मौसमी फ्लुको संक्रमणमा कोरोना फोबियाको जोखिम

मौसमी फ्लुको संक्रमणमा कोरोना फोबियाको जोखिम

काठमाडौँ : दुई साता अघि करिब ४५ वर्षका पुरुष स्वास्थ्य परीक्षण तथा उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल पुगे। रुघाखोकी लागेका तथा ज्वरो आएका ती पुरुषले कोरोना भाइरस संक्रमण भन्ठानेर ३ पटक पिसिआर परीक्षण गराए। 

दुई पटकको परीक्षणमा कोरोना संक्रमण देखिएन। तर, ती पुरुषलाई अझै चित्त बुझेन। तेस्रो पटक भने उनले कोरोनासँगै फ्लुको पनि परीक्षण गराए। 

तर, उनमा कोरोना संक्रमण देखिएन। बरु मौसमी फ्लुको संक्रमण भने पुष्टि भयो। 

टेकु अस्पतालका क्लिनिकल रिसर्च युनिट संयोजक डा. शेरबहादुर पुनका अनुसार ती पुरुषका परिवारका सबैलाई रुघाखोकी लागेको थियो। त्यसैले चित्त नबुझेर उनले कोरोना भाइरस संक्रमण भन्ठानेर पटक–पटक परीक्षण गराए। डा. पुनले भने,‘उहाँले एक हप्ता भित्रमा ३ पटक कोरोना परीक्षण गराउनु भएको रहेछ।’ 

डा. पुनले टेकु अस्पतालमा पुगेका फ्लु संक्रमित ती पुरुषका परिवार नै स्वास्थ्य उपचार तथा परामर्शका लागि पुगेको बताए। उनले भने,‘उहाँको श्रीमती, छोराहरू  आउनु भएको थियो। सबैलाई परामर्श दिएँ र उहाँहरू फर्कनुभयो।’ टेकु अस्पतालमा दैनिक जसो यसरी कोरोना हो की भनेर त्रसित हुँदै फ्लु संक्रमित भएका बिरामी पुग्ने गरेको डा. पुनले सुनाए। 

चिकित्सकको भनाई अनुसार मौसमी रुघाखोकी मौसम परिवर्तनको अवस्थामा प्रत्येक वर्ष देखिन्छ। तर, सामान्य रुघाखोकी लाग्दा समेत व्यक्तिहरू मानसिक रूपमा कोरोनाको संक्रमण त भएको हैन भनेर चिन्तित देखिएको डा. पुन बताउँछन्। 

कोरोना संक्रमण पो भयो की भन्ठान्ने किसिमको त्रास तथा चिन्तालाई डा. पुनले ‘कोरोना फोबिया’ का रूपमा लिने गरेका छन्। डा. पुनले भने,‘कोरोना नभए पनि कोरोना भयो की भन्ने त्रास लिनुलाई कोरोना फोबिया भन्ने गरेको छु।’ कोरोना संक्रमण नभएको तर रुघाखोकी लगायतका लक्षण देखिँदा कोरोना लागेको भन्ठान्नु कोरोना फोबिया  हो। 

चितवन र कान्तिमा संक्रमित बढे

टेकु अस्पतालमा पुगेका ४५ वर्षका फ्लु संक्रमित बिरामी जस्तै कोरोना पो भयो की भन्ठानेर चिन्ता लिँदै चितवनको भरतपुर अस्पताल पुग्ने बिरामीको सङ्ख्या पनि बढेको छ। 

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट प्रा. डा. कृष्ण प्रसाद पौडेलले अस्पतालमा मौसमी फ्लुका बिरामी बढेको जानकारी दिए। संक्रमितहरु कोरोना हो की फ्लु हो भन्ने दुबिधा तथा चिन्तामा पर्ने गरेको उनले सुनाए। ‘फ्लुले कोरोनासँग धेरैलाई क्न्फ्युजिङ गरेको छ। अरुबेला रुघाखोकी हुने नै हो। मतलब हुँदैनथ्यो,’डा. पौडेलले भने,‘अहिले रुघाखोकी, ज्वरो आउने बित्तिकै कोरोना हो की भनेर तर्सिने मनोवैज्ञानिक समस्या परेको देखिन्छ।’

रुघाखोकी लागेका बिरामीमा कोरोना भएर घरमा अरूलाई सर्छ की, मरिने पो हो की भन्ने मनोवैज्ञानिक त्रास देखिएकाले व्यवहारिक कठिनाइ देखिएको उनले सुनाए।

कान्ति बाल अस्पतालका बाल रोग विशेषज्ञ डा. कृष्णप्रसाद विष्ट पनि अस्पतालमा रुघाखोकी लागेका बालबालिकाको सङ्ख्या बढेको बताउँछन्। उनले भने,‘फ्लु त अहिले अलिकति बढेको छ पहिला भन्दा। बीचमा एक ताका बढेको थियो, घट्यो। अहिले फेरी बढेको छ।’ 

