एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज छलफल हुने 

एमाले अध्यक्ष ओली र नेता नेपालबीच आज छलफल हुने 
फाइल तस्बिर

पार्टीभित्रको विवाद समाधानका लागि अध्यक्ष ओली र नेता नेपालबीच आज छलफल हुने एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङले जानकारी दिए। 

विवाद मिलाउन लागेका एमालेका दोस्रो तहका नेताहरूको प्रयासमा ओली र नेपालबीच छलफल हुन लागेको हो। ‘अध्यक्ष ओली र नेता नेपालबीच आज छलफल हुन्छ,’नेम्वाङले भने,‘ठाउँ र समय भने अहिले तय भइसकेको छैन।’

सरकारबाट बाहिरिएका एमाले अध्यक्ष ओलीले नेता नेपाललाई पार्टीमा आत्मालोचना गर्नेसम्मको ठाउँ नरहेको बताएका थिए। नेपाल पक्षले पनि पार्टी एकताका लागि अध्यक्ष ओलीले पद छोड्नुपर्ने बताएको थियो।  

तर, एमाले स्थायी कमिटीको सोमबार बसेको बैठकपछि प्रवक्ता प्रदीपकुमार ज्ञवालीले उहाँले माधव नेपाल पक्ष फर्केर आए नेपाल पक्षका नेताहरूलाई समेट्नका लागि विभागहरूमा पर्याप्त स्थान सुरक्षित गरिएको बताएका थिए। एमालेले सोमबार विभिन्न ९ वटा विभाग गठन गर्ने निर्णय गरेको थियो। 

नेपाल पक्षले सहभागिता नजनाएको स्थायी कमिटी बैठकले साउन २४ गतेलाई केन्द्रीय कमिटी बैठक बोलाएको छ। असोज ३ गते देशका सबै वडामा वडा अधिवेशन गर्ने, असोज ९ गते सबै पालिकामा अधिवेशन गर्ने निर्णय गरेको एमालेको विवाद समाधान भएको छैन।

१९ साउन, २०७८, ०९:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।