एमाले अध्यक्षको उम्मेदवार बन्न भीम रावलले गरेका पाँच तर्क

एमाले अध्यक्षको उम्मेदवार बन्न भीम रावलले गरेका पाँच तर्क

काठमाडौँ : एमाले उपाध्यक्ष भीम रावलले पार्टीको नेतृत्व नै चरम गुटबन्दीमा लागेकाले पार्टीको १० औँ महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने निर्णय गरेको बताएका छन्।

उनले आफ्नो उम्मेदवारीबारे जानकारी दिन सार्वजनिक गरिएको अवधारण पत्रमा भनेका छन्‘ नेपाल कम्युनिस्ट पार्टीमा विगतमा देखिएका फुटका शृङ्खलाहरूलाई अब दोहोरिन दिइने छैन भन्ने नेतृत्वका बाचाहरू पानीको फोका जस्तै भए। जनताले ठुलो विश्वास र भरोसाका साथ दिएको मतको संरक्षण गर्दै जनआकाङ्क्षा पूरा गर्नेतर्फ दत्तचित्तका साथ लाग्नुपर्नेमा पार्टीको उच्च तह सचिवालयमा पद र अवसरको भागबन्डाबाहेक राष्ट्रिय तथा सङ्गठनात्मक महत्त्वका विषयमा गम्भीर छलफल हुने तत्समम्बन्धमा सु विचारित निर्णय लिने काम हुन सकेन।’

अध्यक्षमा आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्न रावलले गरेका तर्कहरू :

नेतृत्वदायी व्यक्तिहरू नै चरम गुटबन्दीमा

पहिलो समाजवादी क्रान्तिबाट स्थापित सोभियत सङ्घ ढल्दै गरेको बेला काठमाडौँमा नेकपा (एमाले) को पाँचौं राष्ट्रिय महाधिवेशन हुँदै थियो। राष्ट्रिय महाधिवेशनमा जननेता मदन भण्डारीको अगुवाइमा नेकपा (एमाले)को कार्यक्रम जनताको बहुदलीय जनवाद पारित भयो।

यस कार्यक्रमले राष्ट्रिय हित, सुरक्षा र देशभक्ति, वहुलवाद र प्रतिस्पर्धात्मक राजनीति, कानुनको शासन र सुशासनलाई विशिष्ट विशेषताका रूपमा अङ्गीकार ग¥यो। यसैको राजनीतिक र सङ्गठनात्मक मार्ग निर्देशनमा नेकपा (एमाले) निरन्तर सुदृढ हुँदै गयो।

छैटौँ राष्ट्रिय महाधिवेशन लगत्तै २०५४ मा नेकपा (एमाले) मा विभाजन भए पनि यो पार्टी, नेकपा (माओवादी) र राज्यका बिचको हिंसात्मक द्वन्द्व र निरंकुशतन्त्रद्वारा सिर्जित प्रतिकूल स्थितिमा पनि संगठनात्मकरुपमा क्रियाशील रहँदै देशव्यापीरुपमा सशक्त रूपमा सक्रिय रह्यो।

२०७५ साल जेठ ३ गते नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बिच पार्टी एकीकरण भई नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थापना पश्चात् पार्टी आन्तरिक अन्तर्विरोध र मतभेदको भुमरीमा पर्न थाल्यो।

उच्च कार्यकारी अधिकारयुक्त तथा संस्थापन पक्ष मानिने नेतृत्वदायी व्यक्तिहरू नै चरम गुटबन्दीमा निर्लिप्त भएको देखियो। एकीकरण हुनु पूर्व दुई पार्टीले एकताबद्ध हुने घोषणाका साथ चुनावमा संयुक्त उम्मेदवारी दिएर केन्द्रमा झन्डै दुई तिहाइको सरकार र सात प्रदेश मध्ये ६ प्रदेशमा बहुमतको सरकार सञ्चालन गर्ने महत्त्वपूर्ण ऐतिहासिक अवसर प्राप्त भए पनि त्यसको पूर्ण सदुपयोग हुन सकेन।

