आधुनिक चित्रकलालाई बुझ्ने समाज बनेकै छैन

आधुनिक चित्रकलालाई बुझ्ने समाज बनेकै छैन

वि.सं. २००७ सालमा काठमाडौंको नयाँबजारमा जन्मिएका चित्रकार किरण मानन्धर नेपाली आधुनिक चित्रकलामा परिचित नाम हो।

भारतको बनारस युर्निभर्सिटीबाट चित्रकारिता अध्ययन गरेका मानन्धर नेपालमा भने आधुनिक चित्रकलालाई बुझ्ने समाज अझै बनिनसकेको धारणा राख्छन्।

संसारभर लोकप्रिय आधुनिक चित्रकला विधा नेपाल भित्र्याउने श्रेय लैनसिंह वाङ्गदेललाई दिने चित्रकार मानन्धरसँग उकेराकर्मी इश्वरकुमार मैनालीले उनलाई मनपर्ने आधुनिक विधाका चित्रकारका बारेमा गरेको कुराकानीको सम्पादित अंश:

आधुनिक चित्रकलाको अभ्यास नेपालमा बढ्दो छ। संसारभर लोकप्रिय यो विधालाई नेपालमा भित्र्याउने काम लैनसिंह वाङ्गदेलले गर्नुभएको हो।

त्यसअघि आधुनिक चित्रकला भनेर नेपालमा प्रचलन थिएन। तर यसो भनिरहँदा हामीकहाँ छँदै थिएन भन्ने पनि होइन। केही देवी-देवताका अमूर्त शैलीका मूर्ति र चित्रहरु मात्र हुन्थे। त्यसले समग्र आधुनिक चित्रकलाको प्रतिनिधित्व गर्दैनथ्यो। 

लैनसिंह र म समाकालीन जस्तै हौं। उहाँ पिकासोबाट निकै प्रभावित चित्रकार हुनुहुन्छ। त्यो उहाँको चित्रकलामा प्रष्टै देखिन्छ पनि। म आफैं पनि पिकासोको चित्रकलामाथि खोज गरेको मान्छे हुँ।

मलाई नेपालका चित्रकारमध्ये लैनसिंहजीको चित्र केही विशिष्ठ लाग्छ। विशेषगरी 'हिमाली खोच' शीर्षकको चित्रकलाले मलाई उहाँको कलाकारिताको गहिराइमा पुर्याएको थियो। र, त्यही हिमाली खोच शीर्षकको चित्र नै मलाई नेपाली मोर्डन आर्टमा उत्कृष्ट चित्र हो जस्तो लाग्छ।

लैनसिंहको त्यो चित्रमा हिमाल त हिमाल नै छ। अरुले पनि बनाइनै रहेका छन् हिमालका चित्र। तर खोचमा उहाँले जसरी आफ्नोपन हाल्नुभएको छ। त्यसको म खुबै तारिफ गर्छु। 

त्यो चित्रमा लैनसिंहको आफ्नोपन देखिन्छ। रङ चयनदेखि पिचिङ समेतमा उत्कृष्ट काम भएको छ। त्यो चित्र बनाउने लैनसिंह नै आधुनिक चित्रकलामा मलाई मनपर्ने चित्रकार हु्न्। 

०००
चित्रकलाको विविध विधामध्ये आधुनिक चित्रकला पनि एक हो। आधुनिक चित्रकलालाई बुझ्ने समाज आज पनि बनिसकेको छैन। तर नेपाली समाज कलाका अनेक आयाममध्येको एक आयाम अर्मूत शैलीमा परिचत भने हुँदै गएको छ। 

यसो भनिरहँदा म आफैं पनि त्यस विधामा चित्र बनाउँछु। तैपनि, म यो विधालाई ठ्याक्कै परिभाषित गर्न भने सक्दिनँ। जीवनको अन्तिम अवस्थासम्ममा अमूर्त विधालाई बुझ्न सकियो भने म आफ्नो जीवन सफल भएको ठान्ने छु।

आधुनिक चित्रकला निराकार भगवान जस्तै हो। त्यसलाई महसुस गर्न सकिन्छ। तर व्यक्तिविशेष त्यसका बुझाइ फरक पर्न सक्छन्।

अर्मूत चिजहरुमा मूर्त धेरै कुरा प्रतिबिम्वित भएका हुन्छन्। त्यसैले यसलाई बुझ्छु या बुझ्दिनँ भन्ने कुराले धेरै फरक पार्दैन। फरक पार्छ त त्यस चित्रमा भएको फिलले। त्यो फिल केले दिन्छ त? चित्रकारको मनस्थितिले, रङले, दर्शन लगायतका अन्य धेरै चिजले।   

