बागमती प्रदेशमा देउवा प्यानलका बानियाँ सभापति, कमजोर देखियो केसी परिवार

बागमती प्रदेशमा देउवा प्यानलका बानियाँ सभापति, कमजोर देखियो केसी परिवार

काठमाडौँ : नुवाकोट कांग्रेसमा प्रभावशाली  केसी परिवारका २ सदस्य पार्टीको १४ औ महाधिवेशनमा नेतृत्वबाट बाहिरिएका छन्। जिल्ला सभापतिमा केदारनरसिंह केसी पराजित भएका थिए। बागमती प्रदेश अध्यक्षमा जगदीशनरसिंह केसी पराजित भएका छन्।

संस्थापन इतर समूहबाट सर्वसम्मत उम्मेदवार बनेका केसीलाई इतर समूहका सबै नेताको साथ थियो। काठमाडौँमा प्रकाशमान सिंह र गगन थापाको सहकार्य फापेको थियो। तर प्रदेश तहमा भने सिंह-थापा जोडीले जित निकाल्न सकेन।

नुवाकोटका पूर्व जिल्ला सभापति रहेका केसी अर्जुननरसिंहका आफ्नै भाइ हुन् भने गगनका ससुरा। संस्थापन इतर समूह बलियो मानिएको बागमतीमा कृष्ण सिटौलाको साथले संस्थापन समूहका इन्द्रबहादुर बानियाँले जिते।

पहिलो चरणमा यी दुईसँगै सिटौला समूहबाट भीमसेनदास प्रधान उठेका थिए। पहिलो चरणमै प्रधानले बानियाँलाई समर्थन गर्न राजी भए पनि उनले' भीमसेनदासको सय मत पनि आउँदैन' भनेर टिप्पणी गरेपछि प्रधान ब्याक हुन मानेनन्।

पहिलो चरणमा प्रधानको एक सय मत कटेर तेस्रो भए। बानियाँ पहिलो भए पनि ५१ प्रतिशत नआएपछि दोस्रो चरणको मतदान भएको थियो। दोस्रो चरणमा प्रधानले बानियाँलाई समर्थन गरेपछि केसी पराजित भए। बानियाँले १०८५ मत ल्याए भने केसीले ९२७ मत ल्याएका छन्।

नुवाकोटका केसी परिवारको कांग्रेसमा दबदबा चल्दै आएको थियो। १४ औँ महाधिवेशनमा भने महत परिवार अगाडि बढे। जिल्ला सभापति महत परिवारबाटै निर्वाचित भए। नुवाकोटको काँग्रेस राजनीतिमा केसी परिवारको टक्कर रामशरण महत र प्रकाशशरण महतसँग हुने गरेको छ।

रामशरण संस्थापन इतरका नेता हुन्। उनको भाइ प्रकाशशरण संस्थापनमा पनि पार्टी सभापतिका विश्वास पात्र। गत महाधिवेशनमा अर्जुननरसिंह केसी शेरबहादुर देउवा प्यानलबाट महामन्त्रीको उम्मेदवार भएर पराजित भएपछि पुरानै समूहमा फर्किए।

आफ्नो ससुरा उम्मेदवार बनेपनि महामन्त्रीमा सिटौला प्यानलबाट उम्मेदवार दिएका गगन १४ औँ महाधिवेशनमा सिटौला समूहबाट बाहिरिएका छन्। वडा देखी प्रदेशसम्म उनले सिंहसँग सहकार्य गरेका छन्। उनी महामन्त्रीका दाबेदार हुन्।

अर्जुननरसिंह र रामशरणले सहमति नभए सभापतिको उम्मेदवार भन्दै आएका छन्। तर पक्का भने छैन। प्रकाशशरण भने देउवा प्यानलबाट महामन्त्रीको दाबी गरिरहेका छन्।

१९ मंसिर, २०७८, ०२:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।