नर्स देखेर चिकित्सक भएका डा निलम

नर्स देखेर चिकित्सक भएका डा निलम

ललितपुरको धापाखेलमा जन्मिएका निलम अध्ययनमा तीक्ष्ण थिए। उनले   २०४१ सालमा ललितपुरकै सातदोबाटो स्थित ‘महेन्द्र आदर्श विद्याश्रम’बाट प्रथम श्रेणीमा एसएलसी उत्तीर्ण गरे। उनका बुवा ओभरसियर भएकाले छोलाई इन्जिनियर बनाउने सपना थियो।

त्यसैले निलमले एसएलसीपछि अस्कल क्याम्पसमा आइएस्सी अध्ययन थाले। तर, आइएस्सीमा उनको राम्रो नम्बर आएन। 

आइएस्सीमा सोचेजस्तो नम्बर नआएपछि निलमको जीवनमा तनाव सुरु भयो। उनले सुनाए, ‘राम्रो नम्बर नआउँदा म फ्रस्टेट भएँ।’ तनावकैबीच उनले बोर्डिङ स्कुलमा पढाउन सुरु गरे। एक वर्ष पढाए। 

दुर्भाग्य, आइएस्सीमा राम्रो नम्बर नआएको तनाव त छँदै थियो। उनमा अर्को तनाव पनि थपियो। निलमको स्वास्थ्यले धोका दियो। आइएस्सी सकेर स्कुल पढाउने क्रममा नै उनको छातीमा ‘ट्युमर क्लोसिस (टिबी)’ भयो। अब उनी स्वास्थ्य पिडाले  झन् तनावमा पर्न थाले। टिबीको पिडामा परेका बेला उनको उमेर करिब २० वर्षको थियो।

टिबी भएपछि निलमले जीवनमा अँध्यारो पाटो मात्रै देख्न थाले। निलमले सुनाए,‘टिबी भएपछि जीवनको अँध्यारो पाटो मात्रै देख्न थालेँ। कुनै उज्यालो देखिन्न।’

निलमको दैनिकी अस्पताल जाने, औषधि खाने। नबाँच्ने हो की! भन्ने चिन्ता थपियो। तनाव छल्न कविता लेख्न थाले। केही कविता पत्रिकामा प्रशासित पनि भए। बुवाआमा पनि छोराको अवस्था देखेर निराश थिए।

नर्स देखेर एचए

निलम ललितपुरको पाटन अस्पतालमा टिबीको औषधि लिन गइरहन्थे। औषधि लिन जाँदा अस्पताल अगाडिको चौरमा घण्टौँसम्म टोलाएर बस्थे। त्यो बेला टिबीको कडा किसिमको औषधि हुन्थ्यो। 

उनलाई ग्यास्ट्रिकको समस्याले समेत सताएको थियो। एक दिनमा उनी १२ वटासम्म ग्यास्ट्रिकको औषधि खान्थे। त्यसले उनी झन् मानसिक समस्यामा परे। 

एक दिन औषधि लिन गएका बेला पाटन अस्पतालको भ्यानबाट सेता एप्रोन लगाएका नर्सहरूको समूह गफ गर्दै हाँस्दै, ओर्लिएर अस्पताल छिरेको देखे। नर्सको समूह देख्दा उनले सोचे,– म पनि रोगले ग्रस्त छु। पिडामा छु। बरु डाक्टर बन्न पाएको भए त आफू पनि रोगबाट बच्न सक्थेँ। अरूलाई पनि उपचार गरेर बचाउन सक्थेँ होला। रोगको पिडामा पिल्सिएका उनलाई त्यो बेलाको सोच केवल सपना मात्रै थियो।

संयोग हुनुपर्छ। एक दिन एक आफन्तले उनलाई हेल्थ असिस्टेन्ट पढ्न सुझाए।  उनको टिबीको समस्या पनि निको हुँदै गएको थियो। घरमा उनले बुवासँग एचए पढ्न सल्लाह गरे। 

उनका बुवालाई एचए पढ्ने कुरामा त्यति चित्त बुझेन। निलमका बुवालाई एकातर्फ पैसाको अभाव त छँदै थियो। अर्कोतर्फ एचए पढेर के प्रगति होला र? भन्ने लागेको थियो। 