नेपाल कम्युनिस्ट पार्टीमा विगतमा देखिएका फुटका शृङ्खलाहरूलाई अब दोहोरिन दिइने छैन भन्ने नेतृत्वका बाचाहरू पानीको फोका जस्तै भए। जनताले ठुलो विश्वास र भरोसाका साथ दिएको मतको संरक्षण गर्दै जनआकाङ्क्षा पूरा गर्नेतर्फ दत्तचित्तका साथ लाग्नुपर्नेमा पार्टीको उच्च तह सचिवालयमा पद र अवसरको भागबन्डाबाहेक राष्ट्रिय तथा सङ्गठनात्मक महत्त्वका विषयमा गम्भीर छलफल हुने तत्समम्बन्धमा सु विचारित निर्णय लिने काम हुन सकेन।

सिद्धान्तलाई आहुति दिँदा पार्टी फुट्यो

पार्टीको विधान, पद्धति, कार्यक्रम र सिद्धान्तलाई सत्ता र शक्तिको बलिदेवीमा आहुति दिइयो। यस्तो स्थितिमा परिवर्तन गर्दै नेताहरूको बिचमा समझदारी गरी पार्टी एकता बचाउनको लागि २०७७ साल साउन ३० गते कार्यदल गठन भयो र त्यसले भदौ ६ गते प्रतिवेदन प्रस्तुत ग¥यो।

प्रतिवेदनलाई भदौ २६ गते बसेको स्थायी कमिटीको बैठकले अनुमोदन ग¥यो र त्यसको कार्यान्वयनका लागि भदौ २९ गते अध्यक्ष द्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा हस्ताक्षरित अन्तर पार्टी निर्देशन–५ जारी भयो। तर नेतृत्वले नै उक्त निर्देशनको अवज्ञा ग¥यो। स्थायी कमिटीबाट सर्वसम्मत निर्णय भई जारी अन्तर पार्टी निर्देशनमा “हामी पार्टीभित्रको तिक्ततापूर्ण अन्तर्विरोधलाई व्यवस्थापन गर्न, पार्टी एकताको रक्षा गर्न र पार्टीलाई राष्ट्रिय अभिभारामा केन्द्रित गर्न समर्थ भएका छौँ” भनी गरिएको घोषणालाई लत्त्याइयो। 

प्रतिनिधि सभा दुई–दुई पटक विघटन भई पार्टीलाई मत दिने जनतामा आघात पुग्यो। सत्ता स्वार्थका लागि जोसँग साठगाँठ गरे पनि हुने, जस्तो गठबन्धन गरे पनि हुने, जे गरे पनि हुने र जे भने पनि हुने अत्यन्त गलत प्रवृत्ति नेतृत्व तहमा नै झाँगिँदै गयो। फलस्वरूप  तीन वर्ष पुग्दा नपुग्दै २०७७ साल फागुन २३ गते, सर्वोच्च अदालतको फैसलाबाट नेकपा विघटन भई नेकपा (एमाले) पुनर्जीवित भएपछि यस पार्टीलाई फेरी सुसङ्गठित रूपमा अगाडि बढाउने दायित्व नेतृत्वमा आएको थियो।

तर त्यसो नभई पार्टीमा पुनः नयाँ चरण र स्वरूपको मतभेद, विवाद र समस्या उत्पन्न भयो र अन्तर्विरोध चर्कँदै गयो। त्यसको समाधानका लागि शीर्ष नेतृत्व तहको सहमति अनुसार गठित कार्यदलले २०७८ साल असार २७ गते पार्टीलाई एकताबद्ध रूपमा अगाडि बढाउन १०–बुँदे सिफारिस प्रतिवेदन तयार गरी नेतृत्व समक्ष प्रस्तुत ग¥यो।

सहमतिको कार्यान्वयनका लागि अनेकौँ प्रयास र वार्ता  भए। यी सबै प्रयास र वार्ता शीर्ष तहमा कायम नेतृत्वको टकराएका कारण सार्थक हुन सकेनन्। यसरी पटक–पटक पार्टीको विधि, पद्धति र एकता कायम गर्न गरिएका निर्णय र प्रयासलाई निरर्थक बनाइयो।  परिणामस्वरूप पुनर्जीवित नेकपा (एमाले) बाट पनि २०७८ साल साउन १० गते एउटा पङ्क्ति फुटेर नयाँ पार्टी स्थापना गर्ने बाटोमा लाग्यो।

