एकै रातमा परिवार सखाप भएका बौद्धमान दिनभर टोलाइरहे : झापामा ८० लाखमा किन्दै थिए जग्गा

एकै रातमा परिवार सखाप भएका बौद्धमान दिनभर टोलाइरहे : झापामा ८० लाखमा  किन्दै थिए जग्गा

इटहरी : उमेर घर्किएसँगै ८९ वर्षीय बौद्धमान कार्कीको आँखा कमजोर हुँदै गए। कान पनि कम सुन्न थाले थिए उनले। त्यसैले प्राय सम्साझै उनी ओच्छ्यानमा गइहाल्थे। आइतबार पनि परिवारका सातै सदस्यसँगै बसेर खाना खाएपछि उनी ओच्छ्यानतिर लागिहाले। उनको आँखा लाग्यो।

बिहानै छिमेकीले आएर झकझक्याउँदा उनको सुखी परिवार उजाड बनिसकेको थियो। ८९ वर्षको उमेरमा उनी एक्लो भइसकेका थिए। ८४ वर्ष पुगेकी श्रीमती पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, बुहारी कमला कार्की, ३२ वर्षीया नातिनी बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दिपेन कार्की र ७ वर्षीया नातिनी गोमा कार्की शव बनिसकेका थिए।

छिमेकीले उनलाई उठाएर घरका मान्छे खै भनेर सोध्दा उनले बारीतिर गएका होलान् भनेर भन्दै थिए रे। तर घरभित्रै थियो उनको ८४ वर्षिया श्रीमतीको शव। कमला र रञ्जनाको शव घरदेखि अलि पर खोल्सामा थियो। घर देखीमाथि खरवारिमा तेजकुमार र दुई बच्चाको शव थियो।

बौद्धमान कार्की र उनको श्रीमती पार्वती

घटनास्थलमा शवहरू एकै ठाउँमा नभएर छरिएको अवस्थामा भेटिएकाले भाग्न खोज्दा उनीहरूको हत्या भएको प्रहरीको निष्कर्ष देखिन्छ। इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाका अनुसार केहीलाई धारिलो हतियारले हानेर हत्या भएको देखिन्छ भने केहीलाई ढुङ्गाले हानेझैँ देखिन्छ।

‘घटनास्थल हेर्दा हत्या नै भएको देखिन्छ’, प्रहरी निरीक्षक खतिवडाले उकेरासँग भने, ‘हामी सूचना सङ्कलनकै क्रममा छौँ।’

धन्न दुई नाति रमेश र नरेश वैदेशिक रोजगारीका लागि मलेसिया र दुबईमा थिए र जोगिए।

OOO

मादी नगरपालिका वडा नम्बर १ खोलागाउँ। कार्की परिवारको पुस्तैनी बसोबास। ४० रोपनी जति जग्गा थियो उनीहरूको। कार्की परिवार खेत किसानीमै थिए। बौद्धमानको अर्को छोरा भक्त कार्की छुट्टिएर वडा नम्बर तीनमा बस्थे। तेज बहादुरका दुवै छोरा तीन वर्ष अगाडि वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएपछि उनीहरूको आर्थिक अवस्था उकासिँदै थियो।

वडा नम्बर १ का वडाध्यक्ष अध्यक्ष खेमनाथ कटुवालका अनुसार शोकमा छन् बौद्धमान। घटना थाहा पाएदेखि टोलाएर बसेका छन् घर नजिकै। घर प्रहरीले सिल गरेको छ। कसैलाई छिर्न दिएको छैन। धरानबाट हिँडेको एसपीसहितको टोली घटनास्थल पुगेर कुकुरसहित अनुसन्धानमा जुटेको छ।

OOO

कार्की परिवारको घर

कार्की परिवारका ६ जानको हत्या भएको खबर फैलिएसँगै उनीहरूका आफन्त आए। आफन्त आएसँगै खुल्यो यो परिवार झापामा ८० लाखमा जग्गा किन्ने तयारीमा थियो। वडा अध्यक्ष कटुवालका अनुसार उनीहरूले जग्गा पास गर्नका लागि केही रकम बैना समेत दिएको र पास गर्ने तयारी गरिरहेकोसम्म सूचना आएको बताउँछन्।

'दुई छोराहरूले विदेशबाट पठाएको पैसा र भाइ भक्त कार्की मिलेर झापामा जग्गा किन्न लागेका रहेछन्,' कटुवालले भने' घरमै पैसा राखेका थिए कि अन्तै त्यो भने थाहा भएन।'

प्रहरीले घर घेरेर राखेको छ। कसैलाई प्रवेश गर्न दिएको छैन। एसपी भीम दाहालको टोली भर्खरै घटनास्थल पुगेको छ। ' म भर्खर आइपुगे। अहिले केही भन्न सक्ने अवस्था छैन,' दाहालले उकेरासँग भने।

OOO

घटनास्थल हेर्न भेला भएका स्थानिय

नाबालकहरूलाई समेत नछाडी हत्या भएको यो घटनामा परिवारसँग परिचित व्यक्तिकै संलग्नताको आशङ्का बलियो देखिन्छ। कलिला बच्चाहरूलाई समेत नछाडी हत्या गरिएकाले उनीहरूले प्रतिकार गर्दा मारिएको भन्दा पनि हत्यामा संलग्नहरूलाई बालबालिकाले चिन्ने भएकाले उनीहरू ज्युदै हुँदा आफ्नो पहिचान खुल्ने भयले बालबालिका मारिएको हुनसक्छ।

बालबालिकाहरू भागेर घर माथि पुगेको अवस्थामा उनीहरूको हत्या भएकाले घटनामा संलग्नले उनीहरू भागेपछि लखेटेर मारेको देखिन्छ। घरभित्र ८४ वर्षिया वृद्धको शव छ। अन्यको शव घर बाहिर छ। घटनामा मारिएकाको सङ्ख्या र घटनास्थलको अवस्थाले एक भन्दा बढी व्यक्ति घटनामा संलग्न भएको हुनसक्ने देखिन्छ।

२१ भदौ, २०७८, २१:२६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।