तर, निलमले आँट गरे। उनले बुबाको सल्लाह बिना नै प्रवेश परीक्षा दिए। उनी एचए अध्ययनका लागि छनोट मात्रै भएनन् सर्वोत्कृष्ट (टप) नै भए। 

आशाको पालुवा

भनिन्छ,–कालो बादलभित्र चाँदीको घेरा हुन्छ। निलमको जीवनमा त्यस्तै भयो। एचए पढ्न पाउने भएपछि उनको जीवनमा निराशाको पाटो हटेर आसाको दियो बल्न थाल्यो। उनले सुनाए,‘निराशाबाट आसा पलाउन थाल्यो।’

तर, बुवाले एचए पढ्न भर्ना गर्ने पैसा नै दिएनन्। बुवाले पैसा नदिएपछि दाजु–भाउजूसँग पैसा मागेर भर्ना भए। 

निलम चिकित्सा शास्त्र अध्ययन संस्थान (महाराजगन्ज क्याम्पस) मा २०४६ सालमा हेल्थ असिस्टेन्ट (एचए) भर्ना भएर अध्ययन गर्न थाले। उनले २०४९ सालमा  प्रथम श्रेणीमा एचए उत्तीर्ण गरे। 

एमबिबिएसअघि धनकुटामा जागिर

एचए अध्ययन सकेपछि उनी करार जागिरे भएर धनकुटा पुगे। उनले धनकुटाको ‘धनकुटा सामुदायिक चिकित्सा अहेव (सिएमए) क्याम्पस’ मा सहायक प्रशिक्षकका रूपमा करिब ६ महिना काम गरे। 

धनकुटापछि उनले एमबिबिएस अध्ययन सुरु गरे। उनको एमबिबिएस पनि रामै भयो। निलमले सन् २००० मा एमबीबीए अध्ययन पूरा गरेका हुन्। एमबिबिएसपछि उनले पाटन अस्पतालमा करिब एक वर्ष करार जागिरे चिकित्सकका रूपमा काम गरे।

वीरमा उपेन्द्र देवकोटासँग काम

पाटनपछि उनी वीर अस्पतालमा डा. उपेन्द्र देवकोटासँग काम गर्न पुगे। उनले वीर अस्पतालमा सन् २००१ मा न्युरो सर्जरी विभागमा नै डा. देवकोटासँग भोलियन्टर भएर करिब ६ महिना काम गरे। निलमले वीर अस्पतालमा काम गर्दागर्दै लोकसेवा परीक्षा दिएर स्थायी सरकारी चिकित्सकका रूपमा सन् २००१ मा नै जागिरे भए। 

मेडिकल अफिसरका रूपमा वीर अस्पतालमा उनको जागिर सुरु भयो। डा. निलमले सरकारी चिकित्सकको रूपमा स्थायी जागिरे भएपछि पनि वीर अस्पतालमा  निरन्तर देवकोटासँग काम गर्ने मौका पाए। 

सन् २००६ सम्म करिब ६ वर्ष देवकोटासँग काम गरेको उनले सुनाए। डा. निलमले सुनाए,‘उहाँ (देवकोटा) कै विभागमा उहाँसँगै काम गर्न पाइयो।’ त्यसो त निलम पनि डा. देवकोटाको नजरमा परिसकेका थिए।

देवकोटासँग काम गर्दा नै उनलाई न्युरो सर्जरी विषय अध्ययन गर्ने भोक जागिसकेको थियो। त्यसैले डा निलमले सन् २००१ मा न्युरो सर्जरी विषय छनोट गरेर काठमाडौँ विश्वविद्यालयमा स्नातकोत्तर तहको ‘एम सिएच’ विषय अध्ययन गर्न थाले। 

बिन्दुसँगको प्रेम

न्युरो सर्जरी (एम सिएच) विषयको अध्ययन सुरु गरेकै बखत निलम र बिन्दु शाहको भेट भयो। बिन्दुले इन्टर्नसिप गर्ने क्रममा प्रेम सम्बन्ध झाँगिएको रहेछ। दुई वर्ष प्रेमपछि निलम र बिन्दु वैवाहिक सम्बन्धमा गाँसिए। त्यसपछि उनलाई अघि बढ्न बिन्दुको पनि महत्त्वपूर्ण भूमिका रह्यो। 

