आर्थिक अभावले प्रदेश १ मा निम्तिँदैछ महिला हत्या

आर्थिक अभावले प्रदेश १ मा निम्तिँदैछ महिला हत्या

इटहरी : गत जेठ २७ गते सुनसरीको इटहरी ४ मा मृत भेटिएकी सुनीता राईको पोस्टमार्टम रिपोर्ट शंकास्पद देखियो। सुनिताको मृत्यु नभई हत्या भएको हुनसक्ने भन्दै प्रहरीले श्रीमान् न्याधीस राईलाई नियन्त्रणमा लियो।

न्याधीसले अत्यधिक मदिरा सेवन गरी हत्या गरेको हुनसक्ने प्रहरीको आशंका थियो। अन्ततः अनुसन्धानबाट घरायसी झगडाको कारण न्याधीसले हत्या गरेको पत्ता लाग्यो। 

असार ३१ गते झापाको गौरादह नगरपालिका–१, गेउरियामा ३९ वर्षीय संगीता टुडुको हत्या भयो। 

आर्थिक अभावले घरायसी झगडा बढ्दै गएको र सोही कारण श्रीमान् सजिलाल रिख्यासनले हत्या गरेको पाइयो। हत्यापछि फरार उनलाई नेपाल प्रहरीले मोरङको रंगेलीबाट पक्राउ गर्यो। मृतक संगीता रिख्यासनकी तेस्री श्रीमती हुन्। 

असार १९ गते मोरङको बेलबारी नगरपालिका ७ की ४८ वर्षीय सीता घिमिरेको श्रीमान् अम्बीका घिमिरेले हत्या गरे। ‘आम्दानी नगर्ने तर खर्च मात्र गर्छ’ भन्ने परिवारको गुनासोबीच हरेक साँझ मादक पदार्थ सेवन गर्ने अम्बिकाले राति मुङ्ग्राले प्रहार गरी श्रीमतीको हत्या गरे।

हत्यापछि भाग्न खोजेका उनलाई नजिकैको गोठबाट प्रहरीले नियन्त्रणमा लियाे। २० वर्षपछि घर फर्किएका उनले मादक पदार्थ सेवन गरेकै कारण श्रीमतीको हत्या भएको बयान दिएका छन्। 

त्यस्तै, असार २७ गते उच्च अदालतको इलाम इजलास परिसरमा मृत अवस्थामा फेला परेकी विमलाकुमारी पराजुलीको हत्या भएको खुलासा भयो। न्यायाधीशको सुरक्षार्थ खटिएका प्रहरी सहायक निरीक्षक युवराज बानियाँले उनको हत्या गरेको खुल्याे।

प्रहरीले बलात्कारपछि हत्या भएको आशंका गरे पनि बानियाँले बलात्कार नगरेको बताएका छन्। यसअघि पनि दुई जनाबीच सम्बन्ध रहेको र बीचमा खटपट भएपछि हत्या भएको हुनसक्ने प्रहरीको आशंका छ। 

झापा, बिर्तामोडकी २५ वर्षीया सिर्जना बस्नेतको मृत्युबारे पनि अनुसन्धान भइरहेको छ। 

पछिल्लो समय मदिरा सेवन तथा सम्बन्धमा आएको खटपटका कारण महिला हत्याका घटना घटिरहेका छन्। प्रदेश प्रहरी कार्यालय, विराटनगरको तथ्यांक अनुसार आर्थिक वर्ष २०७७/७८ मा ६१ वटा हत्या भएका छन्। तीमध्ये महिलाको संख्या ४२ छ। 

प्रदेशमा जिल्लागत आधारमा हत्या बढी हुनेमा झापा सबैभन्दा अगाडि छ। सोही आर्थिक वर्षमा १४ वटा हत्याका मुद्दा दर्ता हुँदा ११ वटा महिला हत्याका मुद्दा दर्ता भएका छन्। त्यसपछि मोरङ र सुनसरीमा बढी महिला हत्या हुने गरेको प्रहरीको तथ्यांक छ। बालबालिका तथा पुरुषको हत्या नभए पनि हरेक जिल्लामा एउटा भए पनि महिला हत्याका घटना भएका छन्। 

आर्थिक अभाव मुख्य समस्या 

आर्थिक अभावकै कारण परिवारमा मनमुटाव सुरु भई विस्तारै हत्यामा रूपान्तरण हुने पाइएको छ। 

प्रदेश १ प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक (एसपी) नवीन राई बेरोजगारीबाट उत्पन्न आर्थिक अभाव र त्यसले निम्त्याएका स–साना समस्याले गर्दा हत्याको दर बढेको बताउँछन्। कोरोना महामारीसँगै सुरु भएको लकडाउनको कारण धेरैको रोजगारी गुमेको र आर्थिक उपार्जनको बाटो बन्द भएपछि परिवारमा कलह बढ्दै गएको उनको भनाइ छ। 

सामान्य जीवनयापनमा पनि समस्या हुन थालेपछि नियमितजसो पारिवारीक झगडा हुने र त्यसले हत्याको रूप लिने गरेको उनले बताए। श्रीमान वैदेशिक रोजगारीमा गएपछि श्रीमतीको अन्यत्रै सम्बन्ध हुने र पछि परपुरुषलाई असहज अवस्था आउने भएपछि हत्याको बाटो खोज्ने देखिएको उनले सुनाए ।  

राईकै तर्कमा सहमत हुँदै समाजशास्त्री प्रा. अर्जुन उप्रेती वैदेशिक रोजगारीको दुखान्त महिला हत्या भएको बताउँछन्। वैदेशिक रोजगारीको बाध्यताले निम्त्याउने कतिपय समस्याको समाधान खोज्न नसकिने उनको भनाइ छ। 

स्थानीय स्तरमै रोजगारीको अवसर सिर्जना गर्नु र न्यूनतम आम्दानीको स्रोत सुनिश्चित गर्न सके धेरै महिलाको ज्यान बचाउन सकिने उनले प्रष्ट पारे। 

मानिस कमजोर वा निर्विकल्प भएपछि बढी आक्रोशित हुने र नशालु पदार्थ सेवन गर्न आतुर हुने भएकाले पनि यस्ता घटना हुने गरेको उप्रेतीको तर्क छ। 

१० साउन, २०७८, ०८:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।