सङ्खुवासभा सामूहिक हत्याका पाँच आरोपी , पोस्टमार्टमले खुलाएको थियो थप प्रमाण

सङ्खुवासभा सामूहिक हत्याका  पाँच आरोपी , पोस्टमार्टमले खुलाएको  थियो थप प्रमाण

काठमाडौँ : हत्याको पोल खुलेमा एक जनाले जिम्मेवारी लिने गरी पाँच जना आफन्त मिलेर तेजबहादुर कार्की परिवारको हत्या गरेको प्रहरीले दाबी गरेको छ।

सङ्खुवासभाको मादी नगरपालिका–१ उमलिङका एकै परिवारका ६ जनाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको थियो।

अनुसन्धानको क्रममा लोकबहादुर कार्की पक्राउ परिसकेका छन्। प्रहरीले थप चार जना पक्राउ गरेको छ। पक्राउ पर्नेमा लोकबहादुरको भाइ र बा समेत छन्।

अनुसन्धानमा संलग्न एसपी भीम दाहालका अनुसार खड्गबहादुर कार्की, हस्तबहादुर कार्की, रणबहादुर कार्की र नरेश कार्की पक्राउ परेका हुन्।

भदौ २१ मा उमिलङका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

पोस्टमार्टम र मोबाइलले खुलायो थप आरोपी
प्रारम्भमा एक जना पक्राउ परे पनि मृतकमध्ये बुहारीको मोबाइल हराएको थियो। हराएको मोबाइल लोकबहादुरको भाइसँग फेला परेको थियो।

पक्राउ परेपछि उनी एक्लैले मारेको बयान दिएका थिए। दाउराको चिर्पटले हानेको र जलाएको बयान दिए पनि पोस्टमार्टम गर्दा छुरी समेत हानेको पुष्टि भएपछि एक्लैले हत्या नगरेको देखिएको थियो।

कार्कीलाई पक्राउ गरे पनि एक टोली घटनास्थलमै बस्यो सुरक्षाका लागि भन्दै हराएको मोबाइल बरामद भएपछि थप चार जना समेत हत्यामा संलग्न भएको खुलेको प्रहरीको दाबी छ। पक्राउ परेका चारमध्ये लोकबहादुरका बाले हत्यापछि शव मिलाउन सघाएको खुलेको र बाँकी तीन जना भने कार्की परिवारको हत्यामै संलग्न भएको प्रहरीको दाबी छ।

हत्याको कारण भने तेज बहादुरले पटक-पटक गाली गर्नु नै खुलेको छ। हत्यामा संलग्न सबैलाई उनले गाली गरिरहने भएकाले सबै रिसाएकाले मेला जाने अघिल्लो दिन नै सबै मिलेर मार्ने योजना बनाएको तर परिवारका अन्य सदस्यले थाहा पाएपछि सबैको हत्या गरेको प्रारम्भिक बयान दिएका छन्।

४ असोज, २०७८, १२:२५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।