कांग्रेसमा क्रियाशील सदस्यता लफडा : समाधान नभए अमरेशले सांसदबाट राजीनामा दिने 

कांग्रेसमा क्रियाशील सदस्यता लफडा : समाधान नभए अमरेशले सांसदबाट राजीनामा दिने 

पार्टी ठेकेदार, जग्गा दलालको कब्जामा जान लागेको टुलुटुलु हेरेर नबस्ने भन्दै सिंहले सांसद पदबाट राजीनामा दिने जानकारी पार्टी नेतृत्वलाई गराइसकेको बताए। 

उनले क्रियाशील विवाद समाधान नगरे राजीनामा दिएर मेची महाकाली पदयात्रामा निस्कने जानकारी दिए। ‘क्रियाशील सदस्यता वितरणमा अनियमितता भएको छ, विधि विधानलाई लँगौटी लगाइएको छ,’कांग्रेस सांसद सिंहले उकेरासँग भने,‘यसले देशको हित गर्दैन, पार्टीको हित गर्दैन, यसले पार्टीमा विचलन आएको छ।’

उनले बिपी कोइरालाको सिद्धान्त र आदर्शको रक्षा हुँदैन भने सांसद पदबाट राजीनामा दिने बताए। उनले सांसदबाट राजीनामा दिए पनि आफू कांग्रेसकै अभियान लिएर जनतामा जाने बताए। 

राजीनामाको ड्राफ्ट तयार गरेको पार्टी सभापति शेरबहादुर देउवासँग भेट्न समय मागेको उनले बताए। ‘सभापति देउवालाई भेट्न भानु देउवासँग फोनमा समय मागिसकेको छ,’उनले भने,‘राजीनामा दिन्छु भनेर वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा. शंशाक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्य मिनेन्द्र रिजाल र शेखर कोइरालालाई जानकारी गराइसकेको छु।’ 

उनले आफू निर्वाचित क्षेत्र सर्लाहीमा देखिएको क्रियाशील सदस्यता विवाद तत्काल समाधान गर्न नेतृत्वलाई भनेको बताए। ‘देशभरको भनेको छैन,’उनले भने,‘आफू निर्वाचित क्षेत्रमा भएको विवाद समाधान गर्नुहोस् भनेको छु।’ 

नेपाली कांग्रेसको क्रियाशील सदस्यता वितरणलाई लिएर पार्टी कार्यालयमा सर्लाहीका क्षेत्रीय सभापति दिनेश मिश्र धर्ना बसेका छन्। तर, सर्लाही जिल्ला सभापति एवम् प्रतिनिधिसभा सदस्य नागेन्द्र कुमारले आफूले गरेको गल्तीलाई ढाकछोप गर्न क्षेत्रीय सभापति मिश्र पार्टी मुख्यालयमा धर्ना बसेको आरोप लगाएका छन्। 

कांग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा क्रियाशील सदस्यता विवाद अझै टुङ्गो लागेको छैन।

६ साउन, २०७८, १०:३३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।