सहरको दसैँ : न पिङ मच्चिन्छन्, न उड्छन् चङ्गा

सहरको दसैँ : न पिङ मच्चिन्छन्, न उड्छन् चङ्गा

बुटवल : दसैँ भन्ने बित्तिकै सबैलाई पिङ, चङ्गा, नयाँ नोट, रोटी, मिठाई, फलफूल आदिको सम्झना आउँछ। तर दसैँमा देखिने पिङ संस्कृति र चङ्गा उडाउने चलन सहरमा क्रमशः ओझेलमा पर्दै गएको छ।

गाउँघरमा पिङ हाल्ने, चङ्गा उडाउने अहिले पनि गरिन्छ। यद्यपि गाउँघरमा पनि यस्ता संस्कृतिमा क्रमशः चाख घट्न थालेको छ। सहरमा पिङ र चङ्गा विरलै देखिन्छ।

प्रविधिले फड्को मारेपछि पिङ र चङ्गा उडाएर खुसी मनाउनेहरू अहिले मोबाइल गेमिङमा झुमिरहेका छन्। जसका कारण दसैँमा पर्यायवाची मानिने पिङ, चङ्गा ओझेलमा पर्दै गएको इतिहासकार विमल शाक्यले बताए।

‘टिका थापेपछि जमरा लगाएर लट्ठे पिङ र रोटे पिङमा रमाउने, चङ्गा उडाउने त्यो संस्कृति आजभोलि मोबाइलमा गेम खेलेर समय बिताउनेलाई के थाहा;’ उनले भने।

प्रविधिलाई आत्मसाथ गरेर पछ्याउँदै गए पनि प्रविधिकै कारण हाम्रा संस्कृतिहरू ओझेलमा पर्न थालेको भन्दै यस्ता संस्कृतिहरूलाई पुनः ताजा बनाउनुपर्ने उनको भनाई छ।

‘१० वर्ष सम्म बुटवल आसपासमा पिङ हाल्ने, चङ्गा उडाउने गरिन्थ्यो। तर अहिले देखिँदैनन्,’ उनले भने। स्थानीय परम्परा लोक संस्कृति संरक्षणका गर्न स्थानीय सरकारले पहल गर्नुपर्ने उनको भनाइ छ।

गाउँघरमा पिङ राख्न डोरीका लागि प्रयोग गरिने (बाबियो) बाटेर रुखको हाँगामा राखे पनि सहरमा भने बाबियाको स्थानमा प्लास्टिकको डोरी प्रयोग गर्न थालिएको छ।

‘खास गरी दसैँमा विजयादशमीको दिन जमिन छोड्ने अर्थात् भुईँ छोड्ने परम्परा छ। त्यो कारण पनि पिङ खेल्नुपर्छ। तर सहरमा कहाँ पाउनु,’ उनले भने।

भुईँ छोड्नुको अर्थ मानिस अप्ठ्यारो परिस्थितिमा पनि जमिनमा घस्रिने जङ्गली जनावरबाट बच्नुपर्यो भने उ लहरामा झुन्डिएर भए पनि आफूलाई सुरक्षित राख्न सकोस् भन्ने ध्येय हो।

२९ असोज, २०७८, १६:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।