'संवेदनशील घटनाबारे यो रे, त्यो रे भन्ने हल्ला चल्न थालेपछि चिर्न पत्रकार सम्मेलन गर्न पर्‍यो नि'

 'संवेदनशील घटनाबारे यो रे, त्यो रे भन्ने हल्ला चल्न थालेपछि चिर्न पत्रकार सम्मेलन गर्न पर्‍यो नि'

नेपाल प्रहरीमा मिडिया सम्बन्धी निर्देशिका छ। जसमा मिडियासँग कस्तो सम्बन्ध राख्ने भन्ने लेखिएको छ। त्यही अनुसार सङ्गठनका सदस्यले मिडियासँग सम्बन्ध राख्छन्।

तर पत्रकार सम्मेलन कुन अवस्थामा गर्ने भन्ने छुट्टै निर्देशिका भने छैन। प्रहरीले के काम गरिरहेको छ भनेर आम नागरिकलाई जानकारी दिन पत्रकार सम्मेलन गर्ने गरिन्छ। अझ कुनै घटनामा अधिक जनचासो छ भने त्यसबारे भइरहेका अनुसन्धान र अनुसन्धानबाट खुलेका कुराहरू सार्वजनिक गर्नु राम्रो हो।

त्यसमा पनि अधिक चासो भएको र संवेदनशील घटनाबारे यो रे, त्यो रे भन्ने हल्ला चल्न थालेपछि अनुमानलाई चिर्न पत्रकार सम्मेलन गर्नुपर्ने हुनसक्छ। प्रहरीले सकेसम्म कुनै अनुसन्धान निचोडमा पुगेपछि नै पत्रकार सम्मेलन गर्न चाहन्छ। तर ढिला गर्दा हल्ला र अनुमानले अर्कै छवि बनाइसक्ने भएकाले कुनै बेला प्रहरी अनुसन्धानले तत्काल देखाएका तथ्यहरू पनि सार्वजनिक गर्नुपर्ने अवस्था आउँछ।

सङ्खुवासभा घटनाबारे धेरै नै रे भन्ने हल्लाहरू आए। अनुमान धेरै थरिका हुन थालेपछि प्रहरी अनुसन्धानमा खुलेका तथ्यहरू तत्काल सार्वजनिक गर्न उपर्युक्त हुने देखिएपछि नै आरोपी सहित पत्रकार सम्मेलन गरेर तत्काल पाएका विवरण सार्वजनिक गरिएको हो।

त्यो घटनाको अनुसन्धानमा वैज्ञानिक साधन स्रोतको प्रयोग त्यति गर्न सकिएन। त्यसैले अनुसन्धानको आधार बयानमा आधारित भयो। घटनामा संलग्न देखिएका आरोपीको बयानका आधारमा विवरण सार्वजनिक गरिएको थियो। तर अनुसन्धान त सकिएको थिएन। जारी नै थियो। तत्काल जे खुले त्यही भनिए पनि त्यही बेलाका क्लुमाथि थप अनुसन्धान गर्दा थप तथ्यहरू र आरोपीहरू खुलेका हुन्।

यसमा व्यक्ति नै गलत त पक्राउ परेका छैनन्। एक आरोपी त पहिलो पटक पक्राउ परेकै हुन्। उनकै बयानका आधारमा थप विवरण आयो। त्यसैमा टेकेर शङ्का लागेका पक्षहरूको अनुसन्धान गर्दा अन्य आरोपीको पहिचान भयो।

आधार त त्यही हो। तथ्य त बिग्रिएको छैन। त्यसैले पहिलो आरोपी सार्वजनिक गर्नु ठिकै थियो। पत्रकार सम्मेलन हुँदै जान्छ। अनुसन्धान पनि जारी रहन्छ। नयाँ तथ्य खुल्दै आए। यो नौलो र अनौठो हैन।

अब पुरस्कारको कुरा। यसलाई किन विवादमा ल्याउन खोजिएको हो मैले बुझ्न सकेको छैन। सङ्गठनका सदस्यहरूको मनोबल उच्च बनाउन बेलाबखत आन्तरिक रूपमा सङ्गठनले पुरस्कार दिइरहन्छ। यसमा पनि भएको त्यही हो। कुनै अपराधको अनुसन्धान अदालतमा पुगेर टुङ्गिएपछि मात्र पुरस्कार दिने भन्ने हुन्न।

जो प्रहरी जुन काममा खटिएको हुन्छ उसले त्यो काम कसरी गर्यो भन्ने सङ्गठनलाई त थाहा हुन्छ नि। राम्रोसँग गर्यो कि हेलचेक्राई गर्यो थाहा हुन्छ। त्यसैलाई हेरेर राम्रो काम गरेकाको मनोबल उकास्न अनि अन्यलाई राम्रो काम गर्दा सङ्गठनले हेर्छ भन्ने सन्देश दिन पुरस्कृत गर्ने गरिन्छ। यसमा पनि भएको यही हो। जसले प्रारम्भमा अनुसन्धान गरेका थिए उनीहरूले गरेको अनुसन्धानकै आधारमा पाँच आरोपी पक्राउ परेका त हुन्।

-कुराकानीमा आधारित

 

संखुवासभा घटनाबारे उकेरा नजर

४ असोज, २०७८, २०:०४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।