काट्ने र जोड्ने ज्ञान नहुँदा नेपाली चलचित्र सम्पादन गतिलो भएन

काट्ने र जोड्ने ज्ञान नहुँदा नेपाली चलचित्र सम्पादन गतिलो भएन

नेपालमा रोजगारी थिएन। त्यसैले २०५५ सालमा उनी भारत पसे। भारत गएर आफ्नै व्यवसाय सुरु गरेका गिरी बिस्तारै चलचित्र सम्पादनतिर मोडिए।

भारतको चर्चित धर्मा प्रोडक्सनमा समेत काम गरिसकेका गिरीसँग उनलाई मन पर्ने चलचित्र सम्पादकको बारेमा उकेराकर्मी ईश्वरकुमार मैनालीले गरेको कुराकानी:

'आफन्त', 'पाहुना', 'त्रिशूल', 'ठुल्दाइ', 'पराइघर', 'छोडिगए पाप लाग्ला', 'लवकुश', 'कर्मयोद्धा' लगायत दर्जनौँ नेपाली चलचित्र सम्पादन गरेका रजनी पन्थ नेपालका गनेचुनेका चलचित्र सम्पादक हुनुहुन्छ।

उहाँको सम्पादनमा हामी कथाको बहकाई देख्न पाउँछौँ। चलचित्र सम्पादनका नियम र तीनको अर्थ भेट्न पाउँछौँ। यस्तो क्षमता भएका चलचित्र सम्पादक नेपालमा कमै मात्र छन् भन्ने मेरो बुझाइ छ।

चलचित्र सम्पादक भनेको कथा भन्ने मान्छे नै हो। त्यो कथा कसरी भनिएको छ र कहाँ के गर्दा झन् बलियो बनाउन सकिन्छ, त्यो चलचित्र सम्पादकको काम हो।

चलचित्र सम्पादक कुशल कथा वाचक हुनुपर्छ। साथसाथै कुशल कला प्रेमी र कलात्मक दिमागको धनी हुनुपर्छ। कुनै पनि कुराको गहिराइमा पुग्न सक्ने हुनुपर्छ। रजनी पन्तमा यी सब गुणहरू देखिन्छ।

साधारण भाषामा भन्दा चलचित्र सम्पादन काट्ने र जोड्ने कुरा हो। तर समस्या के भयो भने, हाम्रा सम्पादकलाई कहाँ काट्ने र कहाँ जोड्ने भन्ने नै राम्रो ज्ञान भएन। जसका कारण नेपाली चलचित्र सम्पादन गतिलो नभएको भन्ने बहस बेलाबखत उठिरहन्छ। 

कहाँ, कसरी, किन, कति काट्ने भन्ने ज्ञानकै कमीका कारण हाम्रा चलचित्र सम्पादकहरू चलचित्र सम्पादकभन्दा पनि सफ्टवेयर र तीनका टुलहरूको विशेषज्ञ जस्ता बनेका छन्।

चलचित्र सम्पादकले धेरै कुरा जाने राम्रो हो। तर मुख्य कुरा काट्न र जोड्न नै जाने मात्र पनि धेरै राम्रो काम हुन आउँछ।

चलचित्र भनेको एक जनाले बनाउने सामग्री होइन। त्यहाँ कार्य विभाजन हुन्छ। चलचित्र सम्पादकले नै रङ, ध्वनि, भिजुअल इफेक्ट सबै गर्न सके राम्रो। तर काट्न र जोड्न राम्रोसँग जानेपछि ती सबै काममा निखारता ल्याए अति उत्तम।

चलचित्र सम्पादन कलाको विशिष्ट रूपमध्येको एक हो जस्तो लाग्छ मलाई। एक समाचार सम्पादक हुन जति ज्ञानको जरुरी पर्छ, त्यही नै प्रक्रिया चलचित्र सम्पादकमा पनि लागू हुन्छ। विशिष्ट क्षमता नभई चलचित्र  सम्पादनलाई न्याय गर्न सकिँदैन।

नेपालमा चलचित्र सम्पादनलाई फ्रेम बाई फ्रेम  न्याय गर्ने सम्पादक कोही छन् भने तीनै रजनी पन्त हुन्। र, मलाई मन पर्ने चलचित्र सम्पादक पनि उनै पन्त हुन्।

०००

माओवादी द्वन्द्वका कारण २०५५ सालतिर म देश छाडेर भारत पसेँ। सोही क्रममा एनिमेसन सिक्न मन लाग्यो। ३६ महिनाको कोर्स गरेँ।

