उकेरा स्वास्थ्य

जाडोमा छाला कसरी जोगाउने ? यी हुन् सिभिल अस्पतालका डर्माटोलोजिष्ट डा. शर्माका टिप्स्


चिसो मौसम सुरु भएसँगै छालासम्बन्धी समस्या भएर अस्पताल पुग्ने बिरामीको चाप बढेको छ। यो मौसममा चिसोका कारण छाला सुख्खा हुने, छालाको एलर्जी हुने जस्ता छालाजन्य समस्या बढ्छन्।

यो मौसममा अनुहार खस्रो हुने तथा अनुहारमा फुस्रोपनाको समस्या निम्तिएर अस्पताल पुग्ने बिरामीको संख्या बाक्लिन्छ।

छाला सुन्दरतासँग समेत सम्बन्धित भएकाले कतिपय त छालाको समस्याले तनावमा परेको पाइन्छ। विशेषगरी अनुहारको भागको छालामा समस्या भएका व्यक्तिमा सुन्दरताको चिन्ता परेको देखिन्छ।

जाडोमा छालालाई तनाव
जाडो मौसममा हावामा पानीको मात्रा समेत कम हुन पुग्छ। हावा चिसो हुन्छ। न्यून आद्रता (लो ह्युमिडिटी) हुन्छ। जसले गर्दा छालामा पानीको मात्रा घट्छ।

यही कारण जाडो मौसममा छाला खस्रो, फुस्रो तथा सुख्खा हुने, छाला चिलाउने जस्ता समस्या बढ्छन्।
जाडो मौसममा विशेषगरी बालबालिकाको गाला फुट्ने, आँखी भौंको बीच भाग तथा नाकको खोंचमा चाया बढी पर्ने, कत्ला पर्ने जस्ता समस्या देखिन्छन्।

जाडो मौसममा बढी देखापर्ने यस्ता समस्या विशेषगरी ‘सेबोरिक एक्जिमा’ र ‘सोरियासिस’ हुन्। जुन छालाका दीर्घ तथा वंशाणुगत समस्याका रूपमा देखिन्छन्।

जाडो मौसममा शरीरको घुँडाको भागदेखि तल कुर्कुच्चासम्म छालामा कत्ला निस्कने तथा हातखुट्टा फुट्ने जस्ता समस्या बढीजसो पाको उमेरका व्यक्तिमा देखिन्छन्।  

यस्ता समस्या बढ्दै गएको खण्डमा छालामा संक्रमण हुने जोखिम बढ्छ। वयस्क व्यक्तिको तुलनामा बालबालिका र पाको उमेरका व्यक्तिको छाला कमजोर हुन्छ। त्यसैले सामान्यतयाः यो उमेर समूहका व्यक्तिको छालामा बढी समस्या निम्तने जोखिम हुन्छ।

चिसोले गर्दा हात र खुट्टाका औंला सुन्निने तथा दुख्ने, निलो तथा रातो हुने र चिलाउने समस्या निम्तन सक्छन्। चिसोका कारण हुने यस्तो समस्यालाई चिकित्सकीय भाषामा ‘चिलब्लेन्स’ भन्ने गरिन्छ।

चिसो पानीमा धेरै खेल्ने व्यक्ति तथा गृहिणीमा यस्तो समस्याले बढी सताएको देखिन्छ। त्यसैगरी बाथ रोगको समस्या भएका व्यक्तिलाई पनि जाडो मौसममा यस्ता समस्याले सताउने जोखिम बढी हुन्छ।

चिसो मौसमले गर्दा हात–खुट्टाका रक्तनलि सुक्ने भएकाले रक्तप्रवाहमा असहजता निम्तन्छ। जसले गर्दा चिसोबाट उत्पन्न हुने समस्या निम्तने जोखिम हुन्छ।

त्यसैले छाला तथा हात–खुट्टामा हुने चिसोजन्य समस्याबाट बच्नका लागि सबैभन्दा पहिले चिसोबाटै बच्नुपर्छ।