०००
लैनसिंहलाई राजा महेन्द्रले नेपाल ल्याएपछि नेपाली चित्रकलामा आधुनिकताको सुरुवात मात्र भएन, त्यस विधामा पढ्ने अरु पनि निस्के। 

सुरुमा फ्रान्स, बेलायतमा पढेर आएको चित्रकार भनेर पनि उनको कलालाई नजिकबाट हेरियो। उसो त म बालखैबाट आधुनिक खालका चित्रमा लगाब राख्ने रहेछु। 

सन् ६० को दशकमा सुन्धाराको भारतीय पुस्तकालयमा बरालिँदै पुग्दा भित्तामा टाँसिएको चित्रले मलाई आकर्षित गर्यो। रामचन्द्र शुक्ल भन्ने चित्रकारसँग मैले यो चित्र केही बुझिनँ, यस्तो त म पनि बनाउन सक्छु भनें। उहाँले ल बनाऊ त भन्नुभयो। मैले चित्रमा भएको अमूर्त चित्रको उल्टो चित्र बनाएँ। त्यो देखेर उहाँले मैले बनाएको चित्रहरु हेर्ने रहर गर्नुभयो।

सानोमा म निकै बदमास खालको मान्छे थिएँ। झै-भगडा गर्ने, स्कुल जाने भनेर दिनभरि विष्णुमतीमा माछा मारेर बस्ने गर्थें। शुक्लले चित्र हेर्न घर आउँछु भन्नुभयो। घरमा बा मेकानिक्स हुनुहुन्थ्यो। उहाँ मलाई इन्जिजियर बनाउन चाहनुहुन्थ्यो। 

घरमा बोलाउन सक्ने अवस्था थिएन। चित्र बनाएको थाहा भयो कि बाले भर्याङमा बाँधेर चुट्नु हुन्थ्यो। त्यसैले घर ( नयाँबजार, बालाजु) बाट म स्कुल जाने भनेर सधैं बाइसधारा छेउछाउ जान्थें। त्यहाँ गएर चित्र बनाउँथे। र, त्यही ठाउँ हेरेर रुखमाथि चित्रहरु पलाष्टिकले बेरेर राख्थें। 

शुक्ललाई मैले मेरो केही चित्र देखाएँ। उहाँ हेर्न थाल्नुभयो। बाँकी चित्र लिन म रुख चढेँ। ओर्लंदा त उहाँ रोइरहनुभएको रहेछ चित्र हेरेर। त्यसबेला आँखाले देखिएका चिजबिजकै चित्र बनाइन्थ्यो। उहाँले तिमी भित्र राम्रो कलाकार छ। तिमी भारत जाउ चित्रकला पढ्न भनेर बनारस युनिभर्सिटीको ठेगाना लेखिएको सानो कागज दिनुभयो। 

तर, घरमा भन्ने अवस्था थिएन चित्रकला पढ्छु भनेर। त्यसैले इन्जिनियरिङ नै पढ्छु भनेर भारत गएँ। बनारस युनिभर्सिटीको फाइन आर्टमा भर्ना भएँ। तीन महिनासम्म त घरमा ठाटे। त्यसपछि बाले चाल पाउनुभयो। खर्च-पानी रोकियो। निकै संघर्ष भयो। तर चित्रकलाले मलाई त्यो संघर्ष संघर्ष जस्तो बनाएन।

युनिभर्सिटीका क्लासले भन्दा रेलवेमा देखिने दृश्यले म भित्रको चित्रकारलाई निखार्यो। चित्रकलाका सिद्धान्त थाहा पाइयो। र, म आफैं पनि मोर्डन आर्ट बनाउन लागें। यो सन् ७० को दशकको सुरुवाती समयको कुरा हो।

नेपालमा लैनसिंह चित्रकला पढेर आएका। पछि म पनि पढेर नै आएँ। उनी पिकासोलालाई भेटेर, देखेर, उनीसँग गफ नै गरेर आएका। म पिकासोको काममा अध्ययन गरिरहेको। हाम्रो दोस्ती पनि जम्यो। 

०००
कुनै पनि चित्रकारको एक सिर्जनाले प्रभाव छाड्ने हो। बनाइएका सबै चित्र, गाइएका सबै गीत, लेखिएका सबै साहित्य चर्चामा हुँदैनन्। सबै मन पनि पर्दैनन्। त्यस्तै मलाई लैनसिंहका केही चित्र मन पर्दैनन्। ती चित्रमा सिधैं पिकासो कै नक्कल देखिन्छन्।

तर, हिमाली खोच भने मलाई नेपाली आधुनिक चित्रकलामा निकै मनपर्छ। किनकी, त्यसमा लैनसिंहको मौलिक शैली छ र धेरै दृष्टिकोणबाट त्यो साँच्चै नै सुन्दर छ।

२२ माघ, २०७८, ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।