तर, विष्टले अस्पतालमा फ्लु भाइरसको खासै परीक्षण नहुने गरेको सुनाए। उनले भने,‘फ्लु चाहिँ छ। तर हामीकहाँ भाइरसको खासै टेस्ट हुँदैन।’ अस्पताल नै भर्ना गर्नुपर्ने फ्लु संक्रमित बालबालिका भने कमै हुने गरेको उनले जानकारी दिए।

फागुन–चैत र साउन–भदौमा उच्च संक्रमण

एकातर्फ कोरोना भाइरस संक्रमणको जोखिम कायम नै छ। अर्कोतर्फ मौसमी फ्लु संक्रमित बिरामीको चाप अस्पतालमा बढेकाले संक्रमितहरुमा मनोवैज्ञानिक त्रास बढेको चिकित्सकहरू बताउँछन्। चीनको उहानबाट सन् २०१९ डिसेम्बरको अन्त्यबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै त्रसित बनाएको छ।

डा.पुनले फ्लु संक्रमण भएर टेकु अस्पताल पुग्नेको सङ्ख्या बढिरहेको जानकारी दिए। उनले भने,‘गत ४÷५ हप्ताको तथ्याङ्क हेर्दा फ्लु उकालो लागिरहेको छ।’ 

सामान्यतः नेपालमा मार्च (फागुन– चैत) र अगस्ट (साउन–भदौ) मा फ्लु संक्रमण उच्च बिन्दुमा पुग्ने गरेको डा. पुन बताउँछन्। उनले भने,‘मौसमी फ्लु जाडो सकिएपछि गर्मी मौसम सुरु हुने बेलामा र मध्य मनसुनमा उच्च बिन्दुमा पुग्ने गरेको पाइन्छ।’ तर, असोजबाट बिस्तारै फ्लुको संक्रमण कम हुँदै जाने डा.पुनको आकलन छ। उनले भने,‘सायद अर्को महिनाबाट फ्लु कम हुँदै जान्छ। बिस्तारै झर्दै जान्छ।’

नेपालमा फ्लुको नयाँ भाइरस

भाइरसको एउटा प्रकारलाई ‘इन्फ्लुन्जा’ भनिन्छ। इन्फ्लुन्जालाई छोटकरीमा फ्लुका नामले चिनिन्छ।

चिकित्सकका अनुसार इन्फ्लुन्जा ‘ए’,‘बी’,‘सी’ र ‘डी’ गरी चार प्रकारका हुन्छन्। जसमध्ये मानिसमा संक्रमण गर्ने इन्फ्लुन्जा ‘ए’,‘बी’,‘सी’ हो। ‘ए’ र ‘बी’ कडा किसिमका इन्फ्लुन्जाले प्रत्येक वर्ष दुःख दिने गरेको डा. पुन बताउँछन्। 

डा. पुनका अनुसार ‘बी’ इन्फ्लुन्जाको तुलनामा ‘ए’ इन्फ्लुन्जा विश्वव्यापी रूपमा फैलने सम्भावना हुन्छ भने ‘सी’ कडा भएर देखिन्न। ‘ए’ इन्फ्लुन्जा भाइरसको रूप छिटो परिवर्तन हुन्छ। जसले गर्दा संक्रमित व्यक्तिको मृत्युको जोखिम पनि बढी नै हुन्छ।

‘ए’ इन्फ्लुन्जाअन्तर्गत ‘एच वान एन वान पीडिएम—०९’ र ‘एच थ्री’ भाइरस नेपालमा देखिने गरेको डा. पुन बताउँछन्। ‘एच वान एन वान पीडिएम—०९’ भाइरसलाई स्वाइन फ्लुका नामले चिनिने गरेको र ‘एच थ्री’ भाइरसलाई हङकङ फ्लुका रूपमा समेत चिनिने गरेको चिकित्सक बताउँछन्। वर्ड फ्लुका रूपमा चिनिने ‘एच फाइब  एन वान’को समेत जोखिम हुन्छ। यसको मृत्युदर ६० प्रतिशत रहेको चिकित्सक बताउँछन्।

तर, गत वर्षबाट स्वाइन फ्लुका नामले चिनिने ‘एच वान एन वान पीडिएम—०९’ भने यो वर्ष नदेखिएको डा. पुन बताउँछन्। उनले भने,‘यो वर्ष ‘ए’ इन्फ्लुन्जा अन्तर्गत ‘एच वान एन वान पीडिएम—०९ देखिएको छैन। इन्ट्रेस्टिङ हो त्यो।’ तर, हङकङ फ्लुका नामले चिनिने ‘एच थ्री’ निरन्तर देखिरहेको उनले बताए। गत वर्ष सम्म स्वाइन फ्लु र हङकङ फ्लु दुवै देखिने गरेको उनी बताउँछन्। डा. पुनले भने,‘अहिले एउटा मात्रै अघि बढेको छ।’