सङ्घीय सरकार र सबै प्रदेश सरकारबाट नेकपा (एमाले) बाहिरियो। कसैको पनि योग्यता, क्षमता र दक्षता समस्याहरूको समाधान, अन्तरविरोधहरुको व्यवस्थापन गर्दै फराकिलो सोचका साथ राष्ट्र, जनता र पार्टीलाई एकताबद्ध तुल्याउने तथा प्राप्त उपलब्धिहरूको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्नेमा प्रकट हुन्छ भन्ने कुरा विचारणीय छ।

फुटेर गएको समूहले नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र) समेतसँग सहकार्य गर्दै प्रदेश सरकारमा सहभागिता कायम गर्यो। पाँच दलीय गठबन्धनबाट बनेको सरकार र सहकार्य निर्वाचनमा समेत जारी राख्ने कुरा गर्दै समन्वय समिति बनाइएको कुरा सार्वजनिक भएको छ।

यस्ता राजनीतिक घटना र परिघटनालाई नेकपाको विघटन र नेकपा (एमाले) मा उत्पन्न समस्या र फुटको असरको सन्दर्भमा समेत राखेर विश्लेषण गरिनुपर्दछ। कहाँ, कसको र कुन किसिमको त्रुटि, कमी र कमजोरीबाट उक्त किसिमको अप्रिय तथा देश र जनताको लागि नोक्सानदायी परिस्थितिको सिर्जना भयो भन्नेतर्फ ठन्डा दिमाग र आग्रहरहित किसिमले सोच्नु र विश्लेषण गर्नु आवश्यक छ।

उपर्युक्त पृष्ठभूमि र परिस्थितिमा हुनगइरहेको नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशन पार्टीलाई एकताबद्ध, सुसङ्गठित र समयका चुनौतीहरूको सामना गर्न सक्ने गरी क्रियाशील तुल्याउन अत्यन्त महत्त्वपूर्ण छ।

फुट र विभाजनको दुष्चक्रबाट जोगाउन

गत असोज महिनामा सम्पन्न विधान महाधिवेशनबाट पार्टीको विधान लगायतका राजनीतिक र सङ्गठनात्मक दस्ताबेजहरू पारित भए पनि त्यसमा उल्लेखित विषयहरूलाई प्राथमिकिकरण गर्दै कार्यान्वयन गर्न तद्नुकूलको नेतृत्व अपरिहार्य हुन्छ भन्ने अुनभवहरुबाट सिद्ध कुरा हो।

यस अर्थमा नेतृत्व चयनको विषय दीर्घकालीन महत्त्व राख्दछ। यस्तो यथार्थलाई मनन गरी महाधिवेशनलाई पार्टीको आन्तरिक एकता, पारस्परिक विश्वास र समझदारी स्थापित गर्ने अवसरका रूपमा लिनु बुद्धिमानी हुन्छ।

तर पार्टी एकताको लागि भएको १०–बुँदे सहमति र त्यसको कार्यान्वयनका लागि केन्द्रीय कमिटीको निर्णय बमोजिम जारी अन्तर पार्टी निर्देशन–१२ जसरी लागु हुनुपर्ने हो त्यसरी लागु नहुँदा उक्त किसिमको एकता, विश्वास र समझदारी स्थापित हुनमा व्यवधान सिर्जना हुनसक्ने आशङ्का विद्यमान छ।

यसले आगामी स्थानीय र आम निर्वाचनमा विपक्षीहरुसंगको प्रतिस्पर्धामा मात्र होइन पार्टी पङ्क्तिलाई सैद्धान्तिक, सङ्गठनात्मक र भावनात्मकरुपमा एकजुट बनाई सङ्गठनको विस्तार र सुदृढीकरण गर्दै फुट र विभाजनको दुष्चक्रबाट जोगाउने र वाञ्छित प्रतिफल हासिल गर्ने काममा समेत कुप्रभाव पार्न सक्छ।

नेपालको अस्मिता र सुरक्षा खतरामा

नेकपा (एमाले) ले आन्तरिक रूपमा उपर्युक्त प्रकारको समस्या सामना गरिरहेको बेला राष्ट्रिय र अन्तर्राष्ट्रिय राजनीतिका तरङ्गहरू पनि प्रतिकूल प्रकृतिका देखिँदै छन्। देशभित्र कार्यपालिका अस्थिर हुने, व्यवस्थापिका निष्क्रिय रहने र न्यायपालिका आन्तरिक द्वन्द्व, अराजकता र नैतिक मूल्यबाट स्खलित हुने स्थिति देखिएको छ।

