कर्णाली प्रदेश : बजेटमा आफ्ना १९ बुँदे कार्यक्रम समेट्न एमाले संसदीय दलको माग

कर्णाली प्रदेश : बजेटमा आफ्ना १९ बुँदे कार्यक्रम समेट्न एमाले संसदीय दलको माग

सुर्खेत : नेकपा एमाले कर्णाली प्रदेश संसदीय दलले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीसँग बजेटमा आफ्ना १९ बुँदे कार्यक्रम समेट्न माग गरेको छ।

मुख्यमन्त्री शाहीलाई १९ बुँदे मागपत्र बुझाउँदै एमाले प्रदेश संसदीय दलका नेता यामलाल कँडेलको नेतृत्वकाे टोलीले आफ्ना कार्यक्रम बजेटमा समेट्न माग गरेको हो। 

एमालेले प्रदेश रंगशाला निर्माणदेखि कोरोना महामारी नियन्त्रणका लागि बजेट विनियोजन गर्न माग गरेको छ। 

आगामी बजेटमा आफ्ना १९ बुँदे योजना तथा कार्यक्रम समेट्न मुख्यमन्त्रीसँग मागपत्र पेस गरिएको जानकारी दिए।  

एमालेले दशौंं राष्ट्रिय खेलकुदलाई मध्यनजर गरी प्रदेश रंगशाला निर्माणका लागि न्यूनतम ५० करोड, लोकप्रिय जनता सडक कार्यक्रमलाई निरन्तरता दिई प्रतिनिर्वाचन क्षेत्र १० करोड रुपैयाँ बजेट विनियोजन गर्नुपर्ने माग गरेको छ।

त्यस्तै, सुर्खेत मुलपानी, तेलपानी र बर्दिया भुरीगाउँ सडकको मुलपानी रानीघाट खण्डको लागि कम्तीमा १० करोड, सुर्खेत उपत्यका चक्रपथ निर्माणका लागि २० करोड, निर्वाचन क्षेत्रमा आयआर्जन कार्यक्रमका लागि ५ करोड, औपचारिक संरचना निर्माण गरी प्रदेशमा उल्लेख्य संख्यामा रहेका दलित समुदायको सामाजिक तथा आर्थिक रुपान्तरणका लागि ५० करोड रुपैयाँ विनियोजन गनुपर्ने एमालेको माग छ। 

मुख्यमन्त्री शाहीले माग सम्बोधनका लागि प्रयास गर्ने आश्वासन दिएको एमाले सांसदले बताएका छन्। 

एमालेले मागेका केही कार्यक्रम 

– प्रदेश अस्पतालको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि २५ करोड।

– प्रदेशस्तरीय प्रयोगशालाको पूर्वाधार निर्माण तथा आवश्यक उपकरण व्यवस्थापनका लागि १५ करोड।

– कोभिड लगायतका महामारी नियन्त्रणका लागि १० वटा जिल्ला अस्पताल तथा २७ वटा रणनीतिक अस्पतालको पूर्वाधार विकास तथा आवश्यक उपकरण व्यवस्थापनका लागि प्रति अस्पताल न्यूनतम ३ करोड।

– सुर्खेत उपत्यकाको डुवान समस्यालाई समाधान गर्न निकासदेखि इत्राम खोला र खोर्के खोलामा तटबन्ध निर्माणका लागि १० करोड।

– प्रदेशले छनोट गरेका १०० पर्यटकीय गन्तव्यको एकीकृत योजना बनाई बजेट व्यवस्था गर्नुपर्ने।

– राराको पूर्वाधार विकासका लागि ३ करोड, बुलबुले उद्यानको विकासका लागि २ करोड तथा लिमी भ्याली एकीकृत पर्यटकीय विकासका लागि ३ करोड।

३० जेठ, २०७८, १७:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।