त्यसो त निलमले ऋणको तनावले गर्दा अध्ययन गर्न कठिन भएपछि एमसिएच अध्ययन बिचैमा छाडेर एमबिबिएसमा नै चित्त बुझाउने सोच समेत बनाएका रहेछन्। तर, त्यो बेला बिन्दुले उनलाई साहस दिइन् र अध्ययनलाई निरन्तरता दिए निलमले।

बेलायत अध्ययनमा जाँदा देवकोटाले २० हजार दिए

वीर अस्पतालमा काम गर्दा सन् २००३ मा नै निलमलाई बेलायतमा न्युरो सर्जरी विषयको तालिम लिने अवसर आयो। तालिम लिने  अवसर गुम्न नदिन डा. देवकोटाले पनि उनलाई सहयोग गरे। 

डा. निलम तालिमका लागि छनोट त भए। तर, बेलायत जान पैसा भएन। पैसा नभएको थाहा पाएपछि डा. देवकोटाले नै निलमलाई २० हजार पैसा दिए। बेलायत जान १ लाख खर्च आवश्यक थियो। उनले भने,‘देवकोटाले २० हजार दिनुभयो। त्यति बेला जानको लागि एक लाख जति लाग्थ्यो।’ 

अझै खर्च पुगेन। पैसा नजुटेपछि उनले बेलायत नजाने मनस्थिति बनाए। तर, निरक्षर भए पनि छोराको अध्ययनको लागि आफन्त तथा नातागोतासँग ऋण लिएर आमाले पैसा जुटाइन्। पैसा जुटेपछि उनले बेलायत पुगेर करिब ६ महिना अध्ययन तथा तालिम गरे। 

त्यसैले बेलायतमा अध्ययन तथा तालिम गर्न जाने अवसर पाउनुमा आमा र डा. देवकोटालाई नै उनी बढी श्रेय दिन्छन्।  उनी पछिल्लो पटक सन् २००६ मा पनि बेलायत पुगी तेस्रो पटक न्युरो सर्जरी सम्बन्धी तालिम लिएका छन्। 

बेलायतमा तालिम काम गरेर १० लाख जति पैसा पनि कमाए। बेलायतमा कमाएको पैसाले उनले आफूले पढ्दा लागेको ऋण तिरे।

तर, निलमले एमसिएच अध्ययनको शोध पत्र बुझाउनै बाँकी थियो। बेलायतबाट फर्किएर शोधपत्र बुझाएर सन् २००७ मा एमसिएच उत्तीर्ण भए।

दुई वर्ष गयल, जागिर झन्डै चैट

निलम बेलायतबाट फर्कँदा डा. देवकोटाले वीर अस्पताल छोडेर काठमाडौँको बाँसबारीमा न्युरो अस्पताल सुरु गरिसकेका थिए। डा. निलमलाई पनि देवकोटाले न्युरो अस्पतालमा नै काम गर्न बोलाए। उनले सुनाए,‘बाँसबारीमा न्युरो अस्पताल सुरु गर्नुभएछ। बेलायतबाट फर्किएपछि त्यहीँ काम गर्न बोलाउनुभयो।’ उनले देवकोटाको अस्पतालमा डेढ वर्ष काम गरे।

यता बेलायत जाने मौका पाएकाले वीर अस्पतालमा बिदा नलिईकन अध्ययनका लागि बेलायत गएका रहेछन्। बिदा लिएर जानुपर्ने भए पनि नियम नै नबुझी बिदा नलिई बेलायत पुगेछन् । जसले गर्दा उनी वीर अस्पतालमा २ वर्ष गयल भए। 

अस्पतालमा हाजिर नभएको दुई वर्षपछि मात्र खबर आयो। उनले त्यो बेला अस्पतालबाट पाएको खबरको प्रसङ्ग सुनाए,‘वीर अस्पतालले बोलायो। बिदा नलिई २ वर्षदेखि छुट्टीमा हुनुहुन्छ। एक हप्ता भित्र हाजिर हुन आउनु। नत्र तपाईँलाई कारबाही  हुन्छ भनेर वीर अस्पतालले चिठ्ठी काट्यो।’ 