शक्ति पृथकीकरण तथा संविधान र लोकतन्त्रका कतिपय स्थापित मूल्य–मान्यताहरू भत्किँदै वा भत्काइँदै छन्। राज्य र राजनीतिमा भ्रष्टाचार, अनियमित र स्वेच्छाचारी क्रियाकलाप बढिरहेका छन्।  राजनीतिक दलहरू मतभेद, फुट र द्वन्द्वको कुचक्रमा फसिरहेका देखिन्छन्।

कानुनी शासन र राष्ट्रिय हित अनुकूल समग्र राज्य संयन्त्र परिचालिन हुनुपर्ने सन्दर्भमा गम्भीर विचलन र समस्या प्रकट भइरहेका छन्। जनताको दैनिक जीवन र सरोकारका विषयको सम्बोधन गर्नेभन्दा राज्य र राष्ट्रिय राजनीति स्वार्थपरक मतभेद र अन्तर्विरोधमा रुमलिरहेझैँ देखिन्छ।

यही स्थितिमा देशका भूभागहरू बाह्य अतिक्रमणमा परेका छन्। नेपालको राजनीतिक, आर्थिक, सांस्कृतिक, सामाजिक र शैक्षिक क्षेत्रमा बाह्य घुसपैठ र हस्तक्षेप बढिरहेको छ।

नेपालको छरछिमेक र अन्तर्राष्ट्रिय राजनीति तथा परिवेशमा गम्भीर फेरबदल एवम् शक्ति सङ्घर्षका सङ्केत र परिणामसमेत देखा पर्न थालेका छन्। एसिया–प्रशान्त क्षेत्र सामरिक र आर्थिक दुवै दृष्टिले शक्ति राष्ट्रहरूको प्रतिस्पर्धा तथा शक्ति विस्तारको क्षेत्र बन्दै गइरहेको छ।

यसको प्रभाव नेपालको राजनीति, अर्थतन्त्र र सुरक्षा प्रणालीमा समेत पर्न थालेको  देखिन्छ। शक्ति राष्ट्रहरूले आफू बिचको तीव्र प्रतिस्पर्धा र द्वन्द्वमा नेपाललाई उपयोग गर्न विकास, सुरक्षा र सहयोगका विभिन्न रणनीतिक र कार्यनीतिक तुरुपहरू प्रयोग गरिरहेको देखिन्छ।

यसलाई नेपालको आन्तरिक राजनीतिक खिचातानी र स्वार्थपरक खेलले प्रश्रय दिइरहेको छ। फलस्वरूप नेपालको अस्मिता र हितको दीर्घकालीन सुरक्षामा समेत खतरा उत्पन्न हुनसक्ने देखिँदै छ। यस्तो स्थितिमा नेपालको बारेमा नेपाल सरकार तथा नेपाली जनताले स्वयं सोच्ने एवम् निर्णय गर्ने सार्वभौम अधिकार तथा मान्यतामा धक्का लागिरहेको छ र अझ बढी आघात पुग्न सक्ने देखिँदै छ।

कोरोना महामारी (कोभिड–१९) ले अर्थतन्त्र र जनजीवनमा पारेको असर, प्राकृतिक प्रकोपबाट उत्पन्न समस्या, बढ्दो बेरोजगारी, महँगी जस्ता समस्यासङ जुझ्नको लागि ठोस नीति, कार्यक्रम र निर्णयका साथ राष्ट्रिय शक्तिहरू एकजुट भएर अघि बढ्नुपर्ने चुनौती देशका सामु छ। 

उपर्युक्त परिस्थितिलाई गम्भीर रूपमा मनन गर्दै मैले नेकपा (एमाले) को एकता कायम गर्न कार्यदलमा सक्रियता र इमानदारीका साथ काम गरेँ। पार्टीमा उत्पन्न अन्तर्विरोध र समस्या समाधान गर्न कार्यदलको १०–बुँदे सिफारिस प्रतिवेदनको कार्यान्वयनमा जोड दिएँ।

