उकेरा फिचर

हरिबोधिनी एकादशी : पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक


आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। कार्तिक शुक्ल एकादशीलाई हरिबोधिनी एकादशीका नामले चिनिन्छ।

आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने कार्तिक शुक्ल एकादशीको व्रत समाप्त गरिसकेपछि द्वादशीको दिन चातुर्मास्य व्रत पनि समाप्त गरिन्छ।

चातुर्मास्य व्रत गुरु एवं शुक्र अस्त भएको अवस्थामा पनि गर्न सकिने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ।

आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म जसले चातुर्मास व्रत गर्छ त्यो व्यक्तिले अनन्त फल प्राप्त गर्ने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ।

यसरी नियमपूर्वक चातुर्मास्य व्रत गर्ने क्रममा व्यक्तिले मृत्यु भएको अवस्थामा पनि सद्गति प्राप्त गर्ने धर्मशास्त्रीय ग्रन्थहरूमा उल्लेख गरिएको छ।

पुराण तथा मध्यकालीन धर्मशास्त्रीय निबन्ध ग्रन्थहरूमा एकादशीको विषयमा विशाल साहित्यको रचना गरिएको पाइन्छ। एकादशीका सम्बन्धमा पृथक किसिमले अनेकौं ग्रन्थहरूको निर्माण भएको देखिन्छ।

विभिन्न पुराणादि ग्रन्थहरूका अनुसार एकादशीको दिन अन्नादि भोजन गर्न निषेध गरिएको छ। पुराणादि ग्रन्थहरूमा भनिएको छ, ‘एकादशीको दिन ब्रह्महत्या समान सबै पापहरू अन्नमा गएर बस्छन्।’

त्यसैले एकादशीको दिन अन्न खाने व्यक्तिले पाप खाने भएकाले यस दिन अन्न नखानका निमित्त पुराणहरूले पटक–पटक निर्देश गरेको उल्लेख छ। जुन विषयलाई श्लोकमा यसरी उल्लेख गरिएको छ–
‘यानि कानि च पापानि ब्रह्महत्यासमानि च।
अन्नमाश्रित्य निष्ठन्ति सम्प्राप्ते हरिवासरे।।
तानि पापान्यवाप्नोति भुञ्जानो हरिवासरे।
रटन्तीह पुराणानि भूयो भूयो वरानने।।
न भोक्तव्यं न भोक्तव्यं सम्प्राप्ते हरिवासरे। नारदीय पुराण।’

यो श्लोकबाट के बुझ्न सकिन्छ भने एकादशीमा गरिने उपवासका सन्दर्भमा विभिन्न पुराण तथा धर्मशास्त्रीय ग्रन्थहरूमा अतिशय प्रशंसा गरिएको देखिन्छ।

कार्तिक शुक्ल एकादशीलाई प्रबोधिनी तथा हरिबोधिनी एकादशीका नामले पनि चिनिन्छ। यो एकादशीको व्रत गर्नाले जीवनमा गरिएका अनेक किसिमका पापहरूको नाश हुनुका साथै पुण्यहरूको वृद्धि हुन्छ।

यो एकादशीको महत्त्वलाई प्रष्ट्याउँदै भनिएको छ– प्रबोधिनी एकादशीको माहात्म्य पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक रहेको छ।

यो पृथ्वीमा गङ्गा, भागीरथीको स्थिति, समुद्र तथा सरोवरहरूको प्रभाव तबसम्म रहन्छ जबसम्म प्रबोधिनी तिथि आउँदैन अर्थात् हरिबोधिनी एकादशी अनन्त फलदायक रहेको छ।

हरिबोधनि एकादशीको महत्त्वलाई प्रष्ट्याउँदै भनिएको छ– हजार अश्वमेध र सय राजसूय व्रत गरेर जुन पुण्य प्राप्त हुन्छ त्यो सबै पुण्य एक पटक प्रबोधिनी एकादशीको उपवासबाट प्राप्त हुन्छ। जसको महत्व श्लोकमा यसरी प्रस्तुत गर्न सकिन्छ–
‘प्रबोधिन्याश्च माहात्म्यं पापघ्नं पुण्यवर्धनम्।
मुक्तिप्रदं सुबुद्धीनां श्रृणुष्व मुनिसत्तम।।
तावद्गर्जति विप्रेन्द्र गङ्गा भागीरथी क्षितौ।
यावन्नायाति पापघ्नी कार्तिके हरिबोधिनी।
तावद्जर्गति तीर्थानि ह्यसमुद्रं सरांसि च।
यावत्प्रबोधिनी विष्णोस्तिथिर्नायाति कार्तिकी।।
अश्वमेधसहस्राणि राजसूयशतानि च।
एकेनैवोपवासेन प्रबोधिन्यां लभेन्नरः।।’

