इजरायलमा रोजगारी : साउन दोस्रो सातादेखि अनलाइन फारम भर्न पाइने

इजरायलमा रोजगारी : साउन दोस्रो सातादेखि अनलाइन फारम भर्न पाइने

काठमाडौँ : सरकारले एक हजार जना नेपाली कामदारलाई रोजगारीका इजरायल पठाउने भएको छ।

सम्झौता ५ सय जना पठाउने भए पनि डिमान्ड हजार जनाको आएको वैदेशिक रोजगार विभागले जनाएको छ। 

वैदेशिक रोजगार विभागका महानिर्देशक कृष्ण प्रसाद दवाडीले अहिले हजार जना नेपाली इजरायल पठाउने तयारीमा विभाग लागेको बताए।

विभागले इजरायल जान चाहनेहरूको लागि अनलाइन मार्फत दरखास्त लिन ‘पोर्टल’ बनाइरहेको छ। इजरायल जानेका लागि आवश्यक अध्ययनको पाठ्यक्रम निर्माण गर्ने तयारीमा लागेका महानिर्देशक दवाडीले बताए। 

इजरायल केयर गिभरको लागि जान भाषा परीक्षा र सीप परीक्षण गरिन्छ। ‘कोरोनाका कारण हामीले अनलाइनबाट नै परीक्षा लिने गरेका छौ,’महानिर्देशक दवाडीले भने,‘तर अहिलेसम्म कसरी परीक्षा लिने भनेर निर्णय भइसकेको छैन।’

सरकारले नेपाली युवाको आकर्षक गन्तव्य बन्दै गएको इजरायलमा अस्थायी रोजगारी सम्बन्धी सम्झौता पत्रमा २०७७ साल असोज १४ गते हस्ताक्षर गरेको थियो।

नेपालबाट इजरायल जानको लागि भनेर ‘इजरायलमा नेपाली सहयोगी कामदार पठाउने सम्बन्धी निर्देशिका, २०७८’ केही पहिले जारी भइसकेको छ। 

कोरोनाका कारण इजरायल पठाउने प्रक्रिया ढिलो भएको विभागले जनाएको छ। 

को–को जान पाउँछन्?

रोजगारीको लागि इजरायल जान २५ वर्ष उमेर पूरा भई ४५ वर्ष ननाघेको हुनुपर्ने छ। आवेदकको उचाइ कम्तीमा १ दशमलव ५ मिटर (४ दशमलव ९ फिट) र तौल ४५ केजी हुनु पर्नेछ।

यस्तै शैक्षिक योग्यता कम्तीमा दस कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा पन्ध्र महिनाको अध्ययन पूरा गरेको वा कक्षा १२ वा सो सरहको शैक्षिक योग्यता हासिल गरी सरकारबाट मान्यता प्राप्त संस्थाबाट तालिम लिएको हुनुपर्नेछ। अङ्ग्रेजी भाषा जानेको, शारीरिक तथा मानसिक रूपमा स्वस्थ मानिसले आवेदन दिन पाउने छन्।

यस अघि इजरायलमा काम नगरेको तथा कामदारको एकाघरको परिवार इजरायलमा नभएकोले मात्र आवेदन दिन पाउने छन्। आवेदक कानुन बमोजिम कुनै पनि आपराधिक गतिविधिमा संलग्न नभएको हुनुपर्ने छ।

यस्तो छ छनोट प्रक्रिया

दरखास्त स्वीकृत भएका उम्मेदवारको उचाइ, तौल र अङ्ग्रेजी भाषा परीक्षणका लागि दरखास्त पेस गर्दा अनलाइन प्रणाली मार्फत बुझाएका कागजात सहित उपस्थित हुन विभागले सम्बन्धित उम्मेदवारलाई मिति, समय र स्थान तोकी मोबाइल नम्बरमा एसएमएस गर्ने जनाएको छ।

इजरायल जान चाहने उम्मेदवारको उचाइ र तौलको परीक्षण गरी सोको विवरण सम्बन्धित उम्मेदवारको अनलाइन प्रोफाइलमा राख्नेछ। उचाइ र तौल पूरा हुने उम्मेदवार मात्रै अङ्ग्रेजी भाषा परीक्षामा सहभागी हुन पाउने छन्। 

उम्मेदवारले प्राप्त गरेको प्राप्ताङ्कको आधारमा छनौट समितिले योग्यता क्रम कायम गरी इजरायलबाट प्राप्त मागसंख्या भन्दा २५ प्रतिशत बढी उम्मेदवारको नामावली तयार गर्नेछ। विभागका अनुसार ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष इजरायल जान पाउने छन्।

५ साउन, २०७८, १०:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।