अस्पतालको त्यस्तो सूचना थाहा पाएपछि उनले एक हप्ताभित्र बाँसबारीको न्युरो अस्पताल छाडेर वीर अस्पतालमा हाजिर हुन पुगे।

अस्पतालले उनलाई कारबाही प्रक्रिया अगाडी बढायो। स्वास्थ्य मन्त्रालयले उनलाई हटाउने की नहटाउने भन्ने विषयमा निर्णय गर्न एउटा समिति नै गठन गर्यो। त्यो टिमले अस्पतालमा जनशक्ति आवश्यक भएकाले आफूलाई सरकारी सेवाबाट नहटाउने निर्णय गरेको उनले सुनाए। 

तत्कालीन स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले सो निर्णय सदर गरेपछि निलमको सरकारी जागिर बच्यो। वीर अस्पताल छोडेको २ वर्षपछि सन् २००८ मा पुनः उनी वीर अस्पतालमा नै फर्किएर काम गर्न थाले।

वीर, ट्रमा र कर्णाली

सन् २००८ देखि निरन्तर सन् २०१४ सम्म ६ वर्ष वीर अस्पतालमा नै काम गरे। वीर अस्पतालमा रहँदा उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानमा पढाउने अवसर पनि पाए। वीर अस्पतालमा हुँदा नै बढुवा हुँदै उनी सह–प्राध्यापक भए। अहिले उनी १० औँ तहका वरिष्ठ कन्सल्ट्याण्ट न्यूरोसर्जन् चिकित्सकका रूपमा छन्।

राष्ट्रिय ट्रमा सेन्टरको स्थापना स्थापना भएपछि भने उनी वीर अस्पतालबाट सन् २०१५ मा ट्रमा सेन्टरमा सरुवा भए। ट्रमा सेन्टरमा सरुवा भएका उनले ट्रमामा कन्सल्ट्याण्ट न्यूरोसर्जन तथा वरिष्ठ कन्सल्ट्याण्ट न्यूरोसर्जनको भूमिकामा काम गरे। उनले सुनाए,‘ट्रमाको पहिलो न्युरो सर्जन म नै हो।’ 

सन् २०१९ सम्म ट्रमा सेन्टरमा काम गरेका डा. निलम साढे ३ महिनाअघि काज सरुवामा सुर्खेत स्थित ‘कर्णाली प्रदेश अस्पताल’ पुगेका छन्। आफूले नै मागेर काज सरुवा भएर सुर्खेत पुगेको उनले बताए।

ठगठाग प्रवृत्ति

डा. निलम आध्यात्मिकतामा प्रवेश गर्नु अघि उनी बिहान बेलुका दुई वटा निजी अस्पतालमा पनि काम गर्थे। उनकी श्रीमती डा. बिन्दु पनि एनेस्थेसिया विषयमा एमडी अध्ययन गरिसकेकी चिकित्सक हुन। अध्ययनको क्रममा जुन किसिमको आर्थिक सङ्कट थियो दुवै जागिरे भएकाले पैसाको अभाव भएन।

तर, निजी अस्पतालमा काम गर्दा बिरामीसँग अलि बढी नै पैसा लिएर डा. निलमलाई बढी पैसा कमाउन मन लाग्थ्यो। उनले सुनाएँ,‘प्राइभेटमा काम गर्दा ठगठाग प्रवृत्ति पनि अपनाएँ।’

तर, उनलाई मनमा अझै शान्ति मिलेन। उनमा आत्मबल कम महसुस हुन्थ्यो। बिरामीको जटिल किसिमको शल्यक्रिया गर्दा होस वा अन्य काम गर्दा नै किन नहोस् उनका खुट्टा काम्थे।