श्लोकको प्रसंगमा हरिबोधिनी एकादशीको दिन एकछाक खानाले, साँझमा मात्र खानाले वा उपवास (अन्न नखाँदा) कस्तो पुण्यप्राप्त हुन्छ? भनेर नारदले सोधेको र ब्रह्माले बताएको प्रसङ्गलाई उद्धृत गर्दै भनिएको छ– प्रबोधिनी एकादशीको दिन एक छाक खानाले एक जन्मको पाप नाश हुन्छ भने साँझमा एक छाक खानाले दुई जन्मको पाप नाश हुन्छ।

त्यसैगरी हरिबोधनि एकादशीको दिन उपवास बस्नाले सात जन्मको पाप नाश हुन्छ। यस्तै सुमेरु तथा मन्दराचल पर्वत समान पापहरू जो जन्मजन्मान्तरमा गरिएका छन् ती सबै नाश हुने कुराको अतिशयोक्तिपूर्ण वर्णन पनि धर्मशास्त्रीय ग्रन्थमा गरिएको छ।

यसैक्रममा मनुष्यले गर्नुपर्ने आफ्नो कर्तव्यका सम्बन्धमा पनि वर्णन गरिएको छ। दुष्टकर्म गर्नेहरूका साथ सङ्गत गर्ने व्यक्तिहरू यमलोकका भागी बन्नुपर्ने कुराको उल्लेख गर्दै सत्कर्ममा लाग्न र आफ्नो कर्तव्य पथमा अग्रसर हुन प्रेरित गरिएको छ।

श्लोकमा भनिएको छ– ‘जो अधमले साधु(सज्जन)लाई अपमान गरेर आनन्दित हुन्छन् तथा यसरी साधुलाई अपमानित गरिरहेको अवस्थामा अपमान गर्ने व्यक्तिलाई जसले रोक्दैन त्यस्ता मूढ पुरुषले आफ्नो कुल नै नाश गर्दछन्।’

शठ, पिशुन(चुगलखोर) र भ्रष्टाचारी व्यक्ति दान तथा यज्ञ गरेर पनि मुक्त हुन सक्दैन। जसको वर्ण श्लोकमा यसरी गरिएको छ–
‘आचारभ्रष्टदेशस्य पिशुनस्य शठस्य च।
ददतो जुह्वतो वापि गतिस्तस्य न विद्यते।।’

यो हरिबोधिनी एकादशी माहात्म्यको २४औं श्लोक हो। यो श्लोकको अगाडि भनिएको छ– मानिसले कहिल्यै पनि अशुभ तथा लोकनिन्दित कर्म गर्नुहुँदैन। सधैं सदाचारी हुनुपर्दछ। जसको प्रभावका कारण कहिल्यै पनि धर्मको नाश हुने छैन। यो सन्देशको वर्णन श्लोकमा यसरी गरिएको छ–
‘तस्मान्न त्वाचरेत्किञ्चिदशुभं लोकगर्हितम्।
सदाचारवता भाव्यं यथा धर्मो न नश्यति।।’    

श्लोकमा भनिएको छ– स्नान, दान, जप, होम, स्वाध्याय र भगवान् विष्णुको पूजा प्रबोधिनी एकादशीमा गरेको अवस्थामा त्यसको फल कोटि(करोड) गुणा बढी हुन्छ।

जन्मदेखि मनिसले जे जस्ता पुण्यकर्म आर्जन गरेको छ ती सबै पुण्य कार्तिक व्रत(हरिबोधिनी व्रत) नगरेको अवस्थामा सबै नगरे जस्तै हुन्छन्।

यस्तो एकादशीको माहात्म्य सुनेर नारदले यसको विधानका सम्बन्धमा सोधेपछि पुनः ब्रह्माले व्रतको विधिका सम्बन्धमा बताएको प्रसङ्ग छ। एकादशीको व्रत गर्ने हो त्यो व्यक्ति ब्रह्म मुहूर्तमा उठेर दाँत माझेपछि स्नान गर्नुपर्दछ। यसरी स्नान गर्दा नदी, तलाऊ, कूवा तथा घरमै पनि आफ्नो इच्छाअनुसार स्नान गरिसकेपछि भगवान् केशवको पूजा गरेर कथा सुन्नुपर्छ।

