जहाँ बत्ती बल्छ त्यहीँ लक्ष्मीको बास हुन्छ

जहाँ बत्ती बल्छ त्यहीँ लक्ष्मीको बास हुन्छ

‘नाय् नं जुइ ज्यू, पो नं जुइ ज्यू ध्यबा मदयेक च्वने मज्यू’ अर्थात् कसाइ भए पनि हुन्छ, पोडे भए पनि हुन्छ तर पैसा नभई बस्नु हुँदैन। यो कुनै जातिलाई हेपेर बनाइएको भनाइ होइन। समाजमा मानिस भएर बस्न पैसा चाहिने भएकोले पैसा कमाउने सन्देश दिइएको हो।

नेवारका छुट्टाछुट्टै देवता छन्। त्यस्तै धन–सम्पत्तिले परिपूर्ण गरिदिने भनी पूजा गरिने देवी लक्ष्मी हुन्। तिहारमा भव्य रुपमा मनाइने दिनमध्ये लक्ष्मीपूजा पनि एक हो। 

लक्ष्मीपूजाभन्दा पहिलेको काग पूजा, कुकुर पूजा त्यति भव्यतापूर्वक मनाउने चलन छैन। लक्ष्मीपूजा भनी लक्ष्मी, महालक्ष्मी, बसुन्धरा र अन्नपूर्णको पूजा गरिन्छ। समुद्र भित्रको जवाहरात जस्तो कि मुंगा, मोति, कौडी आदिकी देवी लक्ष्मी हुन्।

पृथ्वीबाट उत्पादन हुने अन्न जस्तो कि धान, गहुँ अर्थात् खेतबाट उत्पादन हुने अन्नको देवी बसुन्धरा हुन् भने खानीबाट निस्कने सम्पत्ति, हीरा, माणिक, पन्ना, सुन आदिको देवी अन्नपूर्ण र पशुधनकी देवी महालक्ष्मी हुन्। लक्ष्मीपूजा धान, चामल, हीरा, मोती, रुपियाँ पैसा, गाई आदिको पूजा हो। 

लक्ष्मीपूजाका दिन आफैंले गाई पालेको छ भने उनैलाई र पालेको छैन भने अरुको वा बाटोमा छोडिएको गाईलाई नै सम्मान गरी पूजा गर्ने चलन छ। 

गाईको दूध अमृत मानी पिउने गरिन्छ। गाईबाट वैतरिणी तरिन्छ भन्ने भएकाले मानिस मरेपछि वा मर्नुभन्दा पहिले गौदान गरिदिने चलन छ। यसरी प्राण जानुभन्दा पहिले दान गरिदियो भने पनि बैतरिणी तरी स्वर्ग पुग्छन् भन्ने भनाइ छ।

कृषिप्रधान देशको निमित्त कृषि उत्पादन गर्न पनि गाई चाहिन्छ। गाईको गोबरलाई खेतमा मलका रुपमा प्रयोग गरिन्छ। गाईलाई मात्र पवित्र मानिने होइन कि दूध र गोबरलाई समेत पवित्र मान्ने गरिन्छ। त्यसैले सुध्याउने दृष्टिकोणले गाईको दुध र गोबर राखी पञ्चगव्य बनाई छर्कने धार्मिक परम्परा रहिआएको छ।

यसरी गाईलाई पवित्र मान्दै आएकोले गाईलाई पनि यमपञ्चकमा पूजा गर्ने परम्परा रहेको हो। लक्ष्मीपूजाको दिन गाईलाई पूजा गर्दा जनै पूर्णिमाको दिन हातमा बाँधेको डोरी गाईको पुच्छरमा बाँधिदिने चलन रहेको छ। लक्ष्मीपूजा र गाई तिहार कार्तिक कृष्णपक्ष औंशी अर्थात् कौलागा आमाईका दिन मनाइन्छ। 

नेपाल सम्वतमा यो दिन वर्षको अन्तिम दिन हो। लक्ष्मीपूजा नयाँ वर्षको स्वागत गरी पुरानो वर्षको अन्त हुने भएकोले नयाँ वर्ष झलमल्ल भई चारैतर्फ उज्यालो फैलन सकोस् भनी झलमल्ल बत्ति बाल्ने गरिन्छ। लक्ष्मी सधैँ सफा–सुग्घर भएको झलमल ठाउँमा मात्रै बस्छ भन्ने भावनाले लक्ष्मीपूजाको दिन घरघरमा लक्ष्मीलाई बाहिर आगनबाट भित्र्याउन पालामा तेलको बत्ति बालेर भित्र्याउने गरिन्छ।

