घटनास्थलका प्रत्यक्षदर्शीको बयान : २ सय मिटरमा अन्य घर पनि छन् तर केही सुनिएन भन्छन्

घटनास्थलका प्रत्यक्षदर्शीको बयान : २ सय मिटरमा अन्य घर पनि छन् तर केही सुनिएन भन्छन्

काठमाडौँ : सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ खोलागाउँस्थित खोलागाँउबाट बिहान ९ बजे वडा अध्यक्ष खेमनाथ कटुवालको मोबाइलमा फोन आयो। उनलाई तेजकुमार कार्कीका छिमेकी लक्ष्मीभक्त कार्कीले फोन गरेर उनको घर छेउमा मान्छे मरेको जानकारी दिए।

उनी आफ्नो घर नजिकै मुलखर्कमा रहेको चौकीका पुगेर प्रहरीलाई घटना सुनाए। घटना सुनेपछि पाँच जना प्रहरी घटनास्थल जान तयार भए। उनी प्रहरी लिएर खोलागाउँ झरे। उनलाई घटनास्थल पुग्न २ घण्टा लाग्यो।

घटनास्थल कार्कीहरूको बस्ती रहेको क्षेत्र हो जहाँ सात जना रहेको घरका एक जना बाहेक सबैको हत्या भएको थियो। घटनामा संलग्नले ८४ वर्षकी महिलादेखि पाँच वर्षकी बालिकासम्मलाई छाडेका थिएनन्।

‘बिहान ११ बजे घटनास्थल पुग्दा ४०-५० जना मान्छे जम्मा भएर बसेका रहेछन्,' उकेरासँगको कुराकानीमा वडा अध्यक्ष कटुवालले भने' सासु- बुहारीको शव घरदेखि अलि पर खोल्सामा थियो। घर देखीमाथि खरवारिमा तेजकुमार कार्की र दुई बच्चाको शव छ। छुट्टा-छुट्टै ठाउँमा उनीहरूको शव देखेँ। ८४ वर्षकी बुढी आमाको शव घर भित्रै थियो।'

घटना भएको २-३ सय मिटरको दुरीमा आफन्तहरूको घर छ। राति केही हल्ला भएको सुन्नु भयो भनेर उनले छिमेकीलाई सोध्दा केही नसुनेको उकेरालाई जानकारी दिए।

घरका सदस्यमध्ये ८९ वर्षका बौद्धमान कार्की मात्रै जीवित छन्। उनले ६ बजेतिर खाना खाएर सुतेको र घटनाबारे केही थाहा नपाएको बताएको कटुवालले जानकारी दिए। कटुवालका अनुसार बौद्धमानले राम्रोसँग कान सुन्दैनन् अनि आँखा पनि देख्दैनन्।

छिमेकीहरू आएर उनलाई उठाएपछि मात्रै उनले घटनाबारे थाहा पाएका थिए।

'म प्रहरी टोलीसँगै ११ बजे आइपुगेको हुँ। अहिले पनि हामी घटनास्थलमै छौँ। घटनाको अनुसन्धानपछि मात्रै के हो भन्न सकिएला,'  अध्यक्ष कटुवालले बताए।

२१ भदौ, २०७८, १६:५७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।