सङ्खुवासभा घटना : नगद र गरगहना भेटिएपछि पारिवारिक दुस्मनीतिर सोझियो प्रहरी अनुसन्धान 

सङ्खुवासभा घटना : नगद र गरगहना भेटिएपछि पारिवारिक दुस्मनीतिर सोझियो प्रहरी अनुसन्धान 

घरमा भएको दराज नफोडिएको र त्यसमा नगद ४ लाख ७१ हजार तथा सुनका गहना समेत जस्ताको त्यस्तै रहेको फेला परेपछि अनुसन्धानमा जुटेको  प्रहरीले घटना लुटपाटका कारण नभई पारिवारिक रिसइबीले भएको हुनसक्ने अनुमान गर्दै अनुसन्धान त्यतातिर सोझ्याएको छ।

घर खानतलासी गर्दा जे देखियो त्यसले लुटपाटको कारण हत्या भएको सम्भावना नदेखिएको अनुसन्धानमा संलग्न एसपी भीम दाहालले बताए। आर्थिक कारण नदेखिएपछि पारिवारिक दुस्मनीका कारण घटना भएको हुनसक्ने देखिएपछि अनुसन्धान त्यतातिर केन्द्रित गरिएको उनले बताए। 

‘घरमा भएका गरगहना, नगद र मृतकले लगाएका गहनासमेत नलगिएकाले लुटपाट गर्ने उद्देश्यले हत्या भएको देखिएन’, एसपी ढकालले भने, ‘पारिवारिक दुस्मनीका कारण हत्या गरिएको हुन सक्छ।’ 

आइतबार राती घरमा रहेका  वृद्ध बौद्धमान कार्की बाहेक सबैको हत्या भएको थियो। घटनामा ८४ बर्सिया पार्वती कार्की, ५२ वर्षीय तेजबहादुर कार्की, बौद्धनाथकी बुहारी कमला कार्की, ३२ बर्सिया नातिनी बुहारी रञ्जना कार्की, ११ वर्षीय नाति दापेन कार्की र ७ बर्सिया नातिनी गोमा कार्कीको हत्या भएको थियो। 

सीआइबी टोली घटनास्थलमा 
घटनाको अनुसन्धानमा खटिएको स्थानीय प्रहरीलाई सघाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोबाट डिएसपी रुगम कुँवर नेतृत्वको टोली सोमवार बेलुका घटनास्थल पुगेको छ। कुँवरको टोलीले अनुसन्धानमा खटिएका स्थानीय प्रहरी टोलीलाई अनुसन्धानको प्राविधिक पाटोमा सघाउने छ। 

मादी नगरपालिका– १ खोलागाउँ कार्की परिवारको पुस्तैनी बसोबास हो। ४० रोपनी जति जग्गा भएका कार्की परिवार खेत किसानीमै थिए। बौद्धमानको अर्को छोरा भक्त कार्की छुट्टिएर वडा नम्बर ३ मा बस्थे। तेज बहादुरका दुवै छोरा तीन वर्ष अगाडि वैदेशिक रोजगारीका लागि मलेसिया र दुबई गएपछि उनीहरूको आर्थिक अवस्था उकासिँदै थियो।

घटनापछि कार्की परिवारमा विदेश रहेका २ नाति र वृद्ध हजुरबुवा मात्र बाँकी छन्।
 

२३ भदौ, २०७८, १२:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।