लक्ष्मीपूजाको दिन पालामा तेल हाली बत्ति बाल्ने गरिन्छ। लक्ष्मी झलमल्ल बत्ति बालेको ठाउँमा मात्र जाने गर्छिन् भन्ने सम्बन्धमा एउटा ऐतिहासिक नाटक छ। राजा भूपतीन्द्र मल्लले लेखेको ‘विक्रम चरित’ पूर्णाङ्की नाटकमा उल्लेख भए अनुसार लक्ष्मीपूजाको प्रादुर्भाव यसरी भएको देखिन्छ।

विक्रमादित्य राजाबाट भएको न्यायमा कसैले शंका गर्दैनथे। निष्पक्ष रुपमा न्याय प्रदान गर्ने राजा थिए। विष्णु भगवानका दुई पत्नीमध्ये एक लक्ष्मी र अर्की सरस्वती हुन्। लक्ष्मी र सरस्वतीबीच जहिले पनि ठाकठुक परिरहने गर्दथ्यो। सरस्वती आफूलाई ठूली ठान्दथिन् भने लक्ष्मी पनि आफैंलाई ठूली ठान्दथिन्।

दुवै पत्नीबीच ठूलो को सानो को भन्ने कुरामा झगडा परिरहने भएकाले विष्णुलाई गाह्रो पर्यो। किनभने, एउटीलाई ठूली भन्ने बित्तिकै अर्की रिसाइहाल्थिन्। त्यसकारण को ठूली को सानी राम्ररी निर्क्योल होस् भनी विष्णुले लक्ष्मी र सरस्वती दुवैलाई पृथ्वीलोकमा न्याय गर्न जान्ने भनी कहलिएका राजा विक्रमादित्यकहाँ पठाइदिए।

विक्रमादित्यले पनि आफ्नो विवेकले सरस्वतीलाई लक्ष्मीभन्दा ठूली भनी निर्णय गरिदिए। ठूली भनिएको सरस्वती स्वर्गतिर लागिन्। लक्ष्मी भने फिर्ता नगई आफ्नो चमत्कार देखाई विक्रमादित्यलाई लक्ष्मी नै ठूली हुन् भन्न लगाइछाड्ने विचारले पृथ्वीमा नै रुङ्गेर बसिरहिन्।

आफ्नो विरोधमा निर्णय दिने विक्रमादित्यलाई अनेक गरी राज्यबाट विमुख गराई गरिब र महारोगी समेत बनाइदिइन्। यो सबै जाल लक्ष्मीले नै गरेकी हुन् भन्ने कुरा विक्रमादित्यलाई थाहा थियो। विक्रमादित्य बसिरहेको जङ्गलमा भएका सबै पशुपन्छीहरुलाई लक्ष्मीले अपाङ्ग बनाइदिइन्। त्यस ठाउँका राजासँग अपाङ्ग नभएको कुनै एउटा जनावर पठाउन् लक्ष्मीले राजालाई भने। तर राजाले त्यस्तो अपाङ्ग नभएको जनावर पठाउन सकेनन्। पछि विक्रमादित्यले मेहनत गरी सबैलाई अपाङ्गताबाट मुक्त गरिदिए।

राजा विक्रमादित्यले सबैलाई अपाङ्गताबाट मुक्त गरेकाले यसबाट खुसी भई राजाले विक्रमादित्यलाई के माग्नुहुन्छ माग्नुस् भनी हुकम दिए। विक्रमादित्यले मागे बमोजिम राजाले भोलिपल्ट बेलुकादेखि कसैले पनि आफ्नो घरमा बत्ती बाल्न नपाउने तर विक्रमादित्यले मात्र बत्ती बाल्न पाउने आदेश जारी गरे। यो भनेको कार्तिक कृष्ण औंसीको रात रहेछ। त्यस रात कसैको घरमा बत्ती बलेन, मात्र विक्रमादित्य बसेको घरमा मात्र बत्ती बलिरह्यो। लक्ष्मी पनि आफू बास बस्न उज्यालो घर खोज्दै हिँड्दा विक्रमादित्यकहाँ मात्र बत्ती बलेकोले त्यहीँ बास बसिन्। पछि विक्रमादित्यमाथि गरेको सबै कुकृत्यबाट मुक्त गरिदिइन् र उनको तारिफ गर्दै स्वर्गतिर लागिन्।

यसरी औंसीको रात लक्ष्मीपूजा गर्दा बत्ती बाल्ने गरिएको हो। जहाँ बत्ती बल्छ त्यहीँ लक्ष्मीको बास हुन्छ भनी यसबाट स्पष्ट हुन्छ।

