विरुद्ध आहार : स्वस्थ रहने १८ सूत्र

विरुद्ध आहार : स्वस्थ रहने १८ सूत्र

आयुर्वेद चिकित्सा विज्ञान मात्र नभई जीवन जिउने कला पनि हो।

पुर्खाबाट हामीले सुन्दै आएका छौँ र नियम बनाएर अवलम्बन पनि गर्दै आएका छौँ कि, माछा मासु खाएर दूध खाँदैनौँ, साँझमा दही खाँदैनौँ, कटहरसँग पोलेको मकै खाँदैनौँ।

सुन्दा यसको कारण के होला भन्ने पक्कै लाग्छ। तर यी नियमको पछाडि वैज्ञानिक कारण छ। आयुर्वेद विज्ञानले विरुद्ध आहारको बारेमा प्रस्ट रूपमा वर्णन गरेको छ र विरुद्ध आहार सेवन गर्नु स्वास्थ्यको लागि हानिकारक छ। जुन पदार्थ सँगै सेवन गर्दा स्वास्थ्यलाई हानि गर्छ, त्यो विरुद्ध आहार हो।

आयुर्वेदअनुसार आहारलाई तीन उपस्तम्भमध्ये एक मानिएको छ, जसले सिद्ध गर्छ, आहार शरीरलाई नभई नहुने कुरा हो। खाना खानु मात्र स्वस्थ हुनु होइन। तरिका मिलाएर खाएमा मात्र स्वस्थ रहन सकिन्छ। विरुद्ध आहार सेवन गर्नु शरीरको लागि विष समान छ। विरुद्ध आहार १८ प्रकारका मानिएका छन्।

१.   देश विरुद्ध: देशको विरुद्धमा आहार सेवन गर्ने। मरुभूमिमा रूक्ष र तीक्ष्ण द्रव्यको सेवन गर्ने। आनुप देशमा स्निग्ध र शीत द्रव्यको सेवन।

२.   काल विरुद्ध: काल र ऋतुको विचार नगरी आहार सेवन गर्ने। उष्ण कालमा कटु र उष्ण पदार्थको सेवन। शीत कालमा शीत र रूक्ष पदार्थको सेवन।

३.   अग्नि विरुद्ध: पाचन शक्ति विचार नगरी आहार सेवन गर्ने। मन्दाग्नि भएको बेलामा गुरु आहार सेवन गर्ने। तीक्ष्ण अग्नि भएको बेलामा लघु आहार सेवन गर्ने।

४.   मात्रा विरुद्ध: मात्रा नमिलाई आहार सेवन गर्ने। मह र घ्यु समान रूपमा सेवन गर्ने। मह र आकाशको पानी समान मात्रामा सेवन गर्ने।

५.   सातत्य विरुद्ध: शरीरको सातत्य विरुद्ध आहार सेवन गर्ने। चाइनिजहरूले नेपाली खाना खाने। कटु र उष्ण पदार्थमा बानी परेको व्यक्तिले मधुर र शीत आहारको सेवन गर्ने।

६.   दोष विरुद्ध: व्यक्तिको प्रकृतिभन्दा भिन्नै आहार, औषधि तथा विहार सेवन गर्ने।

७.   संस्कार विरुद्ध: तयारी वा संस्कार विरुद्ध आहार सेवन गर्ने। महलाई तताएर सेवन गर्ने।

८.   वीर्य विरुद्ध: आहार वा द्रव्यको वीर्यको विचार नगरी सेवन गर्ने। उष्ण वीर्य भएको आहारसँग शीत वीर्य भएको आहार सेवन गर्ने। माछासँग दूधको प्रयोग।

९.   कोष्ठ विरुद्ध: कोष्ठ विचार नगरी आहार सेवन गर्ने। क्रूर कोष्ठ भएको व्यक्तिलाई कम मात्रामा रेचक औषधि दिने वा पातलो दिशा आउने व्यक्तिलाई बढी मात्रामा रेचक औषधि दिने।

१०.अवस्था विरुद्ध: अवस्थाको विचार नगरी आहारको सेवन गर्ने। यौन क्रीडापछि, धेरै शारीरिक व्यायामपछि बात बढ्ने आहारको सेवन गर्ने। सुतेर उठेपछि कफवर्धक आहार सेवन गर्ने।

११.क्रम विरुद्ध: क्रम विरुद्ध आहार सेवन गर्ने। रातिमा दहीको सेवन, मह सेवन गरेपछि तातोपानी, आहारको पाचन नहुँदै अर्को आहार सेवन गर्ने, भोक लागेको बेलामा आहार सेवन नगर्ने तथा नलागेको बेलामा सेवन गर्ने।

१२.परिहार विरुद्ध : बँदेलको मासु सेवन गरेपछि उष्ण वीर्यको आहार सेवन गर्ने। तातो चिया वा कफी सेवन गरेपछि चिसो पानी सेवन गर्ने।

१३.उपचार विरुद्ध: घ्यु सेवन गरेपछि चिसो कुरा सेवन गर्ने। मह सेवनपछि तातो पानी सेवन गर्नु।

१४.पाक विरुद्ध:  कम पकाएको आहार वा अधिक पकाएको आहार सेवन गर्ने।

१५.संयोग विरुद्ध: नुनिलो आहारसँग दूध प्रयोग। केरा र दूधको प्रयोग।

१६.हृदय विरुद्ध: आफूलाई मन नपर्ने तथा खान नहुने आहारको सेवन गर्ने।

१७.संपाद विरुद्ध: आहारको गुण नआएको वा राम्रोसँग नपाकेको आहार सेवन गर्ने। अति पाक तथा अपाक आहार सेवन।

१८.विधि विरुद्ध: खुला तथा हलमा बसेर आहार सेवन गर्ने। आहार सेवन विधि विरुद्ध आहार सेवन गर्ने।

११ भदौ, २०७८, ०९:१७:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।