समाजमा बहिस्कृत हुने डरले खुल्दैनन् संक्रमित

समाजमा बहिस्कृत हुने डरले खुल्दैनन् संक्रमित

काठमाडौं : एचआइभी संक्रमित व्यक्तिहरु विशेषगरी पारिवारिक कारणले गर्दा परीक्षणको दायरामा आउन नसकेको विशेषज्ञ बताउँछन्।

राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रकी निर्देशक डा. सुधा देवकोटाले अवलोकनमा जाँदा संक्रमितहरु परीक्षणका लागि लुकेर आउने गरेको सुनाइन्। ‘फिल्डमा जाँदा परिवारले अस्वीकार गर्दा संक्रमितहरु अगाडि नआएको देखिन्छ,’ उनले भनिन्, ‘परिवारले नै सपोर्ट गरेको छैन।’

संक्रमितहरुले परिवारले सहयोग गरिहाले पनि समाजबाट बहिस्कृत हुनुपर्ने एचआइभी संक्रमित व्यक्ति खुल्न नसक्दा औषधि उपचारमा समेत समस्या देखिएको उनले बताइन्। डा. देवकोटाले तुलनात्मक रुपमा कम आयआर्जन भएका व्यक्ति नै बढी संक्रमित भएकाले परिवार र समाजबाट बहिस्कार भए के गर्ने भन्ने चिन्ता देखिएको बताइन्।

एनले भनिन्, ‘सामान्यतयाः आयआर्जन कम भएको मान्छेमा एचआइभी भएको थाहा भयो भने गाउँलेले नै निकाल्देलान्, भोकै परिएला भन्ने डर देखिन्छ।’

एचआइभी संक्रमितको जीविकोपार्जनका लागि सरकारले सानातिना भए पनि उद्योगलाई प्रोत्साहन गर्नुपर्ने डा. देवकोटाको तर्क छ। उनले भनिन्, ‘सरकारले संक्रमितका लागि सिपमुलक तालिम दिनुपर्छ।’

त्यसैगरी संक्रमितका बच्चालाई पढाउने व्यवस्था मिलाउन आवश्यक रहेको निर्देशक डा. देवकोटा बताउँछिन्। ‘उनीहरुको बच्चालाई पढाउने ग्यारेन्टी गरिदिनुपर्यो। ग्यारेन्टी छैन,’ उनले भनिन्, ‘१८ वर्षसम्मलाई मासिक एक हजार दिइएको छ। १८ पर्षपछि के हुन्छ भन्ने छैन।’

संक्रमितहरुलाई परीक्षणको पहिचान तथा रोगका बारेमा खुल्ने वातावरण बनाउनका लागि जीविकोपार्जनको व्यवस्था गर्नुपर्ने उनको सुझाव छ। संक्रमित व्यक्तिलाई रोगबारे खुल्न तथा रोगको रोकथाम तथा उपचारका लागि विभिन्न कार्यक्रम गरे पनि त्यो पर्याप्त नभएको स्वीकारिन्। 

औषधि उपचार गरेको खण्डमा एचआइभी संक्रमित व्यक्तिले पनि सामान्य जीवन जीउन सकिने सन्देश दिन आवश्यक रहेको उनी बताउँछिन्। उनी भन्छिन्, ‘एचआएभी औषधि खाए सामान्य जीवन बिताउन सकिन्छ। नजिक बस्दैमा, सँगै काम गर्दैमा सर्दैन भन्ने सन्देश दिनुपर्छ।’

केन्द्रको तथ्याङ्क अनुसार विश्वमा सन् १९८१ मा पहिलो पटक एचआइभी संक्रमित रिपोर्ट भएदेखि सन् २०२० को अन्त्य सम्ममा ७ करोड ९३ लाख व्यक्ति एचआइभी संक्रमित भइसकेका छन्। त्यसैगरी ३ करोड ६३ लाख व्यक्तिहरुको एड्सको कारणले मृत्यु भइसकेको छ। 

तथ्याङ्क अनुसार सन् २०२० मा एक लाख ५० हजार बच्चाहरुमा नयाँ संक्रमण भएको अनुमान छ। जुन सन् २०१० को तुलनामा ५३ प्रतिशतले घटेको छ। सन् २०१० मा ३ लाख २० हजार बच्चामा नयाँ संक्रमण भएको अनुमान थियो।

सन् २०२० को अन्त्यसम्ममा नेपालमा ३० हजार तीन सय व्यक्तिमा एचआइभी संक्रमण भएको अनुमान छ। नेपालमा एचआइभी संक्रमणको उच्च जोखिममा सईको माध्यमबाट लागुपदार्थ प्रयोग गर्नेहरु, यौनकर्मी, पुरुष समलिंगी तथा तेस्रोलिंगी र रोजगारिका लागि विदेशीनेहरु हुन्।

केन्द्रको रिपोर्ट अनुसार सुइद्वारा लागुऔषध प्रयोग गर्नेहरु र पुरुष समलिंगी यौनकर्मीहरुमा संक्रमणदर अरु जोखिम समूहभन्दा उच्च छ।

१५ मंसिर, २०७८, १२:१५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।