धेरै चिसो तथा हिउँ पर्ने ठाउँमा त औंला कुहिने जोखिम समेत हुन्छ। जाडो मौसममा छाला सुख्खा हुँदा विभिन्न किसिमका एलर्जी हुन सक्छन्।

जाडो मौसममा आगो तथा हिटर ताप्ने व्यक्तिमा छालाको चिल्लोपना कम हुन जान्छ। जसले गर्दा छालामा सुख्खापनाको जोखिम बढ्छ।

शरीरमा पानीको मात्रा कम भएको खण्डमा छाला तथा हात–खुट्टा फुट्ने समस्या निम्तन्छन्। ऊन, नाइलन तथा रुखो फाइबरबाट बनेको कपडा लगाएको खण्डमासमेत एलर्जी भएर छाला चिलाउने जोखिम हुन्छ। त्यसैले सुतिबाट बनेका कपडा प्रयोग गर्नु उचित हुन्छ।

जाडो मौसममा छालामा ढुसिको समेत समस्या हुन सक्छ।

सामान्यतः पसिनाबाट शरीरमा भएको पानीको मात्रा छाला बाहिर जान्छ। तर, नदेखिनेगरी पनि शरीरबाट पानीको मात्रा शरीरबाहिर गइरहेको हुन्छ। यसरी पानीको मात्रा शरीरबाहिर निस्कँदा छाला सुख्खा तथा फुस्रो हुन्छ।

चिसो मौसमा चिल्लो पदार्थ तथा पसिना निकाल्ने शरीरका ग्रन्थीले सक्रिय रूपमा काम नगर्दासमेत छाला सुख्खा हुने लगायतका समस्या निम्तन्छन्।

जाडो मौसममा चिसोले गर्दा छालामा डाबर देखापर्ने समस्या हुन सक्छ। यस्तो समस्यालाई ‘कोल्ड अर्टिकेरिया’का नामले चिनिन्छ।

विशेषगरी पहाडी क्षेत्रमा डाबर आउने यस्तो समस्यालाई ‘जाबे’ भनेर समेत चिनिने गरेको छ। बाथको समस्या हुँदा समेत डाबर आउन सक्छ।

जाडो मौसम भनेर नुहाउन अल्छी गर्नु हुँदैन। नियमित नुहाउनुपर्छ। जाडोमा ननुहाउँदा कीटाणुका कारण छालामा घाउ समेत निस्कन सक्छ।

छाला बचाउने टेक्निक
छाला सधैं सफा तथा स्वस्थ राख्न आवश्यक हुन्छ। जाडो मौसममा पनि छाला सफा तथा स्वस्थ राख्ने विषयमा हेलचेक्राई गर्नु हुँदैन।

जाडो मौसममा कोठा सुख्खा हुन्छ। ‘ह्युमिडिफायर’ मेसिनको प्रयोग गरेर कोठा सुख्खा हुनबाट बचाउन सकिन्छ।

यसको प्रयोगले हावामा पानीको मात्रा रहन मद्दत मिल्छ। जसले गर्दा छालामा पानीको मात्रा पूर्ती हुन्छ।

चिसो मौसममा बाहिरी वातावरणबाट छालालाई बचाउनुपर्छ।

आगो तथा हिटर ताप्ता छाला रुखो हुने, छालामा चिल्लोपनाको कमी हुने, सुख्खा हुनेजस्ता समस्या निम्तन्छन्। त्यसैगरी बढी तातोपानीले नुहाउँदा छालामा भएको पानीको मात्रा कम हुन जान्छ। जसले गर्दा छाला झन् सुख्खा हुने भएकाले जाडो मौसममा मनतातो पानीले नुहाउने गर्नुपर्छ।

मनतातो पानीले पनि लामो समय लगाएर नुहाउनु हुँदैन। नरम किसिमको नुहाउने साबुनको प्रयोग गर्नुपर्छ। बाक्लो तथा न्यानो शरीर ढाक्ने किसिमको कपडा लगाउनुपर्छ।

