एमाले चितवनकी कमान्डर दिलकुमारी भन्छिन्- चितवन प्रचण्डको क्षेत्र होइन 

एमाले चितवनकी कमान्डर दिलकुमारी भन्छिन्- चितवन प्रचण्डको क्षेत्र होइन 

चितवन : नेकपा एमाले चितवनकी अध्यक्ष दिलकुमारी रावल ‘पार्वती’ पछिल्लो एक सातादेखि दिन-रात पार्टी महाधिवेशनको व्यवस्थापनमा खटिइरहेकी छिन्।

महाधिवेशन व्यवस्थापन मूल समितिमा सदस्य रहेकी दिलकुमारी अतिथि सत्कार, कार्यकर्ता व्यवस्थापन, सुरक्षा लगायतमा काममा जुटिरहेकी छिन्। 

जिल्ला अध्यक्ष भएकाले पनि उनलाई कामको चाप बढी छ। पार्टीका केन्द्रीय नेता, महाधिवेशन प्रतिनिधि, कार्यकर्ता र अतिथिको भीड छ चितवनमा। 

महाधिवेशन सम्पन्न गराउन कत्तिको प्रेसर छ ? भन्ने उकेराको प्रश्नमा राष्ट्रिय सभा सदस्य समेत रहेकी दिलकुमारी भन्छिन्, ‘सम्पूर्ण संगठन परिचालन भएको छ। तीन वर्षदेखि रोकिएका कामहरु पनि एक महिनामा सम्पन्न गर्यौं। पार्टीको आन्तरिक सुदृढीकरण संरचना निर्माण गर्यौं। त्यसको प्रेसर थियो, आज अन्तिम चरणमा आइपुगेका छौं। भोलि भव्य रुपमा कार्यक्रम उद्घाटन हुन्छ।’

चितवन एमालेको सांगठनिक एकताको आधार भएकोले एमालेले महाधिवेशन चितवनमै गर्न लागेको पनि उनले बताइन्। 

‘चितवन एमालेको सांगठनिक एकताको आधार हो। जनमत हो। २०७४ सालमा एक्लै लगेको भए पनि हामी ठूलो पार्टीको रुपमा स्थापित हुने थियौं। विगतमा हामीले ठूला कार्यक्रम गरेको अनुभवका आधारमा पनि हामीले महाधिवेशनका लागि चितवन नै रोज्यौं,’ उनले भनिन्।

हामीले अनेरास्ववियूको १८औं राष्ट्रिय सम्मेलन, मेची-महाकाली अभियानमा गरेको विशाल कार्यक्रम लगायत राष्ट्रियस्तरका कार्यक्रम गरेको अनुभवका आधारमा पनि महाधिवेशनका लागि चितवन सुगम भएको उनको दावी छ।

‘तराईका बुटवल, नेपालगञ्ज र जनकपुरमा हाम्रो महाधिवेशन भयो। तर चितवनमा भएको थिएन। विगतदेखि हाम्रो माग थियो, अहिले नेतृत्वले विश्वास गरेको छ,’ उनले भनिन्। 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चितवन आफ्नो क्षेत्र भएकोले एमालेको महाधिवेशन चितवनमा गर्नुको पछाडि आफूलाई प्रचण्ड सिध्याउने नीति रहेको अभिव्यक्ति दिइरहेको सन्दर्भमा दिलकुमारीको भनाइ छ, ‘प्रचण्डको अभिव्यक्ति डर र कायरताको अभिव्यक्ति हो। चितवन उहाँको क्षेत्र होइन। पहिला रोल्पा उठ्नुभयो। काठमाडौं लगायतका ठाउँमा उठेर तेस्रो पटक चितवनमा आउनुभएको हो। र, नेकपा एमालेसँगको गठबन्धनमा चुनाव जित्नुभएको हो।’

उनले २०६४ र २०७० को चुनावमा प्रचण्डले चितवनबाट किन चुनाव लड्नुभएन भन्ने प्रश्न समेत गरिन्। एमालेको उद्देश्य पार्टी लक्षित, व्यक्ति लक्षित नभएको भन्दै उनले वैकल्पिक राजधानीको रुपमा चितवन चर्चामा रहेकोले चितवनलाई ग्रेटर चितवनको परिकल्पना गरी महाधिवेशन स्थल रोजिएको बताइन्। 

तत्कालीन नेकपा हुँदा पुष्पलाल श्रेष्ठ, तुलसीलाल अमात्य, मनमोहन अधिकारीहरुले २०१७ सालमा तेस्रो महाधिवेशन चितवनमा गर्ने तय भएको थियो। राजा महेन्द्रले दलमाथि प्रतिबन्ध लगाएर निर्दलीय पञ्चायती व्यवस्था लादेपछि चितवनमा एमालेको महाधिवेशन गर्ने योजना तुहिएको थियो। 

९ मंसिर, २०७८, १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।