मेरो यस्तो दृष्टिकोण झन्डै ५० वर्षको राजनीतिक जीवनमा विद्यार्थीकलादेखि पार्टीको बुद्धिजीवी क्षेत्र हुँदै केन्द्रीय कमिटी तथा संसदीय क्षेत्र एवम् सरकारमा जिम्मेवारी वहन गरिरहँदा जहिले पनि राष्ट्रिय एकता, पार्टीको आन्तरिक एकता, अन्तर्विरोध र द्वन्द्व व्यवस्थापनमा राख्दै आएको रुचि र खेल्दै आएको भूमिकाको निरन्तरता हो।

समृद्धिको पथमा अग्रसर रह पार्टीलाई नेतृत्व

नेकपा (एमाले) मा पछिल्लो समय उत्पन्न अन्तर्द्वन्द्वको व्यवस्थापनका लागि पनि मैले पार्टी अध्यक्ष र अन्य नेताहरूसँग अनेकौँ पटक वार्ता गर्नुका साथै मध्यस्थको समेत भूमिका निर्वाह गरेँ। तर आफ्नो अख्तियारीको सीमा बन्धन र कार्याधिकारी अरू नै भएकाले वाञ्छित परिणाम हासिल गर्न सकिएन। तर  पार्टीले थप क्षति व्यहोर्नु नपरोस् तथा राष्ट्रिय राजनीति र देशको लागि गर्नुपर्ने कर्तव्य पूरा गर्न नेकपा (एमाले) सक्षम बनिरहोस् भन्ने भावनाका साथ मतभेद, द्वन्द्व र कटुताका सबै अवरोधहरूलाई बेवास्ता गर्दै म पार्टी एकताको पक्षमा र विभाजन तथा फुटको विपक्षमा उभिएको छु।

यो कुनै पनि प्रकारको व्यक्तिगत स्वार्थ नराखी जनता र देशको उज्यालो भविष्य र सुरक्षाको एक मात्र लक्ष्य हृदयमा राखेर नै सम्भव भएको थियो। तर समाज र राजनीतिका कतिपय कुराहरू व्यक्तिको इच्छा वा आकाङ्क्षाभन्दा स्वतन्त्रपुरमा अगाडि बढ्छ भनेझैँ नेकपा (एमाले) भित्रका कतिपय आयामहरू देश, जनता र पार्टीको बृहत्तर हितका लागि मैले सोचे अनुरूप भएनन् र भइरहेका छैनन्।

तर यसबाट मैले उदासीन, उत्तेजित, निराश, हतोत्साहित र निष्क्रिय हुने कुरा हुन सक्दैन। किनकि सिद्धान्तनिष्ठ, विधि र पद्धतिसम्मत किसिमले सञ्चालित तथा जनता र देशको सर्वोपरि हितमा समर्पित सशक्त नेकपा (एमाले) केवल मेरो मात्र चाहना र सरोकारको विषय होइन, सिङ्गो पङ्क्ति र सबै देशभक्त लोकतन्त्र प्रेमी नेपालीहरूको चाहना र सरोकारको विषय हो।

अतः यस पार्टीको सिर्जना, विकास, विस्तार र प्रगतिमा म लगायत हजारौँ नेता, कार्यकर्ता र सदस्यहरूले बगाएको पसिना सधैँ सार्थक बनिरहोस् भनेर पार्टी केन्द्रीय कमिटीको उपाध्यक्षको हैसियतले गम्भीर भएर सोच्नु र दृढ प्रयत्न गर्नु मेरो पनि कर्तव्य हो।

त्यसैले देश, जनता र पार्टीका सामु आज भएका र भोलि आउन सक्ने चुनौतीहरूको सामना गर्न, सबै सकारात्मक सम्भावनाहरूलाई उद्घाटित गर्दै वर्तमान प्रतिस्पर्धी विश्वमा शान्ति र मानवताका अग्रदूत गौतम बुद्ध जन्मेको, विश्वको अग्लो हिमाल सगरमाथा उभिएको तथा वीरता र परिश्रमको लागि प्रसिद्ध जनताको मातृभूमि नेपाललाई शिर ठाडो गरी समृद्धिको पथमा अग्रसर रहने तुल्याउन पार्टीलाई नेतृत्व दिने अठोट गरेको छु। 

५ मंसिर, २०७८, १६:३८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।