उकेरा फिचर

तीन पिँढीदेखि भुजा भुट्ने बेचनप्रसादको कथा

भन्छन्- 'जति दुःख भए पनि यो काम छोड्दिनँ'  


बुटवलः भैरहवा माल टोलका ६६ वर्षीय बेचनप्रसाद भुज पेशाले 'पम्प अपरेटर' हुन्। तर यो उनको पर्ख्यौली पेशा भने होइन। 

उनी कार्यालय समयबाहेक अरू समयमा भुजा भुट्छन्। र यो सिलसिला तीन पिँढी यता जारी छ। चना र भुजा भुट्ने उनको यो काममा श्रीमती कलावती, बुहारी सन्ध्या र कहिलेकाहीँ जेठो छोरा राजकुमारले पनि साथ दिन्छन्।

बेचनका छोराहरू समय हुँदा मात्र भुजा भुट्छन्। बेचन भन्छन्- 'छोराहरू हुर्के, अब भुजा भुटेर कहाँ जीवन चलाउँछन्। मेरो श्वास रहुन्जेल यही गर्ने हो। जागिर पनि गर्न पर्यो', उनले भने।

बेचन चोखा बनाउनका लागि आलु पोल्ने काम पनि गर्छन्। भैरहवाबासीको मनपर्ने खाजाका रूपमा लिइने भुजा परम्परागत खाजा हो।

तराईमा यसै पनि भुजा, चना, चोखा सामाजिक एवं सांस्कृतिक पर्वहरूमा महत्त्वपूर्ण मानिन्छ। 

पूजाआजा, ब्रतबन्ध, भोजभतेरमा अर्डर अनुसार भुजा पुर्या्उँछन् उनी। आम्दानी पनि राम्रै भएको छ।

बुवा विश्वनाथप्रसाद भुजले २००५ सालमा यही ठाउँमा टिनको छानो र पालको छाप्रो बनाएर भुजा भुट्न सुरू गरेका थिए। अहिले त्यही छाप्रोमा बेचन, अनि अर्कोतिर उनका भाइ देवप्रसादको परिवार भुजा भुट्छन। 

बेचनजस्तै देवप्रसाद पनि साँझ–बिहान यो काम गर्छन्। उनी निजी विद्यालयको बस पनि चलाउँछन्।

'आवश्यकता बढ्दै गए। जीविका चलाउन भुजा भुटेर त चल्थ्यो। तर जागिर पनि गर्न थालियो',  बेचनले भने।

बेचन पुर्खाले गर्दै आएको भुजा, चना भुट्ने काम चौथो पुस्ताले गरुन् भन्ने चाहन्छन्। तर छोराहरू भने यो पेशा अँगाल्न तयार छैनन्। 

रेष्टुरेन्टमा खाजा बन्दै भुजा
कुनै बेला सामाजिक, सांस्कृतिक पर्व र खेतबारीमा काम गर्ने खेतालालाई खाजाका रूपमा भुजा, चना दिइन्थ्यो। तर अहिले यही भुजा, चना होटल र खाजा घरको मेनुमा समेटिएको थियो। 

खाजाका रूपमा मासु, अण्डासँग भुजा खानेहरूको जमात धेरै छ। परम्परागत भुजा अहिले होटलमा बढी माग हुँदै आएकोमा बेचन खुशी र दंग छन्। 

आधुनिक मेसिन र सामान्य चुलोमा भुटेको भुजाभन्दा परम्परागत रूपमा तताइएको बालुवामा भुटेको भुजा स्वादिलो र स्वस्थकर हुने भएकाले पनि होटल तथा रेष्टुरेन्टमा अहिले खाजाको रूपमा भुजाको प्रयोग हुन थालेको उनले बताए।

बेचन अहिले भुजा भुट्छन् मात्र। बिक्री गर्दैनन्। 'म भुट्ने गर्छु, बिक्री गर्न पनि भ्याइँदैन। अब बुढेसकाल पनि लाग्न थाल्यो',  उनले भने।

भुजा, चना वा चोखा चाहिएकाले चामल, चना वा आलु आफैं ल्याउने गरेको र आफूले भुट्ने मात्र काम गरेको उनले बताए।

आगोको भट्टीमा बसेर भुजा, चना भुट्नु भने सहज छैन। अझ आफन्त र साथीभाइले घरआँगन नै फोहोर हुनेगरी काम गरेको भन्दै होच्याउँदा उनलाई चित्त दुख्छ। 

कतिले त जागिर भएपछि यस्तो दुःखको काम छोड्न सुझाव दिएका थिए तर उनले मानेनन। बेचनको अठोट छ– 'सकुन्जेल भुजा भुट्ने।' 

उनी भन्छन्– 'चुलोबाट निस्किएको धुँवा र धुलोले हातखुट्टा, अनुहार सबै कालो हुन्छ। कपडा र घर सधैंजसो फोहोर हुन्छ। तर जागिर छोड्छु, यो काम छोड्दिनँ।'

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

पैसा छ- मिर्गौला छैन, मिर्गौला छ- पैसा छैन

चन्द्रादेवी र उनका श्रीमान् हिरा विक दुवै भारतमा चौकीदारीको काम गर्थे। चन्द्रा एक्कासी सिकिस्त भएपछि हिराले गाउँघरका आफन्तसँग ऋण मागेर एक लाख रुपैयाँ खर्च गरी....

सफलताको कथा: पैसा त बाख्राको खोरमा पो रहेछ !

१० वर्षकै उमेरमा भारत गएका उनले सुरुमा होटलमा भाँडा माझ्ने काम गरे। विस्तारै कुकको काम सिकेका रमेश विस्तारै कुक म्यान बने। बाल्यकाल र युवा अवस्थाको....

बुटवलमा 'ब्राण्डेड' बन्न खोजिरहेको खाजा घर: ग्राहकलाई ३० प्रकारको परौठा, सञ्चालकलाई वार्षिक १० लाख

परौठा हाउस 'खाजा घर' मात्र होइन। यो 'ब्राण्डेड खाजा घर' हो। ५३ वर्षीय अर्जुन बुटवलमा परौठालाई खाजाको ब्राण्ड बनाइरहेका छन्। खाजा भनेकै मम, चाउमिन र....

जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

जोशीले ०६९ सालबाट चौकीडाँडामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। दिउँसो चक र डस्टरमा रमाउने जोशी साँझ-बिहान भने च्याउ खेतीमा रमाउँछन्।  उनको फार्ममा बाह्रै महिना....

हरिबोधिनी एकादशी : पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक

आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने....