शंकर पोखरेलविरुद्ध अपहरण मुद्दा, कारबाही गर्न सांसद वलीले दिइन प्रहरीमा किटानी जाहेरी 

शंकर पोखरेलविरुद्ध अपहरण मुद्दा, कारबाही गर्न सांसद वलीले दिइन प्रहरीमा किटानी जाहेरी 

बुटवल : लुम्बिनीका पूर्व मुख्यमन्त्री शंकर पोखरेलसहित ४ जनाविरुद्ध सांसद विमला कुमारी खत्रीले अपहरण तथा शरीर बन्धकसम्बन्धी किटानी जाहेरी दिएकी छिन्। 

साउन १५ गतेदेखि ५ दिनसम्म पोखरेल मुख्यमन्त्री रहँदा दाङबाट ल्याएर बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको माग गर्दै खत्रीले किटानी जाहेरी दिएकी हुन्। 

उनले जाहेरीमा तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छिन्। 

रुपन्देही प्रहरी प्रवक्ता सत्यनारायण थापाले वलीले बुटवलमा किटानी जाहेरीका लागि पत्र बुझाएको पुष्टि गरे। उनले जाहेरी दाङमा दर्ता गराउन सुझाव दिएको बताए। 

‘हामीकहाँ आउनुभएको थियो, हामीले यसलाई दाङमै दर्ता गरेर अघि बढाउँदा उपयुक्त हुन्छ भन्ने सुझाव दिएका हौँ’उनले भने।

वली र माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डिएसपी मदन कुँवरलाई किटानी जाहेरी बुझाएका छन्। कुँवरले घटनाको सुरुवात भएको स्थान दाङमै उजुरी दर्ता गर्ने प्रतिविद्धतासहितको पत्र दिएका छन्। 

'हामीले प्रदेश प्रहरी कार्यालय दाङसँग परामर्श गरी इलाका प्रहरी कार्यालय बुटवलमा दर्ता गर्न गएका थियौँ,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने,‘उहाँले घटनाको सुरुवात भएकै स्थानमा दर्ता गरिदिन्छौ भन्ने प्रतिविद्धतासहितको पत्र हामीलाई दिनुभएको छ।’

दाङ प्रहरीले भने जाहेरी आफूकहाँ आइनपुगेको बताएको छ। दाङ प्रहरी प्रवक्ता सुरेश काफ्लेले दाङमा उजुरी नआएको बताए। 

वलीले दिएको उजुरीअनुसार अदालतले कसुर ठहर गरेमा पोखरेलसहित ४ जनालाई ७ वर्षदेखि १० वर्षसम्म कैद र सत्तरी हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना हुनसक्ने व्यवस्था मुलुकी अपराध संहिता २०७४ ले व्यवस्था गरेको छ।

२९ भदौ, २०७८, २१:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।