स्वयंलाई देवता मानेर गरिने पूजा : म्हपूजा

स्वयंलाई देवता मानेर गरिने पूजा : म्हपूजा

नेवार समुदायमा गरिने म्हः पूजाको बारेमा विभिन्न कथनहरु छन्। आफूले आफैंलाई, आफ्नो मन, वचन, आत्माका साथै स्वयंलाई देवता मानी पूजा गर्नु ‘म्हपूजा’ हो। आफूभित्र नै ब्रम्हाण्ड छ। ब्रम्हाण्डको शक्ति छ। 

संस्कृतिविद् सत्यमोहन जोशीले ‘म्ह र म्हपूजा’ विषयक लेखमा सजीवतालाई नै म्हपूजा गरिने हो भन्नुभएको छ। 

संस्कृतिविद् बलदेव जुजुका अनुसार म्हपूजाको अभिप्राय वर्षभरि आइपर्न सक्ने समस्याहरु सुल्झाउँदै जीवनलाई अघि बढाउने दह्रो पाइला चाल्नु हो।

त्यस्तै संस्कृतिविद् यज्ञमान पति बज्राचार्यको भनाइ अनुसार म्हपूजा भनेको शरीर पूजा मात्र हो। चित्त पूजा होइन्। चित्तको बासस्थान भने शरीर हो। हरेक मानिसको आत्माभित्र आफ्नै तथागत रहेको हुन्छ, जसमा आत्मा रहन्छ, हात, खुट्टा, शरीर चलायमान हुन्छ, वुद्धि विचार गर्ने काम सिकाउँछ, शरीरलाई नियन्त्रण गरेर अघि बढाउनु नै तथागत हो। तथागतलाई पूजा गर्नु नै म्हपूजा हो।  

त्यस्तै म्हपूजालाई आत्मा पूजा भन्नेहरु पनि छन्। बौद्ध धर्माबलम्वीहरू बुद्ध धर्म संघ कुलदेवता र इष्टदेवहरुलाई म्हपूजाको नाममा पुज्छन् भने हिन्दू धर्मावलम्बीहरु बलिराजालाई पुज्ने गर्दछन्। दुवै धर्मावलम्बीहरुले म्हपूजाको मूल आशाको रुपमा त्याग र दानशीलताको उद्धार निमित्त सदाकाल उत्सर्ग भइरहोस् भनी त्याग भावनालाई बर्सेनी स्मरण गर्दै पूजा गर्दछन्। 

म्हपूजालाई पञ्चतत्वको पूजा हो भन्नेहरु पनि छन्। मानिसको शरीर पञ्चतत्वबाट बनेको हो। पञ्चतत्वलाई सञ्चालन गर्ने गुणलाई नै म्हपूजाको रुपमा पूजा गरिन हो। शंखधर साख्वाःले उपत्यका भित्रका सबै जनतालाई ऋणमुक्त गरी नयाँ किसिमले जीवनयापन गर्न म्हपूजा गरी वर्षभरि राम्रा राम्रा कार्य गर्न सकुन् र विकास गर्न सकुन् भनी म्हपूजा सम्पन्न गर्दै आएका हुन् भन्नेहरु पनि छन्। तर म्हपूजा परम्परा नेपाल संवत् स्थापित हुनुभन्दा पहिलेदेखि चल्दै आएको नेवारहरुको आफ्नै मौलिक पूजा हो। यो पूजा कहिले सुरु भयो भन्नेबारे जानकारी छैन। 

‘म्हपूजा’ बलिराजाको पूजा हो भन्नेहरु पनि छन्। बलिराजाले लक्ष्मीलाई आफ्नो बसमा पारिराखेकोले लक्ष्मीका पति नारायणले वामनको रुप धारण गरी बलिराजासँग तीन पाइला जमिन् मागे। बलिराजाले पनि दान दिन तयार भए। वामन अवतार लिएका नारायणले एउटा पाइला स्वर्गमा, अर्काे पृथ्वीमा र तेस्रो बलिराजाको टाउकोमा टेकी बलिराजालाई पातालपुरी पु¥याई लक्ष्मीलाई आफ्नो बसमा लिए र बलिराजा पाताल पुगी पृथ्वीको भार वहन गरेकाले बर्सेनी म्हपूजा गरी यिनीलाई पूजा गर्दै आएको हो भन्नेहरु पनि छन्। त्यसैले म्हपूजा गर्दा बलिराजालाई पनि पूजा गर्ने चलन चल्दै आएको हो भन्ने गरिन्छ। 

म्हपूजा गर्ने ठाउँमा भूइँ लिपेर शुद्ध पारी त्यसमाथि पानी सिंचन गरी मण्डप लेख्ने गर्दछन्। घर परिवारमा जति पनि सदस्य छन् म्हपुजा गर्दा ती सबैका लागि एक एक वटा लेखिने गरिन्छ। म्हपूजा गर्नेहरू पूर्व वा पश्चिम फर्केर बस्छन् त्यसकारण मण्डप पनि सोही अनुसार लेख्नुपर्छ।

म्हपूजा होस् वा भाइटिका होस्, पूजा गरिने व्यक्तिका लागि मात्र नभई उनीहरुको मण्डपको सुरुमा अर्काे एउटा मण्डप लेखिन्छ। यसरी लेखिएको मण्डप आगम (कूल) देवताको निमित्त हो भने पुछारको मण्डप यमराजको निमित्त लेखिएको हो भनिन्छ। कसैकसैले आफ्नो परिवारको मण्डपको पुछारमा नाङ्लो र कुचोको निमित्त पनि मण्डप बनाई तिनीहरुको पनि म्हपूजा गर्ने गर्दछन्। 

म्हपूजा गर्दा सुरुमा बस्नेले कुल देवताको र पुछारमा बस्नेले यमराजको मण्डपमा पूजा गरिदिन्छन्। सगुन म्हपूजा गर्दा मण्डपमा पूजा सकिने बित्तिकै वर्षभरि शुभ होस्, दीर्घायु होस्, सबैतिर मङ्गलमय होस् भनी आशिष थापी तीन थरीको सगुन ग्रहण गर्ने गर्दछन्। यसरी तीन थरी सगुन म्हपूजाको उपलक्ष्यमा मात्र  ग्रहण गर्ने गर्दछन्। 

म्हपूजा नेवारहरुको आफ्नै मौलिक परम्परा हो। नेवारहरुको म्हपूजामा बनाइने मण्डप एउटै जातमा पनि फरक–फरक हुने गर्दछ भने ठाउँ अनुसार पनि फरक–फरक हुने गर्दछ। म्हपूजाको महत्व एउटै भए पनि त्यसमा लेखिने मण्डप भने परिवारैपिच्छ फरक पर्न सक्छ। तर यो पूजाको जीवन दर्शन भने एउटै हो।

१९ कात्तिक, २०७८, १३:४१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।