सङ्खुवासभा हत्याकाण्डका अभियुक्त डिप्रेसनका रोगी

सङ्खुवासभा हत्याकाण्डका अभियुक्त डिप्रेसनका रोगी

सङ्खुवासभाः जिल्लाकाे मादी नगरपालिका– १ उम्लिङमा तेजबहादुर कार्कीसहित परिवारका ६ जनाको हत्याकाे आरोपमा पक्राउ परेका २६ वर्षीय लोकबहादुर कार्की मानसिक रोगी भएको प्रहरीले जनाएको छ। प्रदेश १ का प्रहरी प्रवक्ता नवीनराज राईले अभियुक्त लाेकबहादुर केही समययता डिप्रेसनकाे औषधि सेवन गर्दै आइरहेको बताए।

लोकबहादुर कार्की रोजगारको सिलसिलामा सन् २०१४ र सन् २०१९ मा गरी दुई पटक कतार गएका थिए भने सन् २०१६ मा मलेशिया गएका थिए। पछिल्लोपटक कतार गएको बेला स्वास्थ्यमा समस्या देखिएपछि उनी काम गर्न नसकी घर फर्किएकाे प्रहरीले बताएकाे छ। 

कस्तो थियो उनको स्वभाव?

लोकबहादुर बेलाबेला आक्रोशित हुने, नजिकमा रहेकाहरूलाई जे पायो त्यहीले आक्रमण गर्न खोज्ने, राति नसुत्ने, एक्लै हिड्ने र बुवा र भाइसँग झगडा गर्ने गरिरहन्थे। लोकबहादुरका बुवा बित्नु अघि उनले तेजबहादुरलाई छाेराकाे रेखदेख गरिदिन आग्रह गरेका थिए। प्रहरीले दिएको जानकारीअनुसार तेजबहादुरले बेला बेला लाेकबहादुरलाई घरमा बोलाएर सम्झाउने, काम अह्राउने, नगर्दा किन नगरेकाे अल्छी भन्ने, काम गर्न सक्दैनस् पागल भनेर हप्काउने गर्थे।

प्रहरीका अनुसार लोकबहादुरलाई तीन पटक विदेश जाँदा पनि आफूले कमाउन नसकेको, विदेश जाँदा ऋण र आमाको उपचार खर्च र क्रिया खर्चसमेत जग्गा बेचेर तिरेको कुराले पोलिरहन्थ्यो। उनी घटना भएको दिन पिप्लेमा रहेको खेतमा काम गर्ने योजनामा थिए।

प्रहरीलाई लोकबहादुर कार्कीले के भने?

प्रहरीसमक्ष लोकबहादुरले भदौ २० गते निन्द्रा नलागेर छट्पटी भएको बताएका थिए। बिहान लोकबहादुरका भाइले खाेले पकाइ, बुवा र दाइसँग बसेर चिया पिइ घाँस काट्न गएका थिए। त्यसबेला लोकबहादुर घरमा एक्लै थिए। उनी बिहान मृतक तेजबहादुर कार्कीको घरतर्फ पनि गएका थिए।

त्यहाँबाट फर्कने क्रममा तेजबहादुरले उनलाई पटक पटक "पागल", "काम गर्न नसक्ने" भन्दै गाली गरेका थिए। उनी अनिदाे भएकाले तेजबहादुरकाे कुराले दिक्क बनायाे। उनले 'यहि नै उपयुत्त समय हो' भन्ने ठानेर रिसको झोंकमा दाउराको चिरपटले पछाडिबाट टाउकोमा प्रहार गरेका थिए। त्यसपछि तेजबहादुर भीरबाट धरमराउँदै लडेका थिए।

त्यती नै बेला तेजबहादुर 'लोकेले मलाई मार्यो' भनेर चिच्याएपछि हारगुहार सुनेर श्रीमती र बुहारी घटना भएतर्फ आएका थिए। लोकबहादुरले 'यिनिहरू सबैले थाहा पाए' भन्ने ठानेर शुरुमा तेजबहादुरकी श्रीमती कमला भनिने मनमाया र बुहारी रञ्जनालाई प्रहार गरेका थिए।

उनले त्यसपछि घरमा आइ दुई नाबालक गोमा र दिपेनलाई लखेटेर हत्या गरे। घर पछाडि खोले पकाउने स्थानमा पार्वता कार्कीलाई भेटि कपालमा समाती भित्तामा टाउको पटक पटक ठोक्काइ हत्या गरे। प्रहरीले दिएको जानकारीअनुसार तेजबहादुरलाई पछाडिबाट र महिला बालबालिका तथा वृद्धलाई एउटै चिपर्ट हानेर उनले हत्या गरेका हुन्।

२७ भदौ, २०७८, १४:५१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।