सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

सराङकोटका विपन्न परिवारका महिलाले स्तनबाट पीप बग्दा समेत रोग लुकाएर राखे

अति विपन्न परिवारमा रहेका दुई जना महिलाले स्तनबाट पिप बग्दा समेत रोग लुकाएर राखेको पाइएको उनले बताए। 

गैर आवासीय नेपाली सङ्घको आर्थिक सहयोगमा सराङकोट र म्याग्दीको बेनीमा निःशुल्क स्वास्थ्य शिविरमा २ सय भन्दा धेरै महिलाले पाठेघरको मुखको र स्तन क्यान्सरको परीक्षण गराएका थिए। 

म्याग्दी बेनीका १५० र कास्की सराङकोटका ६० जना महिलाले स्वास्थ्य परीक्षण गराएकोमा २ जनामा क्यान्सरको गम्भीर सङ्क्रमण देखिएको हो। 

‘दलित बस्तीका दुई जना मध्ये एक जनामा पाठेघरको मुखको र एक जनामा स्तन क्यान्सर सङ्क्रमणको पुष्टि भएको छ,’ट्रस्टका अध्यक्ष कँडेलले उकेरासँग भने,‘पाठेघरको मुखको क्यान्सरजन्य लक्षण ८ जनामा देखिएको छ।’ 

क्यान्सर सङ्क्रमण देखिएका दुई जनालाई तत्काल काठमाडौँ ल्याएर उपचार सुरु गरिहाल्नु पर्ने देखिएको कँडेलले  बताए। उनका अनुसार स्वास्थ्य शिविरमा छातीको समस्या, गाँठाको समस्या धेरै महिलामा देखिएको छ। म्याग्दी बेनीका १४ जना र सराङकोटका ९ जना स्तन क्यान्सरको खतरामा रहेको देखिएको कँडेलले बताए। 

उनका अनुसार डा.प्रकाशराज न्यौपानेले क्यान्सर सङ्क्रमण महामारी उन्मुख रहेको बताएका थिए। 

ट्रस्टका अध्यक्ष कँडेलले क्यान्सर रोग उपचारमा गैर सरकारी सङ्घसंस्थाको पहलले मात्रै नपुग्ने बताए। उनले सरकारले संयन्त्र विकास गरेर दायित्वको रूपमा लिनु पर्ने बताए। 

ट्रस्टका अनुसार एक दिने शिविरमा महिला रोग विशेषज्ञ डा. साभना प्रधान र वरिष्ठ क्यान्सर रोग सर्जन डा. प्रकाश राज न्यौपानेको नेतृत्वमा डाक्टर र नर्सको टोलीले स्वास्थ्य परीक्षणसँगै क्यान्सर सम्बन्धित जानकारी दिएका थिए। 

एनआरएनएकी उपाध्यक्ष तथा महिला र युवा विभागकी प्रमुख रबिना थापाको पहलमा शिविर सञ्चालन गरिएको ट्रस्टले जनाएको छ।

२ कात्तिक, २०७८, १५:०५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।