यस्तै रात्रिको समयमा भगवान् विष्णुको समीपमा जागरण रहेर गीत, नृत्य तथा वाद्यवादन गरेर कृष्णकथा श्रवण गर्नुपर्छ। यसरी विष्णुको पूजा गर्दा तुलसी पत्रले गर्नुपर्ने कुराको उल्लेख पनि गरिएको छ। कार्तिक महिनामा तुलसीको ठूलो माहात्म्य बताइएको छ।

धर्मशास्त्रीय ग्रन्थमा भनिएको छ– तुलसीको दर्शन गर्नाले, छुनाले, गुणानुवाद गर्नाले अर्थात् तुलसीको कथा सुन्नाले, नमस्कार गर्नाले, स्तुति गर्नाले, रोपण तथा तुलसीको विरुवा लगाउनाले तुलसीमा जल अर्पण गर्नाले तथा प्रतिदिन तुलसीको पूजा गरेको अवस्थामा तुलसी मङ्गल दिने हुन्छिन्।

यसरी नौ प्रकारको तुलसीप्रतिको भक्ति जसले प्रत्येक दिन गर्छ त्यो व्यक्ति हजार करोड वर्षसम्म विष्णुको समीपमा रहन पाउँछ।

तुलसीको महत्त्वका सम्बन्धमा अझ प्रष्ट्याउँदै भनिएको छ– तुलसीको मञ्जरी भगवान् विष्णुलाई समर्पण गर्ने व्यक्तिले करोडौं गाईदान गरेको फल प्राप्त गर्छ। यही कारण हरिबोधिनी एकादशीको दिन घर–घरमा तुलसीको पूजा अर्चना गर्ने प्रचलन रहेको छ।

चान्द्रमास अनुसार एक वर्षमा शुक्ल र कृष्ण गरी जम्मा २४ एकादशी पर्दछन्। जुन वर्षमा मलमास (अधिकमास) परेको हुन्छ त्यो वर्ष थप दुई एकादशी पर्दछन्।

यसरी ती दुई एकादशीलाई पनि जोड्दा जम्मा एकादशीको सङ्ख्या २६ हुन आउँछ। आषाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी भनिन्छ। त्यो एकादशीको राती भगवान् विष्णु सुत्ने र कार्तिकशुक्ल एकादशीको दिन विष्णु जाग्ने हुनाले यो एकादशीको नाम हरिबोधिनी राखिएको हो।

वर्षातको समयका चार महिना भारत वर्षका धेरैजसो स्थानमा यातायातको सुविधा प्राचीन कालमा थिएन। जसले गर्दा सम्पूर्ण काम त्यो समयमा ठप्प हुन्छन्।

त्यसैले वर्षादको समयमा भगवान् विष्णु पनि सुतेको परिकल्पना वैदिक सनातन धर्ममा गरिएको देखिन्छ। यति मात्र होइन भाद्र शुक्ल एकादशीका दिन भगवान् विष्णुले कोल्टे फेर्नुहुन्छ भन्ने मान्यता छ। जसले गर्दा त्यो दिनलाई हरिपरिवर्तिनी एकादशीको नामले चिनिन्छ।

एकादशीको व्रत नित्य र काम्य दुवै रहेको छ। नित्यकर्म गर्नै पर्ने हुन्छ भने काम्यकर्म कुनै किसिमको कामनाले गरिने व्रत हो।

यदी एकादशीको व्रत पनि कुनै कामनाका साथ गरेको अवस्थामा आफ्नो कामना पूर्ण हुने कुराको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ।

उपवासको लाभ
उपवास शब्दको शाब्दिक अर्थ ईश्वरको नजिकमा बस्नु हो। यसरी हेर्दा उपको अर्थ नजिक र वासको अर्थ बस्नु भन्ने हुन्छ।

ब्रह्मवैवर्त पुराणका अनुसार सम्पूर्ण पापकर्मबाट तथा इन्द्रियहरूलाई तृप्त बनाउने कार्यबाट टाढा रहेर गुणले युक्त ईश्वरका साथ बस्नु नै उपवास हो।

वास्तवमा एकादशी व्रतको पालन गर्नाले धर्म, अर्थ, काम र मोक्ष प्राप्त हुन्छ भन्ने धार्मिक विश्वास छ। एकादशीको व्रत सम्पूर्ण कामना प्राप्त गर्ने किसिमको हुने भएकाले विप्रादिले विष्णुका लागि अत्यन्त प्रियकारक यो व्रत गर्नु उपयुक्त हुन्छ।