म सानै छँदा हाम्रो परिवार स्याङ्जाबाट चितवन आइसकेको थियो। चितवनमा चलचित्र घरहरू थिए। सिनेमा हेर्ने माहोल थियो। त्यतिबेला सिनेमा क्षेत्रमा नै केही गर्छु नै भन्ने त थिएन। तर चलचित्र हेर्न भने खुब मन पर्थ्यो।

भारत गएपछि मोजाको व्यापार थालेँ। समान लिन जाँदा एक रात मुम्बईमा बास पर्यो। जहाँबाट माल हालिन्थ्यो, त्यसैको माथिल्लो तलामा एनिमेसन सम्बन्धी गोष्ठी भइरहेको रहेछ।

त्यो गोष्ठीले मलाई निकै तान्यो। एनिमेसन सिक्न मन लाग्यो। र, एनिमेसनको कक्षा लिएँ।

औपचारिक कक्षा सकिएपछि म धर्मा प्रोडक्सनसँग जोडिएँ। हामीले पढ्दा 'फलो दी रुल' भन्छौँ। काम गर्दा 'ब्रेक दी रुल' भन्छौँ। त्यो दुवैको बीचमा बीचमा बस्न सक्दा परिष्कृत कला निस्कन्छ

मैले धर्मा प्रोडक्सनको 'डन नम्बर एक' मा भिएफएक्स आर्टिस्ट भएर काम गरेँ। राघव लरेन्सको निर्देशनमा बनेको त्यो चलचित्रमा काम गर्दा बलिउडमा कसरी काम हुने रहेछ भन्ने केही भेउ पाएँ।

त्यसपछि मैले 'अपरिचित' भन्ने चलचित्रमा काम गरेँ। त्यसले पनि मलाई भारतीयहरूको काम गर्ने शैलीसँग नजिक बनायो।

उनीहरू चलचित्रमा नै जिउन खोज्दा रहेछन्। धेरै मिहिनेत गर्ने रहेछन्। यी दुई चलचित्रमा काम गर्दा केही नाम चलेका कलाकार, निर्देशक तथा पर्दा पछाडिका सम्पादक, लेखकहरूको अनुभव सुन्ने मौका पाइयो।

नेपाल गएर नै काम गर्नुपर्छ भन्ने लाग्यो मनमा। ती दुई चलचित्रमा गरेको कामले मेरो ठाउँमा नै यति मिहिनेत गरे त हाम्रो इन्डष्ट्रीलाई पनि फाइदा हुन्छ जस्तो लाग्यो र म नेपाल आएँ।

नेपाल शान्ति प्रक्रियामा गइसकेको थियो। नयाँ सिनेमा बन्ने क्रम पनि बढ्दै गयो। मैले पनि आफ्नै निर्देशन/सम्पादनमा 'कैफियत' नामको चलचित्र बनाएँ। अहिले पनि म चलचित्र बनाउने तयारीमा छु।

०००

चलचित्र सम्पादन आफैँमा युनिक काम हो। यसमा हरेक कुरा नयाँ हुन्छ र नयाँ तरिकाले नै गर्नुपर्छ। भनिन्छ नि, सबैसँग नभएको कला भएका मान्छे कलाकार हुन्, विशेष क्षमता भएका। चलचित्र सम्पादन पनि यस्तै हो। यसमा पनि आफ्नै पन चाहिन्छ, नियममा बस्न सक्नुपर्छ।

हाम्रो उद्योगमा समस्या के भयो भने, कसैले कसैलाई टेर्दैनन्। एक-अर्कामा सम्मान छैन। सरसल्लाह समेत गर्न सक्दैनौँ हामी।

चलचित्र निर्माण भनेको सामूहिक कार्य हो। सामूहिक कार्य गर्न समूह चाहिन्छ। राम्रो काम बन्न राम्रा मान्छेको समूह चाहिन्छ। तर हामी त सबै आफैँमा  ठुलो बन्न खोज्छौँ। एक अर्कालाई सुन्न खोज्दैनौँ। बुझ्न खोज्दैनौँ। मैले नै सबै जानेको छु जस्तो गर्छौँ।

यस्तो भ्रम चलचित्र सम्पादनमा मात्र होइन, समग्र उद्योगमा नै छ। जुन दिनसम्म हामी मैले मात्र जानेको छु भन्ने भ्रम त्याग्दैनौँ, त्यस दिनसम्म हाम्रो उद्योगले सकारात्मक बाटो समात्ने कल्पना पनि गर्न सकिँदैन।

१५ माघ, २०७८, १२:३०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।