लिगमा चाैथाे हुँदै नेपाली टाेली स्वदेश फिर्ता

लिगमा चाैथाे हुँदै नेपाली टाेली स्वदेश फिर्ता

काठमाडाैंः आईसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गतकाे त्रिकोणात्मक एकदिवसीय श्रङ्खला खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली ओमानबाट आज स्वदेश फर्केको छ। टोलीलाई नेपाल क्रिकेट सङ्घ (क्यान) का पदाधिकारीलगायतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए।

ओमानमा सम्पन्न श्रङ्खलामा नेपालले चार खेलमध्ये दुईमा जित र दुईमा हार बेहोरेको थियो। नेपालले आइतबार भएको अन्तिम खेलमा ओमानलाई पहिलो पटक पराजित गरेकाे थियाे। नेपालले ७ विकेटकाे जीत हासिल गरेकाे थियाे।

त्यसअघि सिरिजको पहिलो खेलमा नेपालले अमेरिकालाई पाँच विकेटले हराएको थियो भने दोस्रो खेलमा ओमानसँग पाँच विकेटले पराजित भएको थियो। त्यस्तै तेस्रो खेलमा नेपाल अमेरिकासँग ६ विकेटले हारेको थियो। लिग–२ मा नेपाल, अमेरिका, ओमान, स्कटल्याण्ड, नामिबिया, युनाइटेड अरब इमिरेटस् (युएई) र पपुवा न्युगिनी रहेका छन्।

नेपाल ८ खेलमा ८ अङ्क जोड्दै लिगको चौथो स्थानमा उक्लेको छ। ओमान १४ खेलमध्ये ११ मा जीत र ३ मा हारका साथ २२ अङ्क जोडेर शीर्ष स्थानमा कायमै छ भने अमेरिका १६ खेलमध्ये ७ मा जीत र ९ मा हारसहित १४ अङ्कका साथ दोस्रो स्थानमा छ।

५ असोज, २०७८, १४:०२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।