कृष्णनगर झाडापखालाः पानीमा अत्याधिक मात्रामा कोलिफर्म फेला

कृष्णनगर झाडापखालाः पानीमा अत्याधिक मात्रामा कोलिफर्म फेला

बुटवलः कृष्णनगर नगरपालिकाको झाडापखाला प्रभावित क्षेत्रको पानीमा कोलिफर्म ब्याक्टेरिया फेला परेको छ। पानी परीक्षणको रिपोर्टमा अत्याधिक मात्रामा कोलिफर्म ब्याक्टेरिया पाइएको शिवराज अस्पताल, कपिलवस्तुका निमित्त सुपरिटेण्डेन्ट डा. मुकेश चौधरीले बताए।

पानीमा कोलिफर्म ब्याक्टेरिया भए नभएको थाहा पाउन बुटवलमा पानी परीक्षण गरिएको थियो। कोलिफर्म ब्याक्टेरिया दिशामा पाइने जीवाणु हो। 


काेलिफर्म

चाैधरीका अनुसार पानीमा कोलिफर्म ब्याक्टेरिया भेटिए पनि झाडापखाला फैलनुको अरू पनि कारण हुन सक्ने भन्दै थप नमुनाहरूको पनि परिक्षण भइरहेको छ।

स्वास्थ्य कार्यालय कपिलवस्तुले नेपाल खानेपानी संस्थान बहादुरगञ्ज शाखाबाट वितरण गरिएकाे धारा र ४० फिटभन्दामाथि र सय फिटभन्दा कममा गाडेको हाते पम्पको पानीबाट नमुना लिएको थियो। तीमध्ये सय फिटको पम्पबाहेकमा जीवाणु फेला परेकाे हाे।  

कपिलवस्तुको कृष्णनगरका तीन वटा वडाका करिब पाँच सय जनालाई झाडापखाला भएकाे छ। यीमध्ये अधिकांश डिस्चार्ज भएका छन् भने ३४ जनालाई अन्यत्र रेफर गरिएको छ। यस्तै करिब एक सय जनाको उपचार जारी छ। स्वास्थ्य कार्यालयले झाडापखाला प्रभावित वडाका बासिन्दालाई राम्ररी उमालेर सफा पानी मात्र प्रयोग गर्न आग्रह गरेको छ।

झाडापखालाबाट कृष्णनगरमा गत मंगलबार दुई जनाले ज्यान पनि गुमाएका थिए। नगरपालिकाको वडा नम्बर ७, ८ र ९ मा मंगलबार रातिदेखि झाडापखाला फैलिएको थियो। झाडापखालाबाट वडा नम्बर ९ का ४५ वर्षीय रामप्रसाद केवटको घरमै र वडा नम्बर ८ का ७ वर्षीय बालक राज कश्यपको निजी मेडिकलमा मृत्यु भएको थियो।

२३ असोज, २०७८, ०८:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।