उकेरा फिचर

तिहार विशेष

वर्षकै उत्तम तीन दिनमध्येको एक आज : बलि राजा पाताल पुर्‍याइएकाे र शिवले जुवा हारेकाे दिन


कार्तिक शुक्ल प्रतिपदा तिहारको चौथो दिन हो। यस दिन विशेषगरी बलिराजाको पूजा गर्ने चलन छ। 

कार्तिक शुक्ल प्रतिपदालाई वर्षभरिका उत्तम तीनमध्ये एक दिन मानिन्छ। यसै दिन नेपाल संवत्को नयाँ वर्ष पनि आरम्भ हुन्छ। नेवारी समुदायमा यो दिन 'म्ह' पूजा गर्ने चलन छ।

आजैका दिन देउसी खेल्ने चलन छ। देउसी भैलोकै प्रसङ्गमा बलि राजाको कथन पनि जोडिन्छ। पौराणिक मान्यताअनुसार राजा बलि बचनमा प्रतिबद्ध थिए। 

विष्णुले बलिलाई ठीक ठाउँमा ल्याएको दिन बलिपूजा
बलिले आफ्नो प्रताप (शक्ति)का कारण स्वर्ग, मर्त्य र पाताल तीनै लोकलाई आफ्नो वशमा पार्न सफल भएका थिए भन्ने पौराणिक कथन छ। 

बलि राजामा धनसम्पत्ति तथा शक्तिको अहम् थियो। यस्ता प्रतापी बलि राजालाई ठीक ठाउँमा ल्याउनका लागि भगवान विष्णुले ब्राह्मणको 'वामन' (होचो) रूप लिए भन्ने कुराको वर्णन विभिन्न पुराणहरूमा उल्लेख छ।

पौराणिक कथनअनुसार आफूलाई तीन पाइला जमिन दिनका लागि वामनरूपी विष्णुले राजा बलिलाई प्रतीज्ञा गराए। बलिले पनि तीन पाइला जमिन दिने प्रतीज्ञा गरे। 

बाचाअनुसार विष्णुले पहिलो पाइला चाले। त्यसले सम्पूर्ण पृथ्वी ढाके। अर्को पाइलाले आकाश ढाके। तेस्रो पाइला राख्ने ठाउँ नभएपछि कहाँ पाइला टेक्ने भन्दै विष्णुले बलिलाई सोधे। 

त्यसपछि बलिले विष्णुलाई तेस्रो पाइला आफ्नै शीरमा राख्न भने। बलिले भनेअनुसार विष्णुले बलिको शीरमा आफ्नो पाइला राखेर बलिलाई पातलमा पुर्‍याइदिए। 

त्यसपछि विष्णुले बलिलाई पातालको राज्य गर्ने अनुमति दिनुका साथै भविष्यमा स्वर्गको राजा इन्द्रको स्थिती प्रदान गर्ने वचन दिएको पनि विभिन्न पुराणहरूमा पाइन्छ।

बलि र वामनरूपी विष्णुको त्यो प्रसङ्गदेखि नै राजा बलि दानी राजाको रूपमा चित्रित हुनुका साथै कार्तिक शुक्ल प्रतिपदाका दिन बलिको पूजा गर्ने चलन रहेको छ। 

यसरी पूजा गर्ने कार्तिक शुक्ल प्रतिपदाको दिन श्वाति नक्षेत्रले युक्त भएको अवस्थामा अझ फलदायी हुने धार्मिक विश्वास छ। 

राजा बलिका साथ उनकी पत्नी सन्ध्याबलिको पनि यो दिन पूजा गर्ने चलन छ। यसरी बलिको पूजा गर्दा श्लोकबाट पूजा गर्नुपर्ने कुराको उल्लेख धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ। जुन श्लोक यस्तो छ–

'बलिराजा नमस्तुभ्यं विरोचन सुत प्रभो।
भविष्येन्द्र सुराराते पूजेयं प्रतिगृह्यताम्।।'

यो श्लोकको अर्थ 'हे विरोचनका छोरा बलि राजा हजुरलाई प्रणाम छ। देवताका शत्रु तथा भविष्यका इन्द्र हजुरले हाम्रो पूजालाई ग्रहण गर्नुहोस्', भन्ने हुन्छ। यही कामनाका साथ बलिको पूजा र अराधना गर्ने गरिन्छ।

बलि राजाको पूजा गरिसकेपछि क्षेत्रीहरूको गाथामा आधारित नृत्य, गान, नाटक, लगायतकासाथ रातभर जागै बसेर आनन्द मनाउने विषयको उल्लेख पनि धर्मशास्त्रीय ग्रन्थहरूमा गरिएको छ। 

त्यसैले नेपाली परम्परामा विशेषगरी यो दिन देउसी भैलो खेल्ने र आफ्नो क्षमताअनुसार दान दिने चलन छ।

