धानले फाँटै पहेलपुर : कतै पाक्ने तयारी, कतै काटिँदै

धानले फाँटै पहेलपुर : कतै पाक्ने तयारी, कतै काटिँदै
फोटो: ओमसतिया ५ को फाँटमा पाकेको धान। ड्रोनको माध्यमबाट ३६० डिग्री कोणबाट लिइएको तस्बिर । तस्वीरः विकाश पराजुली

बुटवल :  पश्चिम तराईका फाँटहरूमा यति बेला पहेलपुर धान झुलेको छ। दसैँ लगत्तै कतिपय ठाउँहरूमा धान काट्न सुरु समेत किसानले गरेका छन् भने कतिपय ठाउँमा अझै धान पाक्दै छ।

पाकेको धान काट्न दसैँको टीका लगत्तै किसानलाई अहिले भ्याई नभ्याई छ। धान उत्पादनको पकेट क्षेत्र मानिने रुपन्देहीको ओमसतिया, सियारी, शुद्धोदन, मर्चवारी, सम्मरीमाई, कोटइमाई लगाएका स्थानीय तहमा अहिले धान झुलेको देखिन्छ।

मनसुन सकिएसँगै धान भित्राउन किसानलाई अहिले भ्याई नभ्याई छ। अहिले अधिकांशका खेतमा राधा–४, सर्जु–५२ लगायतका धान पाकिसकेको र काट्न थालिएको ओमसतिया गाउँपालिकाका राजन अहिदले बताए।
‘दसैँ लगत्तै धान काट्न थालिएको छ। पछि हावा र पानी पनि आउने हुँदा पाकेको धान किन खेतमै राख्ने भनेर छिटो काट्न थालियो,’ उनले भने।

यस वर्ष अन्य वर्षको तुलनामा अत्यधिक वर्षा भएपछि जिल्लामा रोपाई छिटो भएको थियो। धानका जात अनुसार केही छिटो पाक्ने गरेका छन् भने कतिपय फाँटमा अहिले धान हरियो पनि देख्न सकिन्छ।

धान काट्ने र स्यार गर्न हतारिएका किसानहरू प्रविधिलाई समेत पछ्याउँदै गएका छन्। हातले काटेर धान स्यार्न धेरै समय लाग्ने भएकाले थ्रेसरको प्रयोग गरेर धान काट्न थालिएको ओमसतिया ५ कै सुनमी थारुले बताईन।उनले यस ५० विघाह क्षेत्रफलमा अगौते जातको धान लगाएको बताईन।

जिल्लाभित्र अगौते अन्तर्गत राधा ४, सुख्खा ३, हर्दिनाथ १ र केही भारतीय उन्नत जातका धान किसानको रोजाइमा परेका छन्। त्यस बाहेक मध्यम जातमा गोरखनाथ, लोकनाथ, मकवानपुर १, रामधाम, सावित्री, लोकतन्त्र, मिथिला, मनीषा, पृथ्वी, सुरज, चाँदनी जस्ता धानको खेती गरिएको छ।
त्यस्तै पछौटे जातमा सावा मनसुली, सोणसव १, सावा सव १, गोल्डेन मन्सुली, कालानमक को खेती गरिएको छ। राधा ४, सावित्री, रामधाम र सावा मनसुली हाइब्रिडमा गोरखनाथ, लोकनाथ, मयुर र मनीषा किसानहरूको रोजाइमा परेकाले यसको खेती बढी गरिएको छ।
रुपन्देहीमा ८२ हजार  हेक्टर जमिनमध्ये रुपन्देहीमा यो वर्ष ६५ हजार भन्दा बढी हेक्टरमा धान खेती गरिएको छ।

३० असोज, २०७८, १६:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।