‘लक्ष्मी कलार्णव तन्त्र’ मा लक्ष्मीको पूजा यस प्रकार गर्नुपर्छ भनी उल्लेख गरिएको छ– लक्ष्मी पूजाको दिन लिपपोत गरी सफासुग्घर पारी बिहान गाई पूजा गर्नु, बेलुका घरमा सबैतिर बत्ती बाली सुगन्धित धुप बाल्नु, ढिकुटीमा अबिर र अन्य पञ्चरङ्गले लक्ष्मी माताको मण्डप लेखी, लावा, अक्षेता, धान, सुवासित फूल र तेलले मण्डप लेख्नु। त्यही कुचो र जल भरेको घैला थापना गरिसके पछि दही, विमिरा, केरा, मूला, ओखर  आदि थरिथरिको फलफूल र मिठाईहरु चढाई पञ्चोपचार विधिले श्री लक्ष्मी माताको पूजा गर्नु। पूजा गर्दा पहेलो लुगा लगाएकी, पहेलै बर्ण भएको फूलमाथि ललितासन गरी कछुवा माथि विराजमान भएकी श्री महालक्ष्मीलाई सम्झी ध्यान र पाठ गर्नुपर्छ। अनि ८४ व्यञ्जनले युक्त खाने कुरा र दक्षिणा चढाई प्रार्थना गरी पूजा गर्नु। यति गरिसकेपछि श्री लक्ष्मी माताको प्रसाद, फूल र टिका आफू र आफ्नो परिवारले ग्रहण गर्नु।

‘नेपाल वर्ष क्रिया’ नामक पुस्तकमा लक्ष्मी पूजा गर्ने तरिका उल्लेख गरिएको छ। घरमा लक्ष्मीपूजा धनसम्पत्तिले परिपूर्ण गरुन्, घर वा पसलमा जहाँ पनि लक्ष्मीले बास गरुन् भनी सफा सुग्घर गरी, बढार कुढार गरी, लिपपोत गरी सकभर धुलो देखा नपरोस् भनी सफा गर्दछन्। पसलमा पूजा गर्नुपर्नेहरूले पसलमा पूजा गरिसकेपछि घरमा लक्ष्मी पूजा गर्दछन्।

लक्ष्मी भित्र्याउनेः घरको चेलीले लक्ष्मी भित्र्याउने भनी मूल ढोका अगाडिको आँगनदेखि लक्ष्मी पूजा गर्न कोठासम्म एक छत्र गरी लिपेर सफा गर्ने गर्दछन्। लक्ष्मी भित्रियून् भनी लिपेको ठाउँमा बढारेर फूल अक्षताले पूजा गर्दछन्। बेलुका साँझ परेपछि माटोको पालामा तेल र बत्ती राखी बत्ती बालेर लक्ष्मी भित्र्याउने ठाउँबाट पूजा गर्ने कोठासम्म आगममा घर बाहिर, झ्यालमा, कौसी आदि सबैतिर बत्ती बाल्ने गर्दछन्। जहाँ बत्ती झिलीमिली बलेको हुन्छ, जहाँ सफा सुग्घर हुन्छ लक्ष्मी त्यहीँ भित्रिन्छिन् भनिन्छ। त्यस कारण सबैले सकुञ्जेल सफा सुग्घर राखी बत्ती बाल्ने गर्दछन्। 

लक्ष्मी मातालाई कार्पेट ओछ्याइदिएझैँ मूलढोका बाहिरबाट लिपेर सयपत्री फूल र अक्षता छरी राख्ने मात्र नभई मूलढोकादेखि हरेक झ्याल ढोकाहरुमा सयपत्रीको माला सजाई लक्ष्मीलाई स्वागत गर्ने गर्दछन्। यसरी झलमल्ल उज्यालो घरमा लक्ष्मी भित्रिने जनविश्वास छ।

घरका चेलीबेटीहरुलाई लक्ष्मी भन्ने गर्दछन्। त्यस कारण लक्ष्मी भित्र्याउनु मूलढोका बाहिरदेखि नै लिपेर ल्याउनुपर्ने, फूलको माला उन्ने, उनेका फूलको माला झ्याल ढोकामा सजाउने, पालामा बत्ती बाल्ने जस्ता कामहरु प्राय छोरीहरुले नै गर्ने गर्दछन्। चेलीबेटीलाई फुर्सद भएन वा छोरीहरु छैनन् भने बुहारीहरुले पनि गर्ने गर्दछन्।

देवी लक्ष्मीको पूजा ‘नेपाल वर्ष क्रिया’ पुस्तकमा उल्लेख भएझैं देवी लक्ष्मीको पूजा गर्दा म्हपूजा मण्डप लेखिएझैं आफ्नो घरको परम्परानुसार क्रमैसँग पानी, पिठो, अबिर, लावा, धान, कालो भटमास, सिंगो मास, अक्षता, मण्डपभित्र तेल मण्डप बनाई मण्डप बनाउने गर्दछन्।