फ्लु ‘बी’ मा पर्ने भिक्टोरिया र यामागातामध्ये भिक्टोरिया बढी देखिने गरेको उनले बताए। फ्लु ‘बी’ अन्तर्गत भिक्टोरिया र यामागाता बाहेकको फ्लु पनि यो वर्ष देखिएको डा. पुनले बताए। उनले भने ‘फ्लु बी अन्तर्गत भिक्टोरिया र यामागातामा नपर्ने फ्लुको रूप पनि छ जस्तो देखियो। नयाँ रूप देखियो।’

यो वर्ष नेपालमा पनि केही व्यक्तिमा फ्लु ‘बी’ को नयाँ स्वरूप जस्तो देखिएको उनले बताए। डा. पुनले भने,‘केहीमा फ्लु ‘बी’ को नयाँ स्वरूप जस्तो लाग्छ मलाई दुइटैमा नभएको पनि देखिएको छ।’ तर, ‘बी’ अन्तर्गत देखिएको तेस्रो नयाँ प्रजाति के–कस्तो हो भन्ने अध्ययनको विषय बनेको उनले बताए। 

बालबालिका र दीर्घ रोगीमा बढी सावधानी

फ्लु संक्रमित भएका व्यक्तिमा पनि स्वास्थ्य जटिलता निम्तिएर ज्यान जाने जोखिम हुन्छ। श्वासप्रश्वासमा समस्या निम्तने तथा निमोनिया हुन सक्ने भएकाले फ्लु संक्रमणमा सजग रहन चिकित्सकको सुझाव छ।

विशेष गरी रोग प्रतिरोधात्मक क्षमता कमजोर भएका व्यक्ति, दीर्घ रोगको समस्या भएका व्यक्ति बालबालिका तथा पाका व्यक्तिमा फ्लुको जोखिम बढी हुने चिकित्सकको भनाई छ। चिकित्सकको मत अनुसार दम तथा स्वास्प्रस्वासम्बन्धि समस्या भएका व्यक्तिमा फ्लु संक्रमित भई स्वास्थ्य जटिलताको जोखिम बढी हुने भएकाले सजग हुनुपर्छ। 

चिकित्सकका अनुसार फ्लु संक्रमितभई शरीरका अङ्गले काम नगर्दा ज्यान जान सक्छ। फ्लु संक्रमितमध्ये करिब २ प्रतिशतको मृत्यु हुन सक्छ। फ्लुको तुलनामा अझ सजिलो गरी कोरोना भाइरस सर्ने देखिएको डा. पुन बताउँछन्।

विद्यालयहरू नखुलेकाले अभिभावक सचेत भई फ्लुको संक्रमणबाट बचे बालबालिका संक्रमणको जोखिमबाट बच्नेतर्फ अभिभावकले ध्यानदिनुपर्ने विशेषज्ञ डा. विष्टको सुझाव छ। उनले भने,‘स्कुल खुलेको छैन। अभिभावक नै सचेत हुनुपर्छ।’

कसरी छुट्ट्याउने लक्षण?

मौसमी रूपमा देखिने फ्लुको संक्रमण र कोरोना भाइरस संक्रमणको लक्षण मिल्दाजुल्दा नै हुने चिकित्सक बताउँछन्। चिकित्सकका अनुसार सामान्यतः मौसमी फ्लु वा कोरोना भाइरस संक्रमण के हो? भन्ने निष्कर्षमा पुग्नका लागि प्रयोगशालामा भाइरस परीक्षण गर्नुपर्ने हुन्छ।

फ्लुको संक्रमणमा रुघाखोकी लाग्ने, छाती दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने र कतिपयमा पातलो दिसा लाग्ने लक्षण देखिन्छन्। त्यसै गरी शरीरका हाड जोर्नी तथा मांसपेशी दुख्ने, शरीर शिथिल हुने लगायतका लक्षण देखिन्छन्। आँखाको दाना दुख्ने, टाउको दुख्ने, घाँटी बस्ने, नाक बन्द भएको जस्तो हुने लगायतका लक्षण फ्लुमा देखा पर्ने डा. पुन बताउँछन्। कोरोना भाइरस संक्रमणमा पनि फ्लुका जस्ता यस्ता लक्षण देखिने चिकित्सक बताउँछन्। 

