सीता भण्डारी प्रकरण : घटनाको १० दिनपछि हत्यामा जाहेरी दर्ता

सीता भण्डारी प्रकरण : घटनाको १० दिनपछि हत्यामा जाहेरी दर्ता

बुटवल : रुपन्देहीको तिलोत्तमा ५ मा भएको रहस्यमय मृत्यु प्रकरणमा १० दिनपछि प्रहरीले किटानी जाहेरी दर्ता गरेको छ ।

प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले मातहतका प्रहरी तथा आन्दाेलनपक्षसहित प्रशासनमा भएको छलफलपछि जाहेरी दर्ता भएको सीताका बुबा हरिप्रसाद भण्डारीले बताए ।

जाहेरीमा मृतकका श्रीमान् टीका पौड्यालसहित तिलोत्तमा ५ का वडा सदस्य रहेका मृतकका जेठाजु हरि पौडेल र पौडेलकी दिदी (आमाजू) विष्णुलाई किटानी गरिएको छ ।

मणिग्रामका ४३ वर्षीय टीका पौड्यालकी पत्नी सीता भदौ १९ गते आफ्नै घरको कोठामा मृत अवस्थामा फेला परेकी थिइन् । पोष्टमार्टम रिपोर्टमा सीताले झुण्डिएर आत्महत्या गरेको देखिएको प्रहरीले दावी गरे पनि माइती पक्षले भने सीताको हत्या गरेर आत्महत्या भनिएको भन्दै अनुसन्धानको माग गरिरहेको छ।

बिहे भएको २ बर्षपछि आफ्नै घरको कोठामा मुखबाट रगत बगेको, गला कसिएको र भुइँमा लडेको अवस्थामा सीताको शव भेटिएको थियाे ।

नगरपालिका–५ घर भएकी २७ वर्षीय सीता भण्डारी पौड्यालको मृत्यु भएको दश दिन बित्दा पनि उनको शव उठेको छैन ।  घटनाबारे उच्चस्तरीय छानबिन गरेर न्याय पाए मात्रै शव बुझ्ने माइती परिवारको भनाइ छ।
उता प्रहरीले यही घटनामा सीताको श्रीमान् र आमाजुलाई आत्महत्या दुरुत्साहनको आरोपमा पक्राउ गरेर अनुसन्धान गरिरहेको छ। सिताको बुवाले यस अगाडि आत्महत्या दुरुत्साहनमा जाहेरी दिएका थिए।

उनले जिल्ला प्रहरी कार्यालयका प्रमुखले कर्तब्य ज्यानमा जाहेरी लिन मिल्दैन आत्महत्या दुरुत्साहनमा जाहेरी दिनु्स भनेकाले जाहेरी दिएको भन्दै ज्यान सम्बन्धी कसुरमा जाहेरी दर्ताका लागि जिल्ला।प्रशासनमा निवेदन दिएका थिए। 

२९ भदौ, २०७८, २३:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।