अध्यात्मले शक्ति, सन्तुष्टि र शान्ति

यस्ता सबै समस्याबाट छुटकारा पाउने खोजीमा थिए उनी। त्यही क्रममा नेपालमा २०७२ सालको भूकम्प जानु अघि भारतीय योग गुरु रामदेव नेपाल आएर टुँडिखेलमा योगा सिकाएका थिए। डा. निलमले पनि टुँडिखेल पुगेर रामदेवले सिकाएको योगाको एक हप्ता प्रशिक्षण लिए। त्यो योगाले उनको ग्यास्ट्रिकको समस्या केही कम भयो। तर, अझै कमाउने लगायतको अभिलाषाले मनको छटपटाहट कम भएन। 

एक दिन उनले एउटा पत्रिकामा ‘ओशो विचारधारा’ सम्बन्धी लेख पनि पढे। त्यसले पनि उनलाई अध्यात्ममा जान प्रेरित गर्यो। 

२०६७ सालकै कुरा हो। एक जना साथीसँग ध्यान सिक्न कहाँ जाने भनेर सल्लाह गर्दा साथीले उनलाई विपष्यनामा जान सुझाए।  उनी जमलको एउटा भवनमा विपष्यना सिक्न गए। उनले विपष्यना ध्यानको साधना गर्न थाले।

पहिलो दिनको विपष्यनाको ध्यान शिविर लिनु नै आफ्ना लागि जीवनको टर्निङ्ग पोइन्ट भएको उनले सुनाए। साधना गर्न थालेपछि त उनलाई जीवनमा नै ठुलो परिवर्तन महसुस भयो। 

विपष्यना लिनअघि उनका साथी नै थिएनन्। साथी भनेको श्रीमती र परिवार मात्रै। उनले सुनाए,‘साथी भनेको श्रीमती मात्रै हुन्थिन्।’ शारीरिक, मानसिक, सामाजिकरुपमा समेत कमजोर महसुस गर्थे उनी।

तर, अहिले भने आफ्नो जीवनमा परिवर्तन भएको उनी महसुस गर्छन्। अहिले निलम न उपचार गर्दा खुट्टा कमाउँछन्। न उनलाई बिरामी ठग्ने मानसिकता नै छ। उनले सुनाए,‘कर्णाली प्रदेशमा नै म एक्लो न्युरो सर्जन छु।’ त्यसैले उनको नेतृत्वमा धेरै सर्जरी भएका छन्। जुन सर्जरीहरू गर्दा सफलता मिल्ने गरेको उनले सुनाए। 

डा. निलमले दश वर्षदेखि निरन्तर विपष्यनाको ध्यान–साधना गरिरहेका छन्। उनी बिहान उठ्ने बित्तिकै एक घण्टा र बेलुका खाना खानु अघि एक घण्टा ध्यान गर्छन्। दैनिक आधा घण्टा योगा गर्छन्। 

उनले यसबीचमा आफ्नो पहल तथा नेतृत्वमा विभिन्न चिकित्सा सम्बन्धी सम्मेलन गरेका छन्। विभिन्न चिकित्सकीय तालिम लिएका छन्। जुम्लामा पनि आफूले ध्यान केन्द्र स्थापना गरेको सुनाए।

गत वर्ष कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा  घाँटीको मेरुदण्ड भाँचिएका दुई जनाको उनकै नेतृत्वमा शल्यक्रिया गरेको क्षण पनि उनका लागि अविस्मरणीय नै छन्। १२ र १४ घण्टा लामो शल्यक्रिया गरेर दुई युवावस्थाका व्यक्तिलाई बचाउन सफल भएको उनले सुनाए। उनी गत वर्ष ६ महिना घर बिदा लिएर गएको समयमा कर्णाली पुगेर यी दुई शल्यक्रिया गरे। 

यस्ता सर्जरीहरू आफै नेतृत्व लिएर गर्नु आफ्ना  लागि आध्यात्मिक शक्तिले मनोबल बढेको उनको अनुभूति छ। सुर्खेतमा अहिले गरिरहेका सबै शल्यक्रिया सफलता हुनुमा आफूलाई अध्यात्मले आत्मबल मिलेको सुनाए। 

उनले केही महिनाअघि कोरोना सङ्क्रमण भएको अवस्थामा पनि ध्यान तथा योगाको सहायताले कोरोना जितेको  सुनाए। उनी अहिले आफू शान्त र सफल भएको महसुस गर्छन्।

 

भदौ ५, २०७८ शनिबार १५:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।