८० वर्षीया हजुरआमादेखि ५ वर्षीया नातिनीसहित एकै घरका ६ जनाको हत्या

८० वर्षीया हजुरआमादेखि ५ वर्षीया नातिनीसहित एकै घरका ६ जनाको हत्या
फाइल फोटो

काठमाडौं  : सङ्खुवासभाको मादी नगरपालिका- १ मा एकै घरका ६ जना मृत अवस्थामा फेला परेका छन्।

मादी- १  उम्लिंगखोल गाउँमा तेजबहादुर कार्कीको घर अगाडि उनीहरु मृत अवस्थामा भेटिएको प्रहरीले जनाएको छ। 

सङ्खुवासभा जिल्ला प्रहरी कार्यालयका अनुसार धारिलो हतियार प्रहार गरेर उनीहरूको हत्या भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

५८ वर्षीय तेजबहादुर कार्की, उनकी आमा ८० वर्षीया पार्वता, ५६ वर्षीया श्रीमती मनमाया, २८ वर्षीया बुहारी रञ्जना, १० वर्षीय नाति दीपक र ५ वर्षीया नातिनी गोमा कार्कीको हत्या भएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले बताए।

नजिकको प्रहरी टोली घटनास्थल पुगेको र ढिलो गरी खबर आएकाले आफ्नो टोली पनि घटनास्थलतर्फ जाँदै गरेको उनले जानकारी दिए।  

राति कतिबेला हत्या भएको भन्ने खुल्न सकेको छैन। बिहान स्थानीयले देखेपछि घटनाको बारेमा प्रहरीलाई जानकारी गराएका थिए।

खबर लगत्तै प्रहरी परिचालन गरिएको प्रहरी निरीक्षक खतिवडाले उकेरालाई बताए। इलाका प्रहरी कार्यालय चैनपुरबाट घटनास्थल ३ घण्टाको दूरीमा पर्छ।

कुनै खोल्सातिर र कुनै घरतिर गरेर ६ जनाको शव भेटिएको खबर आएकोले प्रहरी टोली घटनास्थलतर्फ गएको प्रहरी कार्यालयले जनाएको छ। 

२१ भदौ, २०७८, १२:३४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।