एकादशीको व्रतबाट स्वर्ग, मोक्ष, आरोग्य, राम्री पत्नी, अशल पुत्र प्राप्त हुन्छ। गङ्गा, गया, काशी, पुष्कर, वैष्णवक्षेत्र आदिमध्ये कुनै पनि एकादशी बराबर हुन सक्दैनन्।

एकादशीमा अन्न ग्रहण गर्न नहुने कारण
प्रत्येक महिनाको शुक्ल र कृष्ण पक्षको एकादशीदेखि पूर्णिमा तथा अमावास्यासम्म समुद्रमा ज्वारभाटा आउँछ र त्यो ज्वारभाटा अत्यन्त अग्लो हुन्छ।

यसको कारण यी दिनमा चन्द्रमा पृथ्वीको अत्यन्त नजिक हुन्छ र चन्द्रमाले पृथ्वीबाट पानी आफूतर्फ आकर्षित गर्दछ।

मनुष्यको शरीरमा चार भागमा तीन भाग पानी नै हुन्छ। मनुष्यको शरीरमा पनि चन्द्रमाको त्यो प्रभाव परेको हुन्छ।

मानिसले अन्न ग्रहण गरेको अवस्थामा अन्नले त्यो पानीलाई खिच्दछ। चन्द्रमाले पनि मानिसको शरीरमा रहेको त्यो पानीलाई खिचिरहेको हुन्छ। जसले गर्दा मानिस रोगी हुने सम्भावना रहन्छ।

मनुष्यको शरीर पनि एक मेसिन जस्तै हो। हामीले दिनमा तीन पटक भोजन गर्छौं। जसले गर्दा मानिसको शरीरलाई विश्राम मिल्दैन।

हामीले पन्ध्र दिनमा एक दिन भोजन नगरेको अवस्थामा मानिसको शरीरलाई विश्राम मिल्छ। एकादशीको दिनमा मनलाई एकाग्र बनाएर जगत्का पालनकर्ता विष्णुप्रति समर्पित गरेको अवस्थामा शरीर र मन स्वस्थ तथा तन्दुरुस्त बन्छ।

(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. खनालसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

जोशीले ०६९ सालबाट चौकीडाँडामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। दिउँसो चक र डस्टरमा रमाउने जोशी साँझ-बिहान भने च्याउ खेतीमा रमाउँछन्।  उनको फार्ममा बाह्रै महिना....

अधिवक्ता टीकाराम भट्टराईको अनुभव : भाइटीका लगाउन जाँदा स्पष्टीकरण दिनुपर्‍यो

मुलुकभर बहुदल पुनर्स्थापनाको लागि आन्दोलनको मुस्लो सल्किँदै थियो २०४६ सालमा। त्यतिबेला तत्कालीन मालेले आफू निकट विद्यार्थीलाई दशैं र तिहारमा घर नजान निर्देशन दिएको थियो। टीकाराम....

'हाडनातामा विवाह रोक्न भाइटीका लगाउन सुरु गरियो भन्नु गलत हो'

कार्तिक शुक्ल द्वितीयाका दिन यमुनास्नान तथा यमपूजन  गरिन्छ। यो दिन दिदी बहिनीको घरमा गई दाजु भाइले भोजन गर्नुलाई निकै फलदायी मानिन्छ। नेपाली परम्परामा दिदी बहिनीले....

स्वयंलाई देवता मानेर गरिने पूजा : म्हपूजा

संस्कृतिविद् सत्यमोहन जोशीले ‘म्ह र म्हपूजा’ विषयक लेखमा सजीवतालाई नै म्हपूजा गरिने हो भन्नुभएको छ।  संस्कृतिविद् बलदेव जुजुका अनुसार म्हपूजाको अभिप्राय वर्षभरि आइपर्न सक्ने समस्याहरु....

वर्षकै उत्तम तीन दिनमध्येको एक आज : बलि राजा पाताल पुर्‍याइएकाे र शिवले जुवा हारेकाे दिन

कार्तिक शुक्ल प्रतिपदालाई वर्षभरिका उत्तम तीनमध्ये एक दिन मानिन्छ। यसै दिन नेपाल संवत्को नयाँ वर्ष पनि आरम्भ हुन्छ। नेवारी समुदायमा यो दिन 'म्ह' पूजा गर्ने....