गोवर्धन पर्वतको पूजा
विशेषगरी कार्तिक शुक्ल प्रतिपदाको दिन दिएको दानले भगवान विष्णु अत्यन्तै प्रसन्न हुने र अक्षय फल प्राप्त हुने विश्वास छ। यही दिनलाई कतिपय नेपाली पञ्चाङ्गमा गोरु पूजा भनेर पनि उल्लेख गरेको पाइन्छ। 

यो दिनलाई गोवर्धन पूजाका नामले समेत चिनिन्छ।

लक्ष्मी पूजाका दिन पूजा गरेका गाईले गोब्र्याएको गोबरलाई जम्मा गरेर गोवर्धन पर्वत बनाई कार्तिक शुक्ल प्रतिपदाको दिन गोवर्धन पर्वतको पूजा गर्ने शास्त्रीय मान्यता तथा चलन छ। 

यो दिन गोरुको पनि पूजा गर्ने चलन छ। परम्परागत रूपमा हेर्ने हो भने औंसीकै दिन गाई र गोरु दुवैको पूजा गर्ने गरिन्थ्यो। 

पछि मात्रै गाई र गोरुको पूजा फरक–फरक दिन गर्ने चलनको विकास भएको पाइन्छ।

पार्वतीसँग भगवान् शिवले जुवा हारेको दिन
बलि प्रतिपदालाई वामन पुराणमा वीर प्रतिपदा पनि भन्ने गरिन्छ। यो दिन द्यूत (जुवा) खेल्ने परम्परागत मान्यता छ। 

यो दिन भगवान् शिव आफ्नी पत्नी पार्वतीसँग द्यूत (जुवा खेलेको) क्रिडा गरेको भन्ने कुराको वर्णन विभिन्न पुराणमा गरिएको छ। 

जुन क्रिडामा देवी पार्वतीले भगवान शिवलाई हराएकी थिइन्। पार्वतीसँग जुवा हारेपछि शिव अत्यन्तै दुःखी भएका र देवी पार्वती अत्यन्त खुशी भएकी थिइन्। 

यो दिन जुवा हार्नेको वर्षभरि खति हुने र जित्नेको वर्षभरि कल्याण हुने जनविश्वास समेत रहेको छ। यही परम्पराका कारण आज पनि विशेषगरी यो दिन जुवा खेल्ने गरिन्छ।

सन् १९५५ मा नेपालमा ३० लाख रुपैयाँको बाजी हारजित भएको विषयको उल्लेख धर्मशास्त्रको इतिहासका लेखक पाण्डुरङ्ग वामन काँडेले उल्लेख गरेका छन्।

(वाल्मीकि विद्यापीठ, धर्मशास्त्र विभागका सह–प्राध्यापक डा. खनालसँग उपेन्द्र खड्काले गरेको कुराकानीमा आधारित।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

जोशी दम्पत्तिको च्याउ खेती: माग धान्नै मुस्किल, कमाइ १५ लाख

जोशीले ०६९ सालबाट चौकीडाँडामा व्यावसायिक रूपमा च्याउ खेती गरिरहेका छन्। दिउँसो चक र डस्टरमा रमाउने जोशी साँझ-बिहान भने च्याउ खेतीमा रमाउँछन्।  उनको फार्ममा बाह्रै महिना....

हरिबोधिनी एकादशी : पाप नाशक, पुण्यवर्धक र मुक्तिप्रदक

आषाढ शुक्ल पौर्णमासी, एकादशी, द्वादशी वा श्रावण सङ्क्रान्तिमा सूर्य मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्छन्। विशेष गरेर आषाढ शुक्ल एकादशीदेखि चातुर्मास्य व्रतको आरम्भ गरिन्छ भने....

अधिवक्ता टीकाराम भट्टराईको अनुभव : भाइटीका लगाउन जाँदा स्पष्टीकरण दिनुपर्‍यो

मुलुकभर बहुदल पुनर्स्थापनाको लागि आन्दोलनको मुस्लो सल्किँदै थियो २०४६ सालमा। त्यतिबेला तत्कालीन मालेले आफू निकट विद्यार्थीलाई दशैं र तिहारमा घर नजान निर्देशन दिएको थियो। टीकाराम....

'हाडनातामा विवाह रोक्न भाइटीका लगाउन सुरु गरियो भन्नु गलत हो'

कार्तिक शुक्ल द्वितीयाका दिन यमुनास्नान तथा यमपूजन  गरिन्छ। यो दिन दिदी बहिनीको घरमा गई दाजु भाइले भोजन गर्नुलाई निकै फलदायी मानिन्छ। नेपाली परम्परामा दिदी बहिनीले....

स्वयंलाई देवता मानेर गरिने पूजा : म्हपूजा

संस्कृतिविद् सत्यमोहन जोशीले ‘म्ह र म्हपूजा’ विषयक लेखमा सजीवतालाई नै म्हपूजा गरिने हो भन्नुभएको छ।  संस्कृतिविद् बलदेव जुजुका अनुसार म्हपूजाको अभिप्राय वर्षभरि आइपर्न सक्ने समस्याहरु....