा गिर्वाणी राज्यलक्ष्मी राणा, सुराङगाना राज्यलक्ष्मी राणा १ –१ लाखको सेयर छ। चौथोमा रवीन्द्र कुमार पिया १ लाख ४९ हजार र पाचौंमा  श्रीधर शमशेर जबराको एक लाख  दश हजार रुपैयाँ बराबरको साझामा सेयर रहेको छ। अधिकांश शेयर धनी ५ हजार लगानी गर्नेहरू छन्।

सरकारी पैसामा व्यक्ति हाबी

साझा यातायातमा सरकारको ९९ प्रतिशत लगानी भएकाले सार्वजनिक संस्थान मान्दै आएको छ भने साझा यातायातको वर्तमान व्यवस्थापकले भने आफू सहकारी मूल्यमान्यता अनुसार चल्ने गैरसरकारी संस्था भएको बताउँदै आएको छ।

सरकारी र स्थानीय निकाय बाहिर देखिएको सर्वसाधारणको ०.७६ प्रतिशतलाई  १००  प्रतिशत मानेर हेर्ने हो भने पूर्व राजपरिवारको १५ प्रतिशत सेयर हुन आउँछ भने दीक्षित परिवारको ७.३ प्रतिशत हुन आउँछ।

साझा सिरिज

तर लामो समयदेखि ७.३ प्रतिशत शेयरका मालिक दीक्षित परिवार नै  साझा यातायातमा हाबी देखिन्छन्।

२०७६ कात्तिकमा नेपाल सरकारले जारी गरेको नयाँ सहकारी नियमावलीमा साझाको सञ्चालक समितिमा सरकारले आफ्नो ५ जना राख्न पाउने छ। अर्थ र यातायात तथा सहकारी मन्त्रालयबाट एक–एक सहसचिवले साझा यातायातको सञ्चालक समितिमा बस्न पाउँछन्।

त्यसै गरी नेपाल सरकारले तोकेको एक जना र सहकारी विकास बोर्ड वा स्थानीय तहका सेयर लगानीकर्तामध्येबाट एक जना सञ्चालकको कोटामा सहकारी मन्त्रीको सिफारिसमा एक जना साझाको सञ्चालक कमिटीमा रहने उल्लेख भए पनि कार्यान्वयन भने भएको छैन।

अहिले साझाको अध्यक्ष छन् मिडिया व्यवसायी कनकमणि दीक्षित। उनी हिमाल मिडियासँग आबद्ध छन्। बोर्ड सदस्यमा भूषण तुलाधर, वन्दना थापा, शुसिलराज प्याकुरेल, पद्म सुन्दर जोशी छन्। सहकारी बोर्डको तर्फबाट झलकराम जोशी, अर्थ मन्त्रालयबाट लक्ष्मी प्रसाद निरौला, यातायातबाट शिवहरि सापकोटा प्रतिनिधि छन्। महाप्रबन्धकमा महेन्द्र राज पाण्डे रहेको साझाको आधिकारिक वेभ साइडमा राखिएको छ। सहकारी अवधारणामा चलेको संस्था जसको पुजी पाँच अर्ब बराबर छ। यसको आर्थिक अवस्था कस्तो छ? अर्को अङ्कमा।

कसको सेयर कति ?

२३ माघ, २०७८, २२:००:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।