सङ्खुवासभामा सामूहिक हत्या : घटना नियोजित, परिचितकै संलग्नताको शङ्का

सङ्खुवासभामा सामूहिक हत्या : घटना नियोजित, परिचितकै संलग्नताको शङ्का
साङ्केतिक तस्बिर

काठमाडौँ : परिवारका सात सदस्यमध्ये कान कम सुन्ने अनि आँखा पनि कम देख्ने वृद्धलाई छाडेर पाँच वर्षकी नाबालिगको समेत हत्या भएको सङ्खुवासभाको सामूहिक हत्या पूर्व नियोजित र परिचितकै संलग्नतामा भएको प्रहरीले प्रारम्भिक निष्कर्ष निकालेको छ।

सङ्खुवासभाको मादी नगरपालिका वडा नम्बर १ मा रहेको कार्की परिवारको घरमा रहेका सात सदस्यमध्ये कान कम सुन्ने र आँखा कम देख्ने ८९ वर्षीय बौद्धमानबाहेक सबै परिवारको हत्या भएको थियो।

प्रहरीले ५२ वर्षीय तेजबहादुर कार्की, तेजबहादुरकी श्रीमती ५२ वर्षकै कमला कार्की, ३२ वर्षीय रञ्जना कार्की, ८ वर्षीय विपिन कार्की, पाँच वर्षकी गोमा कार्कीको शव फेला पारेको छ।

पाँच र आठ वर्षका बच्चालाई समेत लखेटेर हत्या भएको र बेलुका चिन्न सक्ने सबै जनालाई लखेटेर धारिलो हतियार र ढुङ्गाले हानेर हत्या गरिएको प्रहरीको प्रारम्भिक निष्कर्ष छ। ८४ वर्षीय बृद्धाको हत्या हुँदा ८९ वर्षीय बौद्धमानलाई आक्रमण नभएकाले सो घटनामा संलग्न घरका सदस्य र उनीहरूको शारीरिक अवस्थाबारे समेत परिचित हुनसक्ने प्रहरीको आशङ्का छ।

घटनास्थलमा शवहरू एकै ठाउँमा नभएर छरिएको अवस्थामा भेटिएकाले भाग्न खोज्दा हत्या भएको हुनसक्ने प्रहरीले अनुमान छ। अहिले प्रहरी घटनास्थलमा पुगिसकेको छ। जिल्लाको प्रहरीलाई अनुसन्धानमा सघाउन सङ्घीय प्रहरी इकाई कार्यालय धरानका प्रहरी उपरीक्षक भीम दाहाल अनुसन्धानका लागि थप टोली लिएर घटनास्थल जाँदै छन्।

बिकट बस्तीको एकान्त स्थानमा घर रहेको र घटनाबारे स्थानीयले समेत बिहान मात्र जानकारी पाएको देखिएको इलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरीक्षक योगराज खतिवडाले उकेरालाई जानकारी दिए।

‘घटनास्थल हेर्दा हत्या नै भएको देखिन्छ’, प्रहरी निरीक्षक खतिवडाले उकेरासँग भने, ‘हामी सूचना सङ्कलनकै क्रममा छौँ।’

शवहरू हेर्दा भाग्न खोज्नेलाई पनि समातेर हत्या गरेको देखिएको खतिवडाले बताए। ‘शव एकै ठाउँमा छैनन्’, खतिवडाले भने, ‘छरिएर रहेको अवस्थामा शवहरू देखिन्छन्।’

२१ भदौ, २०७८, १६:०६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।