तर, चितवनका डा. पौडेलले कोरोनामा खोकी लाग्ने तथा ज्वरो आउने भएकाले सबैलाई पिसिआर परीक्षण गर्नै पर्छ भन्ने जरुरी नहुने बताए। डा. पौडेलले भने,‘कोरोनामा रुघा लाग्दैन। खोकी लाग्ने हो। ज्वरो आउने हो।’

सामान्यतः फ्लुको संक्रमण हुँदा सुरुमा रुघा लाग्ने तथा भाइरसको संक्रमण कडा बन्दै जाँदा श्वासप्रश्वासमा समस्या निम्तिएर स्वास्थ्य जटिलता हुन सक्नेतर्फ ध्यानदिनुपर्ने डा. पुनको सुझाव छ। कोरोना भाइरस संक्रमण भएको अवस्थामा भने सामान्यतः लक्षणको सुरुवातमा नै उच्च ज्वरो आउने, रुघाखोकी लाग्ने, स्वास्प्रश्वासमा समस्या निम्तने जस्तो लक्षण देखिने उनी बताउँछन्।

फ्लुको संक्रमणमा शरीर दुख्ने, खोकी लाग्ने, घाँटी दुख्ने, घाँटी खसखस गर्ने, बान्ता हुने जस्ता लक्षण देखिने डा.पुन बताउँछन्। निमोनिया भएर स्वास्थ्य जटिलता निम्तिई व्यक्तिको ज्यान जानेतर्फ ध्यानदिनुपर्ने उनको सुझाव छ। चिकित्सकको मत अनुसार फ्लु संक्रमित बालबालिकामा झाडापखाला तथा बान्ता हुने जस्ता लक्षण समेत देखिने गरेको पाइन्छ।

लक्षण अनुसारको उपचार विधि

फ्लु संक्रमित र कोरोना भाइरस संक्रमण भएको व्यक्तिका लागि यही नै भन्ने विशेष किसिमको औषधि छैन। दुवैमा लक्षण अनुसारको उपचार विधि अपनान्छ। 

फ्लु संक्रमित व्यक्तिमा संक्रमण कडा भएको अवस्थामा ‘ओसेलटेमिभिर’ नामक औषधि चलाइने डा. पुन बताउँछन्। उनले भने,‘ओसेलटेमिभिर’ एन्टिभाइरल औषधि हो।’

फ्लु संक्रमण भएको अवस्थामा सामान्यतः एक हप्तादेखि दश दिन सम्ममा समस्या कम हुन्छ। तर, रुघाखोकी लागेको अवस्थामा स्वास्थ्य परीक्षण नगराई घरैमा नबस्न चिकित्सकको सुझाव छ। डा. पुनले भने,‘भाइरस संक्रमण शरीरमा फैलिएर ज्यानै जाने सम्भावना हुन्छ। त्यसैले रुघा खोकी त हो नि भनेर हेलचेक्र्याइँ गर्नुहुँदैन।’

त्यसो त मौसमी फ्लुको संक्रमणबाट बच्नका लागि खोप लगाउन सकिने डा. पुन बताउँछन्। पुनका अनुसार खोपको प्रयोगले करिब ६० प्रतिशत फ्लुको  संक्रमणबाट बच्न सकिन्छ। फ्लु विरुद्धको खोप वर्षमा एक पटक लगाउन सकिने उनले बताए। ६ महिना भन्दा माथिका बालबालिकामा पनि फ्लु भाइरसविरुद्धको खोप लगाउन सकिने डा. विष्ट बताउँछन्। उनले भने,‘६ महिना माथिकालाई फ्लुको खोप दिन सकिन्छ।’ कोरोना भाइरस संक्रमणबाट बच्न पनि खोप आउने क्रम जारी नै छ। 

फ्लुको संक्रमणबाट बच्न होस वा कोरोना भाइरस संक्रमणबाट बच्न नै किन नहोस् साफ सफाइमा ध्यान दिनुपर्ने हुन्छ। संक्रमणबाट बच्न साबुन पानीले हात धोएर खानुपर्छ। यस्तो संक्रमणबाट बच्नका लागि पटक–पटक नाक मुखमा हात नलान चिकित्सकको सुझाव छ। 

मोसमी फ्लु र कोरोना दुवै संक्रमणबाट बच्नका लागि भिडभाडमा नजान तथा राम्रोसँग मास्क लगाउनुपर्ने डा. विष्टको सुझाव छ। झोलिलो तथा पोसिलो खानपान गर्नुपर्छ। मासु ६० डिग्रीभन्दा बढी तापक्रममा पकाएर खान चिकित्सकको सुझाव छ। फ्लु तथा कोरोना संक्रमणको लक्षण देखिएको अवस्थामा हेलचेक्राई नगरी चिकित्सकको परामर्श लिनुका साथै स्वास्थ्य परीक्षण गराउन डा. पुनको सुझाव छ।

१६ भदौ, २०७८, १९:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।