पानी मण्डपको भित्र ताय् वा अबिरले मण्डप लेखी त्यसमाथि बिमिरो, ओखर, कटुस, केरा, सुन्तला, नास्पाती, हलुवावेद, स्याउ, चाकसी आदि फलफूलका साथै खेलुइताः (लामो बत्ती), क्वखा (धागो माला), फलफूल, लक्ष्मी फूल, गोदावरी फूल, रातो सुपारी फूल आदि फूलहरु राखी बिमिरो चढाई देवी लक्ष्मीको आराधना गरी पूजा गर्दछन्।

घरमा भएकी लक्ष्मीलाई सफा गरी त्यही नयाँ कागजको लक्ष्मी टाँसेर पूजा गर्दछन्। पूजा समाप्त भएपछि म्हपूजामाझँै लक्ष्मीलाई पनि फूल सगुन दही सगुन, मण्डपमा चढाइराखेको बिमिरो सहितको फलफूल सगुन चढाउने गर्दछन्। 

पूजा सकिने बित्तिकै “नेपाल वर्ष क्रिया” पुस्तकमा उल्लेख भएझैं ८४ व्यञ्जन युक्त ‘थाय्भु’ सजाउने गर्दछन्। खास गरेर दशैंको स्याक्वत्याक्व (महानवमी) मा थापना गरेको धानको कुटेको चिउरा, ‘खंला’ लाई सुकुटी बनाई चिउरा र मासु ‘थाय्भु’ मा राख्ने चलन छ। कसै कसैले दशैंमा धान थापना नगरी चिउरा नै थापना गर्दछन्। यसरी थापना गरेको चिउरा घर परिवारलाई मात्र दिने गरिन्छ, अरुलाई दिँदैन।

लक्ष्मीपूजा गरी चढाउने थाय्भुमा हर्दीको पातले चिउरालाई छोप्ने गर्दछन्। ‘थाय्भू’ मा मसला पोका, विभिन्न परिकारका मिठाइ राखी सजाउने चलन पनि छ। लक्ष्मीलाई चढाएको फलफूल सगुन, अण्डा सगुन, हरियो तरकारी, पाउँ (अमिलो) मासु, दही, मसला पोका, मिठाइहरू भएको थाय्भु भाइटीकाको भोलिपल्ट ‘लक्ष्मीद्यः क्वकायेगु’ भनी देवी लक्ष्मीको बिसर्जन गरी चेलीबेटी भाञ्जाभाञ्जीहरु बोलाई घरपरिवार सबैलाई प्रसाद बाँड्ने चलन छ। 

लक्ष्मीपूजा गरिसकेपछि टीका लगाएर कसैले भोज खाने गर्दछन् भने कसैले समय् बजी मात्र खाने गर्दछन्। लक्ष्मीपूजा गर्दा परिवारका सदस्यहरूले आफ्नो इच्छानुसार पैसा चढाउने चलन पनि छ। लक्ष्मीपूजा गर्दा कसैकसैले वर्षभरि सुन चाँदीबाट आएको मुनाफा र पैसा चढाई सञ्चय गर्ने पनि गर्दछन्। चढाएको पैसा निकाल्ने गर्दैनन्। अति आवश्यक परे मात्र निकालेर चलाउँछन् नत्र हत्तपत्त चलाउने गर्दैनन्। रकम जोगाड गर्ने यो पनि एउटा तरिका हो।

वर्ष दिनको बहीखाता बन्द गर्ने र नयाँ खाता खोल्ने व्यापारीहरू पनि छन्। नेपाल संवत् अनुसार हिसाबकिताब राख्नेहरुले भने लक्ष्मीपूजाको दिन खाता बन्द गरी म्हपूजाको दिनदेखि नयाँ खाता खोल्ने गर्दछन्।

लक्ष्मीको प्रतीकको रुपमा पैसा, सुन, जवाहरात आदिलाई पनि पूजा गर्ने चलन छ। यी सबै सम्पन्नताका चिह्न हुन्। यति मात्र नभएर पैसा, सुनचाँदी आदि राख्ने दराज, कन्तुर, सेफ आदि पनि लक्ष्मीको वासस्थान भनी पूजा गर्दछन्। अति धनाढ्यहरुदेखि गरिबहरुले पनि आत्मसन्तोष लिएर लक्ष्मीपूजा गर्ने गर्दछन्।
 

१८ कात्तिक, २०७८, ११:२८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।