छाला सुख्खा हुनबाट बचाउनका लागि नुहाइसकेको पाँच मिनेट भित्रमा मोश्चराइजरको प्रयोग गर्नु उचित हुन्छ। मोश्चराइजर, लोसन वा क्रिम छालामा लगाउनाले पानीको मात्रा छाला बाहिर उडेर जानबाट बचाउन सकिन्छ।

छाला सुख्खा तथा फुस्रो र खस्रो हुन नदिनका लागि ओलिभ आयल, नरिवल, बदाम जस्ता तेल प्रयोग गर्न सकिन्छ।

विशेषगरी जाडो मौसममा छाला सुख्खा हुनबाट बचाउन तथा  छालामा चिसोपना कायम राख्नका लागि प्रशस्त पानी पिउनुपर्छ।

त्यसैगरी भिटामिन ‘डि’ पाइने खाद्यपदार्थको उपभोग गर्न सकिन्छ। छालामा समस्या बढ्दै गएको खण्डमा छालारोग विशेषज्ञसँग परामर्श लिनुपर्छ।

जाडो मौसममा छालामा निम्तन सक्ने समस्याबाट बचे छालाको चमकता तथा लचकता कायम राख्न सकिन्छ। तर, छालामा चमकता कायम राख्नका लागि छालाको स्याहार–सुसार तथा सुरक्षामा ध्यान दिनुपर्छ।

(सिभिल अस्पतालका छाला तथा यौनरोग विशेषज्ञ (डर्माटोलोजिष्ट) डा. शर्मासँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

कोरोनाको नयाँ भेरियन्टको त्रासका बिच सुखद खबर : कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या शून्य

स्वास्थ्य मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार पछिल्लो २४ घण्टामा नेपालमा कोरोना सङ्क्रमणबाट कसैको मृत्यु भएन। तथ्याङ्क अनुसार २ सय ४६ जनामा सङ्क्रमणको पुष्टि भए पनि....

कोरोनाको नयाँ भेरियन्टबाट आत्तिनु पर्नेछैन : डा. शेरबहादुर पुन

दक्षिण अफ्रिका, हङकङ लगायतका ९ देशबाट नेपाल आउने यात्रुलाई प्रवेशमा रोक लगाउने निर्णय सरकारले गरेको छ। हाल नेपाल आउँदै गरेका अनिवार्य क्वारेनटिनमा बस्नु पर्नेछ।  डाक्टर....

भारतमा फेला पर्‍यो कोरोनाको नयाँ भेरियन्टका २ सङ्क्रमित

मन्त्रालयका अनुसार ६६ वर्ष र ४६ वर्षका पुरुषको सिक्वेन्सिङबाट उनीहरूमा कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमण भएको पुष्टि भएको हो। नयाँ भेरियन्ट नोभेम्बर २४ मा दक्षिण अफ्रिकामा....

स्पेनमा तीन, अमेरिकामा एक जनामा ओमिक्रोन पुष्टि

यस्तै पछिल्लो विवरणअनुसार अमेरिकामा पनि ओमिक्रोन फेला परेको छ। बुधबार अमेरिकाको क्यालिफोर्नियामा ओमिक्रोन फेला परेको हो। क्यालिफोर्नियाको स्वास्थ्य विभागका अधिकारीहरूका अनुसार यही नोभेम्बर २२ मा दक्षिण अफ्रिकाबाट....

अत्यावश्यक काममा बाहेक विदेश नजान स्वास्थ्य मन्त्रालयको आग्रह

मन्त्रालयका अनुसार साउथ अफ्रिका र एसियाका केही देशमा यो भेरियन्ट देखिए पनि हालसम्म नेपालमा भने देखिएको छैन। विश्व स्वास्थ्य सङ्गठनले यसलाई भेरियन्ट अफ कन्सर्न घोषणा....